अन्तर्राष्ट्रिय

‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजराइलबाट फर्किए

किएभ, २६ कात्तिक (रासस/एएफपी):
गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् ।

उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए । आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ भन्ने उनले सोचेकी थिइन् । तर त्यसपछि अक्टोबर ७ आयो जुन दिन हमासले इजराइमाथि हमला गर्यो । इजराइल र हमासबीचको युद्धमा हजारौँ मानिस मारिए ।

हजारौँ अन्य युक्रेनी शरणार्थीको जस्तै ३९ वर्षीया कोचेभा पनि दोस्रोपटक युद्धबाट भागिन् । उनले भनिन्, “यदि म मारिएँ भने कम्तीमा पनि मेरो जन्मभूमिमा हो ।” सन् २०२२ फेब्र्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दा कोचेभाले खार्किभमा बेसमेन्टमा लुकेर १० दिन बिताइन् । खार्किभ झन्डै रुसी सेनाको हातमा परेको थियो ।

रुसी आक्रमणको पाँच महिनापछि उनको परिवार इजराइल प्रस्थान गर्यो । उनीहरूले गाजाबाट करिब १० किलोमिटर टाढा अश्कलोनमा नयाँ जीवन सुरु गरे । करिब एक हजार दुई सयको ज्यान जाने गरी हमासले गरेको अचानक आक्रमणपछि उनले अश्कलोन छोड्नुपर्छ भन्ने महसुस गरिन् । उनले भनिन्, “मेरो हात काँप्न थाल्यो र मेरो मुलुकमा युद्ध सुरु हुँदा भएको जस्तो अनुभूति मलाई भयो ।”

त्यसपछि इजराइलले गाजापट्टीमा सैन्य कारवाही सुरु गर्यो । प्यालेस्टिनी लडाकू समूह हमासका अनुसार इजराइली कारवाहीमा अहिलेसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् ।

कोचेभा अनन्त साइरन र विस्फोटहरू सम्झिँदै फेरि आश्रयस्थलमा सुतिन् । त्यसपछि उनले त्यहाँबाट भाग्नुपर्छ भन्ने निर्णय गरिन् । “जब साइरन र विस्फोटका घटना तीव्र हुन् थाल्यो, म आत्तिएँ”, उनले भनिन्, “म डराएँ, मलाई घर आउनुपर्छ भन्ने महसुस भयो ।”

परिवारलाई मध्य इजराइलमा सारिएको थियो । खार्किभ जानुअघि धेरै दिन उनीहरू त्यहाँ बसे । युक्रेनको नियन्त्रणमा रहे पनि खार्किभमा युद्ध अझै पनि जीवनको एउटा विशेषता हो । रुसी आक्रमणबाट उक्त सहर अझै प्रभावित हुन्छ । साइरन अहिले पनि जीवनको नियमित हिस्सा भएको छ ।

तर कोचेभाका लागि खार्किभ फर्किनु राहतको कुरा थियो । “म यहाँ हिँड्छु, यो मेरा जन्मभूमि हो, मेरो झन्डा हो, यसलाई कसरी व्यक्त गरौँ मलाई थाहा छैन, म खुशी छु”, उनले भनिन् ।

हमासको आक्रमपछि करिब चार हजार युक्रेनीले इजराइल छोडेको किएभले बताएको छ ।

राजधानी किएभमा अन्ना ल्यास्को र उनकी आठ वर्षीया छोरी पनि इजराइलबाट फर्किएका छन् । उनीहरू गत मार्चमा रुसको आक्रमणको पहिलो सातामा इजराइल भागेका थिए । “हामी किएभका ती इलाकाको नजिकै बसिरहेका थियौँ जुन रुसी सेनाको सुरुको आक्रमणमा परेको थियो, हामी बिजुली, पानी र सञ्चारबिना बसिरहेका थियौँ”, २८ वर्षीया ल्यास्काले भनिन्, “मेरी छोरी धेरै डराइन् र मैले छोड्ने निर्णय गरेँ ।”

उनले छोरीलाई इजराइल लैजाने निर्णय गरिन् जहाँ उनका आफन्त थिए । तर गत महिना इजराइलमा द्वन्द्व सुरु भएपछि उनलाई रुसले युक्रेनमा आक्रमण गरेको दिन स्मरण भयो ।

“मेरो पहिलो भावना युक्रेनमा फेब्रअरी २४ (२०२२) मा जस्तै थियो”, उनले भनिन्, “कसैले मलाई बिहान फोन गरेर भन्यो, ‘अन्ना युद्ध सुरु भएको छ’, यो मैले युक्रेनमा महसुस गरेको जस्तै थियो, मेरी छोरीको आँखामा डर थियो र उनले बस्न सकिन्न भन्ने बुझिन् ।”

उनीहरू युक्रेनी दूतावासको सहयोगमा एक सातापछि तेल अविवबाट बाहिर निस्किए । उनकी छोरी किएभ पार्कमा झरेका पातहरूमा खेल्दै गर्दा ल्यास्कोले आफूहरू घरमा खुशी भएको र परिवारसँग पुनर्मिलन भएको बताइन् ।

किएभमा निप्रा नदीको विपरित किनारमा आफ्नो कार्यालयमा बसेकी आक्साना सोकोलोभ्सकाले रुसको आक्रमणबाट भाग्दा इजराइल ‘विश्वको सबैभन्दा सुरक्षित देश’ होला भन्ने आफूले सोचेको बताइन् । सन्तान भएका महिलाजस्तै ३९ वर्षीया सोकोलोभ्स्काले पनि गत वर्ष युद्धको सुरुआतमा आफ्ना तीन छोराछोरीसँगै युक्रेन छोडेकी थिइन् ।

“मलाई उनीहरूको जीवन जोखिममा पार्ने कुनै अधिकार थिएन”, उनले भनिन् । हिब्रु बोल्ने भएकाले उनले इजराइललाई आफ्नो गन्तव्य रोजिन् र उनीहरू तेल अविव नजिकैको रिसोन लेत्सियनमा बस्न थाले । तर उनले पनि अक्टोबर ७ पछि आफ्ना छोराछोरीसँगै एउटा आश्रयस्थलमा बिताइन् । “ठूलो मात्रामा बमबारी सुरु भयो”, उनले भनिन् ।

फेरि तुरुन्तै उनले इजराइल छोड्ने निर्णय गरिन् । “एउटा युद्धका लागि अर्को युद्धलाई छोड्न कठिन हुन्छ”, उनले एएफपीलाई भनिन् । यद्यपि फेरि पनि साकोलोभ्स्का घर आएर खुशी थिइन् । रुसी आक्रमणको करिब दुई वर्षपछि उनले भनिन्, “अहिले किएभमा इजराइलको तुलनामा स्थिति शान्त छ, यही एकमात्र कारणले म घर फर्किएँ ।”
–––

Related Articles

Leave a Reply

Back to top button