स्थानीय

धनकुटाको चौबिसेमा नयाँ बजेट निर्माणका लागि सुझाव संकलन

नारायण कुमार राई,धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति कार्यक्रम निर्माण तथा नयाँ बजेट तर्जुमाका लागि प्रारम्भिक सुझाव संकलन गरेको छ ।

पालिकाले जेठ ४,५ र ६ गते सार्वजनिक सुनुवाई गर्दै बजेट तथा नीति कार्यक्रमका विषयमा सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन गरेको हो ।

कार्यक्रममा पालिका भरिका सडकहरु बाह्रै महिना चल्ने बनाउनु पर्ने ,स्वास्थ्य संस्थाहरुमा ल्याब असिस्टेन्ट , एम.बि.बि.एस. डाक्टर तथा दक्ष स्वास्थ्यकर्मिहरुको माग गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिनुभयो ।

त्यस्तै कृषि कार्यक्रम प्रभावकारी बनाउन कृषि सामाग्री बितरण लगाएतका कार्यक्रमहरु जनताको मागमा आधारित रहेर गर्नुपर्ने ,शिक्षा तर्फ भाषिक शिक्षकहरुको दरबन्दी लगाएतका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।

सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष राजकुमार लिम्बुले पालिका संग साधन श्रोत सिमित भएकोले सकेसम्म नागरिकहरुले माग गरेका योजनाहरु सम्बोधन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय मेहताले चालु आर्थिक बर्ष २०८२/०८३ को नीति योजना कार्यक्रमको कार्यान्वयनको अवस्था, असल अभ्यास तथा आगामी आ.ब २०८३/०८४ को नीति, कार्यक्रम, बजेटको प्रारुप लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पालिकाका उपाध्यक्ष टंकमाया काङ्मी मगर,वडा अध्यक्षहरु, डिभिजन वन कार्यालय डांडाबजारका प्रमुख श्रीनारायण यादव, ईलाका प्रशासन कार्यालय राजारानीको प्रमुख भोगेन्द्रश्रेष्ठ, ईलाका प्रहरी कार्यालय राजारानीको प्रमुख ईन्सपेक्टर रामप्रसाद खनाल, नेपाल विद्युत प्राधिकरण राजारानी फ्युज वितरण केन्द्रको प्रमुख अनिस श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम अवधिमा कार्यपालिकाका पदाधिकारी, पालिका क्षेत्रभित्रका स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनको प्रतिनिधि, संघ संस्था सहकारीका प्रतिनिधि, स्थानीय संचारकर्मी, नागरिक समाज, टोल विकास समिति संयोजक, साना सिंचाई उपभोक्ता समिति संयोजक लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पहिलो दिन ७५, दोस्रो दिन ८१ र तेस्रो दिन ९६ गरी जम्मा २ सय ५२ जनाको सहभागिता रहेको थियो । जसमा ४३ जना सहभागिहरुले आफ्नो विचार तथा जिज्ञासा राख्नु भएको थियो

३ दिन सम्म पालिकाको आयोजनामा सन्चालन भएको सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रमको पालिका अध्यक्ष लिम्बुले आज समापन गर्नुभएको छ ।

Related Articles

Back to top button

This will close in 0 seconds