समाचार

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

मधु शाही/रासस
काठमाडौँ, ४ पुसः सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उहाँ बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुग्नुभएकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन ।

के कामका लागि विदेश जाँदैछु भन्नेसमेत थाहा नपाइ उहाँ विदेशीनुभयो । बदलामा दुई वर्षसम्म निकै सास्ती खेप्नुप¥यो, ऋणधन गरेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किने सुविधा थिएन । पछि जसोतसो साथीभाइको सहायतामा उहाँले अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाउनुभयो ।

“त्यहाँ राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्मानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी रहेछन्”, अधिकारीले स्मरण गर्नुभयो,“काम भने धेरै गर्नुपर्थ्यो । २४सै घण्टा काममा खट्नुपर्ने अवस्थासमेत आउने ।”

अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागिरहेको छ । “वैदेशिक रोजगारीमा जानु हामीजस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा विदेशिनुपर्ने अवस्थाका कति छन् कति”, उहाँ भन्नुहुन्छ ।

त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उहाँले स्वदेश फिर्कन पाउनुभएन । “घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि”, उहाँ भन्नुहुन्छ, “तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाधेर बस्थेँ । त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा श्रम बगाएँ ।”

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, आफ्नै देशमा पनि शान्तले बस्न पाउनुभएन । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उहाँले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोग्नुभयो । “छोराछोरी छोडेर विदेशिएकी महिलालाई राम्रो नजरले हेर्दा रहेनछन्, मैले धेरै नराम्रो सुन्नुपर्यो”, अधिकारीले पीडा सुनाउनुभयो, “समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नुप¥यो । डिप्रेसनको औषधि खानुपर्यो । आत्महत्या गर्ने सुर चल्यो ।”

लाञ्छनाले भरिएको गहु्रङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसहरूमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण (रेमी) परियोजनासँग जोडिनुभयो । “त्यहाँ गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो”, अधिकारीले भन्नुभयो,“डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।”

त्यसपछि उहाँको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकारले बताउनुभयो । सुनसरीबाट अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौँ आउनुभएकी उहाँले आफ्नो प्रगती सुनाउँदै भन्नुभयो,“वैदेशीक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन । परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।”

उहाँजस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि रोचक छ । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी उहाँले हाल माछा तथा पशुपालन व्यवसाय गरिरहनुभएको छ । ५६ वर्षीय यादवले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो,“विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।”

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न रु ७० हजार ऋण लिएर कतार पुग्नुभएका उहाँले त्यहाँ सोचेजस्तो कमाइ नभएको बताउनुभयो । “ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो । केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो”, यादव भन्नुहुन्छ,“समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन, के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।”

यादवका अनुसार हाल उहाँको फार्ममा अन्य दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसुस भएको यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “अर्काको देशमा नोकर बन्नुभन्दा आफ्नो देशमा साहु बनेरै कमाउन सकिँदो रहेछ ! आफ्नै देशमा पैसा पनि सम्मान पनि मिल्ने । त्यसैले वैदेशिक रोजगारमा जाने सोच बनाएकाले यस विषयमा सोच्नुपर्छ भन्ने लाग्छ ।”

अधिकारी र यादव मात्रै होइन, एकपटक विदेश गएर फर्किएपछि मात्रै देशमा अवसर देख्ने गरेका छन् । यद्यपि, धेरैलाई स्वास्थ्य, समय र विविध कारणले अवसर पहिचान गर्ने अवस्था रहँदैन ।

मन्त्रालयले प्रकाशन गरेको नेपाल आप्रवासन श्रमिक प्रतिवेदन २०२४ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो क्रममा छ । तथ्याङ्कअनुसार सन् २०२२/२३ र २०२३/२४ मा नौ लाख ५४ हजार ३१९ जनाले श्रम स्वीकृति लिएको अवस्था छ, जसमा एक लाख १३ हजार ५६ महिला श्रमिक छन् ।

यस्तै, सन् २०२३/२४ मा वैदेशिक रोजगारमा जानेमा सीपयुक्त जनशक्ति वृद्धि भई ६९ दशमलव पाँच प्रतिशत पुगेको छ, तर पूर्ण दक्ष जनशक्तिको वृद्धि भने शून्य दशमलव चार प्रतिशत मात्रै छ ।

Related Articles

Back to top button