‘मेरो कविता’ काे उपाधि सिक्किमका तामाङलाई

३१ मार्च, दमक । ‘मेरो कविता- द रिदम अफ पोएट्री’ को उपाधि सिक्किमका कवि साेनाम पाल्जर तामाङले हासिल गरेका छन् । साेमबार झापाको बेलडाँगीमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घाेषणा गरिएको हाे ।
वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यमा भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धी कविहरूलाई तामाङले सर्वाधिक मत हासिल गर्दै विजयी भएका थिए । प्रतियोगितामा २५० बढी प्रतिस्पर्धीहरू सहभागी थिए ।
तामाङले नगद तीन लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारे ।फस्ट रनर अप हुँदै धरानका कवि प्रवेग हाङस्राेङले एक लाख रूपैयाँ र ट्रफी प्राप्त गरे । त्यस्तै, झापाका कवि टाेलीप्रसाद राजवंशी सेकेण्ड रनर अप भए । उनले नगद ७५ हजार र ट्रफी पाए । तेस्रो रनर अप पान्थरका कवि सेसे थाम्सुहाङ भए ।
प्रतियोगिताका निर्णायकहरूमा कविहरू हेमन यात्री, उत्तम तुम्सा लिम्बु, सुमन स्मारिका र अज्ञात दधि थिए ।




