कोरानोबाट हिमाली आदिवासीहरु सन्त्रासमुक्त – कुमार यात्रु

विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको सन्त्रासबाट नेपालका हिमाली आदिवासीहरु मुक्त रहेको पाइएको छ । भौगोलिक अवस्थिति, वासास्थान र परम्पराअनुसार पेसा, व्यबसाय गर्ने भएकाले हिमाली आदिवासीमा कोरोना भाइरसको जोखिम अत्यन्त न्यून रहेको आदिवासी सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

‘हिमाली आदिवासीहरुको बसोबास शहरी क्षेत्रबाट धेरै टाडा रहेको छ । यहाँ बाहिरका मानिसले कोरोना लिएर आउने संभावना कम छ ।’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले बताउनु भयो– ‘हिमाली आदिवासी वालुङहरु ताप्लेजुङको लेलेप, ओलाङचुङगोला र याम्फुदिन क्षेत्रमा बसोबास गर्छन । कन्चञ्जंघा हिमालको फेदीमा बस्ने हाम्रा वालुङहरुको अन्य समूदायसंग भेटघाट दुरुह हुन्छ । फेरि अहिलको लकडाउनमा बाहिरका मानिस यहाँ आउन पनि प्रतिबन्ध गरिएको छ ।’

पूर्बको कन्चन्जंघा देखि पश्चिमको हिमालको हिमरोखामा ल्होमी, सियार, थामी, भोटे, डोल्पो, तोप्केगोला, फ्रि, मुगाल, लार्के, ल्होपा, वालुङ, छैरोतन, ताङ्वे, थकाली, शेपार्, जिरेल, ह्योल्मो लगायतका आदिवासीहरुको मूख्य बसोबास रहेको छ ।

आदिवासीको वर्गिकरण अनुसार हिमाली आदिवासीहरु अति सीमान्तीकृत समूदायमा पर्छन् । तथापि परम्परा, तथा आफनो संस्कृतिलाई भने बचाउन सफल भएका छन् । पशुपालन र कृषिलाई मूख्य पेसा बनाएका हिमाली आदिवासीहरुमा कोरोना भाइरसको संभावित जोखिमको हल्लाले खासै प्रभाव नपारेको सम्बन्धीत समूदायको भनाई छ ।

‘हाम्रा समुदाय (भोटे समुदाय)का मानिसहरु भेडा, चौरी चराउन हिमालतिर लागेका छन् । चौरी तथा भेडीगोठमा हत्तपत्त बाहिरका मानिस पुग्न सक्दैनन् । यसकारण हिमाली आदिवासीमा कोरोना संक्रमणको संभावना थोरै छ ।’ बाजुरामा मूख्य कार्यलय रहेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गम्भीर सिंह गुरुङले भन्नु भयो–‘यतिबेला देश बिदेश घुमेर फर्केका आफना र अन्य बाहिरया मानिसलाई समुदायमा प्रबेश गर्ने अनुमति पनि छैन ।’

हिमाली आदिवासीका लागि तत्कालका लागि खाद्यन्न अभाव नहुने पनि उहाँहरुको तर्क थियो । ‘हिमाली आदिवासीहरुमा खाद्यन्न सञ्चय गर्ने परम्परा छ । गत बर्षको हिउँदमा नै बर्षभरीका लागि पुग्ने खाद्यन्न उहाँहरुले सञ्चित गरिसक्नु भएको छ ।’ भोटेजातिसंग सम्बन्धीत जातीय संस्थाका अध्यक्ष गुरुङका अनुसार यो परम्परा जिवित भएकाले अहिलेका लागि हिमाली आदिवासीमा खाद्यसंकट अहिलेका लागि छैन ।


वालुङ सेवा समाजका अध्यक्ष लामा पनि हालका लागि हिमाली आदिवासीमा खाद्य संकट नहुने भनाईमा सहमति व्यक्त गर्नू हुन्छ । ‘हिमाली आदिवासीहरु धान चामलमा निर्भर समूदाय होइन, हाम्रा पुर्खाले बन जंगल र भीर पाखामा उत्पादन हुने खानेकुरा खानका लागि हामीलाई सिकाएका छन् । हाम्रा समुदाय तत्कालका लागि त्यही खाएर बाच्छन् । शहर बजारमा जस्तो हरेक दिन खानेकुरा खोजेर हिड्नु पर्ने समस्या हिमाली आदिवासीमा छैन ।’

तथापि बसाई सरेर शहर वा सुगम क्षेत्रमा बसोबास गर्ने हिमाली आदिवासीमा भने खाद्यन्न लगायतका बिषयमा समस्या रहेको उहाँहरुको टिप्पणी छ । आफनै थातथलोमा बस्नेका लागि कुनै समस्या नभए पनि शहर बजारमा बसाई सर्नेका लगि समस्या हुन सक्ने सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाको अनुमान छ । ‘सियारहरु गोर्खाको उत्तरी भेग चुम उपत्यकामा बसोबास गर्छन् । त्यहाँ हालका लागि खाद्यन्नको कुनै समस्या छैन ।’ लामाले थप्नु भयो –‘हिमालमा पाइने जडिबुटी हिमाली आदिवासीको तागतिलो खाना हो ।’

  • स्रोत: इन्डिजिनियस फिचर सेवा