लेख

सिसेक्पा तङ्नाम : याक्थुङ जीवनदर्शन र प्रकृतिप्रतिको आस्था

सन्दर्भ : सिसेक्पा तङ्नाम

✍️ कृष्णकुमार हेम्ब्या  

याक्थङ जतिले चारवटा तङनामहरु (याक्वा, सिसेक्पा, चासोक र कक्पेक्वा) मनाउछन । यी चारैवटा तङनामहरु हाम्रा आदिम पुर्खा सावा येत्हाङहरु कृषि युग प्रबेश समयमा नै सुरुवात भएको मान्न सकिन्छ । यी चार चाडहरु मौसमअनुसार घुमेर आफै आउछन ।

‘तङनाम’ प्राचीन याक्थङ मुन्धुमी पानबाट आएको मानिन्छ । यसको भाषिक संरचना अनुसार ‘तङ’ को अर्थ मिलन, समय वा अवसर हुन्छ । घामलाई याक्थुङ पानमा ‘नाम’ हो । घाम अर्थात सूर्य, जसको प्रकाश र तापले पृथ्वीको सम्पूर्ण जीवन चक्र सञ्चालन हुन्छ । मौसम परिवर्तन, खेतीपातीको समय, जीवन चक्रको सुरुआत र अन्त सबै कुराको सूचक नाम (घाम) को गतिमा निर्भर हुने भएकाले समय चक्र अनुसार आइपुग्ने पर्व तङनाम हो । यस्ता पर्वहरु केवल उत्सवको रूपमा मात्र नभई याक्थुङहरुको सामाजिक, धार्मिक र सांस्कृतिक अस्तित्वसँग जोडिएको एउटा चक्रबद्ध परम्परा हो ।

मुलत याक्थुङ चाडपर्वहरु पुर्खा, प्रकृति र कृषि सम्बन्धि छन । खासगरी कृषि चक्र अनुसार विभिन्न समयमा मनाइने तङनामहरुको आफ्नै महत्व छन । याक्वा तङनाम अन्न बालीको बीउ विजन लगाउने खेति तयारीको प्रर्मुख पर्व हो । सिसेक्पा तङनाम साक्नाम (अनिकाल) खेद्ने, चासोक तङनाम बाली भित्र्याउने र अन्तमा कक्पेक्वा तङनाम नयाँ वर्षको रुपमा मनाइन्छ । बलिहाङ तङनाम चाहि प्रकृति र कृषिसंग सम्बन्धित नभएकाले यसलाई याक्थुङहरुको प्रमुख चाडपर्वको रुपमा नआइ सहयाक मात्र हुन ।

आजकको कुवाकुजा बहस सिसेक्पा तङनाम हो ।

सिसेक्पा तङ्नामको उत्पति

सिसेक्पा तङनाम कसरी सुरुवात भयो भन्नेबारे हाम्रो पुर्खाहरुले निर्माण गरेको एउटा मुनधुम यस्तो छः

हाम्रो पहिलो पुर्खा, मुजिङना खेयङनाका छोरा सुसुबेन लालाबेनका आफ्नै सन्तान सुच्छुरू सुहाम्फेबा र छोरी तेल्लारा लाहाङदङ्गनाका संसर्गबाट १७ जना सन्तान जन्मिए । संख्या धेरै भएकोले पछि तिनीहरूलाई छुट्याउनु पर्ने आवश्यक भयो । सुन चाँदीका चाल्नी प्रयोग गरेर सन्तानहरूको विभाजन गरियो ।

चाल्नीबाट तल झरेका आठ भाइ आमा लाहाङदङ्नाको पक्षमा परे भने माथि रहेका आठ भाइ बाबु सुहाम्फेबाको भागमा परे । चाल्नीमा अड्किएकी एकमात्र छोरी भने पछि बाबु सुहाम्फेबाको पक्षमा नै परिन । बाबुतर्फ परेका आठ भाइ र एक बहिनी माथि मुरिङला–खारिङला गइ बसे । तिनीहरू पेगिपmङसाम (फेदाङ, साम्बा, येवा/येमा) रूपमा परिचित भए । उता आमा लाहाङदङ्गना तर्फ परेका आठ भाइ सावा येत्हाङ नामले परिचित हुँदै तलतिर झरेर बसोबास गर्न थाले ।

सावा येत्हाङ पाङभेमा जन संख्या बृद्धि भएर गयो । माङहाङको पालामा एउटा ठूलो खडेरी परेको थियो । खेतबारी, वन जंगल सबै सुक्खा भए । जनता भोकै प्यासै मर्न थाले, अनिकालले च्याप्यो । एक सच्चा शासकको नाताले माङहाङले जनताको दुःख सहन नसकि दिनरात माङ्सेवामा तल्लीन भए । एक रात सपनामा उहाँलाई तागेरानिङ्वाफु युमा माङको दर्शन भयो । उनिप्रति माङ प्रसन्न भइ “तिमीले धेरै सेवा र प्रार्थना गर्यौ, भोलि बिहानै खेतबारीमा जाऊ, सबै पाकेको देख्नेछौ । त्यो खाएर जनताको जीवन बचाऊ ” भन्नु भयो ।

नभन्दै भोलि बिहानै माङ्हाङ उठेर हेर्दा खेतबारीमा भट्मास सिमि पुरै पाकेर खाउ खाउ लाग्दो देख्यो । पुरै हरियाली फर्सी, काक्रा, इस्कूस, बर्खेधान अनेकौं थरीका फलेको थिए । माङ्हाङ्ले सबै जनतालाई बोलाएर “अब यो तागेरा निङ्वाफु र युमा माङ्को देन हुनाले सबै चिजबिज सफा गरी सहकाल आइज, अनिकाल जा” भन्दे नाङ्लो ठटाएर अगुल्ठोसग दोबाटो सम्म पुरियाउनु भन्नुभयो । सबैले त्यसै गर्न थाले । त्यसो गर्दै जादा पछि एउटा राम्रो संस्कृति हुन गयो र यसलाई विशेष साक्नाम अर्थात अनिकाल खेद्ने सिेसेक्पा तङनामको रुपमा मनाउन थालीयो र अहिलेसम्म मनाईदै आएका छौं ।

‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको अर्को याक्थुङ मुन्धुमपनि छ । खडेरीबाट उत्पन्न अनिकाललाई प्रतिकात्मक रुपमा साक्च्योङ’ भनिएको होला । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडकारुपमा पनि लिन्छन ।

लेखक हेम्ब्या ।

अनिकालमा जीवन बचाउने उपायको सिसेक्पा तङनाम

‘सि’ मृत्यु, ‘साक’ अनिकाल, ‘साक्मा’ छेक्ने आदि अवस्थाका शब्दहरु मिलेर अनिकालमा जीवन वचाउने उपयाका सिसेक्पा बनेको हो ।

अहिले भन्दा हाम्रा पुर्खाहरुको जीवन निकै कठिन थियो । प्रकृति सधै एकै स्वरूपमा रहँदैन । विपत्ति र संकटले गम्भीर चुनौतीहरू खडा गर्छनै । अनिकाल, खडेरी, महामारी र अकाल मृत्यु हाम्रा पुखाहरूले भोगेका यस्तै संकटहरूले जीवनको अस्तित्व नै संकटमा पार्थ्यो । तर उनिहरुका बुद्धि, अनुभव र सामूहिक प्रयासले यस्ता कठिनाईहरू पार गर्ने अनेक उपायहरू पनि जन्माए । त्यही ज्ञान र उपायहरूको सम्झना र सम्मानमा मनाइने एक गहिरो अर्थ बोकेको पर्व हो सिसेक्पा तङनाम ।

जीवन र संकटबीचको संघर्षलाई समेट्ने सिसेक्पा तङनाम हो । अनिकालबाट मानिसको मृत्यु हुन्छ । मृत्युदेखि बच्न अनिकाल खेद्नु पर्यो । मृत्यु संगको सामना गर्ने उपाय, र अनिकाल जस्तो संकट रोक्ने प्रयास दुवै धारणा जीवनको गहिरो सन्देश बोकेका छन । यो हाम्रो इतिहास, सीप, सामूहिक चेतना र विज्ञानप्रतिको समझदारीको प्रतीक र एक प्रकारको चेतनात्मक अभ्यास पनि हो । मानिसको जीवनमा अनेक संकटहरु आउछन । र, त्यसको सामना कसरी गर्ने भनेर तयार हुनु पर्ने ज्ञान हामीलाई सिकाउँछ । पर्व मनाउने क्रममा हामी आफ्ना पुर्खाहरु सम्झन्छौं, अनुभवहरू बाँड्छौं र भविष्यका लागि योजना बनाउँछौं । यसले सामाजिक एकता, आत्मबल र व्यवहारिक बुद्धिमत्तालाई समेत बलियो बनाउँछनै ।

सिसेक्पा तङनामको सांस्कृतिक महत्व

सिसेक्पा तङनाम याक्थुङ जातिको जीवन दर्शन, संघर्ष र प्रकृतिप्रति कृतज्ञता दर्शाउँने मौलिक कृषिमा आधारित चाड हो । कृषकहरूको दृष्टिले हेर्दा, चैतदेखि असारसम्मको समय अत्यन्तै कठिन रहन्छ । यो समयावधिमा भकारीका अन्न सकिएका हुन्छन । खेतीपातीमा व्यस्तता चरम सीमामा पुगेको हुन्छ र यहि समयमा प्राकृतिक प्रकोपको डर पनि उत्तिकै रहन्छ । बाढी, पहिरो, हावाहुरी र जंगली जनावरको आक्रमणले कृषकहरूलाई चिन्तित बनाउँछ ।

असारको अन्त्यतिर अन्नबाली पाक्न थाल्छन । रोगव्याध र प्राकृतिक प्रकोप कम हुँदै गएपछि कृषकहरूमा राहतको सास फेर्ने समय आउँछ । सिसेक्पा तङनाम त्यही खुसी र आशाको प्रतिक हो । यो पर्व वर्षभरको कठिन परिश्रमको समाप्ती, बाँचेर आएको सुखद अनुभूति, र आगामी दिनप्रति आस्था र शुभकामनाको संकेत पनि हो । सिसेक्पा तङनामलाई कृषकहरूको आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवातको रूपमा पनि हेर्न सकिन्छ । दिन छोटिंदै जानु, अन्नबाली पाक्दै जानु र मौसम अनुकूल बन्नु यस पर्वसँग गहिरो सम्बन्ध राख्दछ । यस चाडको माध्यमबाट याक्थुङ समुदायले प्रकृतिको संरक्षण, परिश्रमको सम्मान र समुदायमा आपसी मेलमिलापको भावना प्रवाह गर्ने कार्य गर्छन ।

कसरी मनाउने ?
खसगरी घरका साना केटाकेटीहरू स्थानीय वनजंगल वा आफ्नै बारीबगैंचामा गएर सिदिंगवा, कुकुरदाहिने, कुरिलो, सिस्नु, बरपीपलको पात, सिरुको पात, बारीमा भरखरै फल्दै गरेका अन्न र अन्नका पात मुन्टाजस्ता वस्तु संकलन गरिन्छ । सिदिंगवा, कुकुर दाहिने, कुरिलो, सिस्नु, अगुल्टो सिरुको पातहरु साक्नाम च्योङ खेद्ने अर्थात “अनिकाल” जस्तो प्रतिकूल अवस्थालाई परास्त गर्ने प्रतीकात्मक हतियारका रूपमा लिइन्छ ।

साँझपख, ढल्किंदो घामसँगै घरको मूल ढोकामाथि र वरिपरि हरियो बाबियो र खरको डोरीमा बाँधिएका ती फलफूल, अन्न, बनस्पति लहरै टाँगिन्छन । यस्को अर्थ, यो समय प्रसस्त अन्न पाकेकाले गर्दा हामी कुनै अनिकालसंग डराउदैनौं । यदि अनिकाल आयौ भने हामीले साक्नाम च्योङ हतियारले छेकि सकेका छौं भन्ने साक्नाम रोक्ने प्रतिकात्मक रणनीति हो ।

सबैले भात, मासु, जाँडपानी खाएर पेट टन्न भरि सकेपछि, हातमा अगुल्ठो, दियालो, नाङ्लो आदि लिएर घरका कुनाकाप्चा, अगेना, मूल थाम घुम्दै नाङ्लो ठटाइदै साक्नाम च्योङ मुन्धुम पुकारेर उच्च स्वरमा “अनिकाल जा, सहकाल आइज” भन्दै बाहिर निस्केर घरलाई एक फन्को लगाएर, घर नजिक दोबाटो/चौबाटो वा खोलाखोल्सीमा विसर्जन गरिन्छ ।

साक्नाम च्योङ मुन्धुमः

सर्लङ सोए, सर्लङ सोय
साक्नाम पेगेरु यारुनाम तेरुओ
साक्नाम पेगेरुओ हिङनाम तेरुओ
साक्नाम पेगेरु नुवाम तेरुओ
साक्नाम पेगेरु हाङहाङनाम तेरुओ
मेन्नुमेन्दा पेगेरुओ, नुमातामा तेरुओ
तुक्मा लाःक्मा पेगेरुओ, नुवातावामा तेरुओ
लाम्बो खक्वा पेगेरुओ, योम्जाङवा तेरुओ
तुक्मा लाक्मा तुङ पेगेरु, नुमातामा तगेरुओ । (डिबि आङबुङ)

साक्नाम च्योङ मुन्धुमको सार व्यक्ति, परिवार र समाजमा भएका रोगव्याध, रिसराग, दुर्भाग्य आदि नकारात्मक पक्षहरूलाई भगाउने र समृद्धि, सहकाल, स्वास्थ्य, नयाँ अवसरहरूलाई स्वागत हो ।

घर वरिपरि घुमिसकेपछि साक्नाम च्योङ विसर्जन गर्न घरको पश्चिम तिर नजिकैको दोबाटो/चौबाटो वा खोल्सामा पुगिन्छ । त्यहाँ एउटा रेखा कोरिन्छ । त्यो रेखा प्रतिकात्मक रूपमा सहकाल र अनिकालबीचको सीमारेखा मानिन्छ । त्यसपछि हातमा सिदिंगवा, युक्विबा, सिस्नुजस्ता हतियार लिएर अनिकाललाई सो रेखाबाट प्रवेश निषेध गरिएको मुन्धुममा चेतावनी दिइन्छ । खुट्टाको कुर्कुच्चालाई भुइँमा थेचारे झैँ गर्दै, अनिकाल जाऊ है, परपर जाऊ है, फेरि फर्केर नआऊ है, यता नआऊ है, अटेर गरेमा अगुल्टोले हान्छौं, काँडाले घोची दिन्छौं, भाग है भनी थुपारिएको आगोलाई भुरभुर पार्दै अनिकाललाई बाटो छेक्ने काम गरिन्छ ।

साक्नाम मेन्नुङङे पेगोरुओ
केनुःङगर मिधप्पु चिओरु केजारो
सिदिःङबा तिःङले चिउःक केजारे
युक्निबा फेयारे चिहेक केजारो
– डिबि आङबुङ

बिसाउनी

सिसेक्पा तङनाम, हाम्रो एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो पर्व विशेषगरी अनिकाल, रोगव्याधि, दैवी प्रकोप, र सामाजिक समस्याहरूलाई टाढा भगाउने र नयाँ ऊर्जा ल्याउने विश्वाससाथ मनाइन्छ । परम्परागत रूपमा हरेक याक्थुङ घरमा यो पर्व मनाउने चलन छ ।

पहाडको गाउँघरमा अझै पनि परम्परागत विधिअनुसार यो पर्व श्रद्धापूर्वक मनाइन्छ । तर आजकाल शहरमा बस्नेहरु खेतिपातीसँग प्रत्यक्ष सम्बन्धमा नरहेकाले यो पर्व पहिलेको जस्तो भव्य रूपमा मनाउने गरेका छैनन । हालका दिनमा सामूहिक रूपमा कुनै ठाउँमा भेला भई, यालाङ, केलाङ, माङसेवा र परम्परागत भेषभूषासहित सिसेक्पा तङनाम मनाउने चलन बढ्दै गएको छ । सामाजिक सञ्जालमा शुभकामना सन्देश आदानप्रदान गर्दै यो पर्व मनाउने आधुनिक अभ्यास पनि देखिन्छ ।

सिसेक्पा तङनामलाई केवल अनिकाल खेद्ने पर्वको रूपमा मात्रै लिनु उचित हुँदैन । मुन्धुमविद तथा मानवशास्त्री डिबि आङबुङकाअनुसार यो पर्व सामाजिक रूपान्तरणसँग पनि सम्बन्धित छ । उनका अनुसार समाजमा रहेका विकृति, विसंगति, अन्याय, अत्याचार, भ्रष्टाचार जस्ता समस्याहरुलाई अनिकालको प्रतीक मानी, खेदेर टाढा लैजाने मनोवैज्ञानिक अभ्यासको रूपमा यो पर्वलाई हेर्न सकिन्छ । यसले समाजमा सकारात्मक सोच, मेलमिलाप र सुधारको भावना विकास गर्न मद्दत पुर्यासउँछ ।

अन्त्यमा, सिसेक्पा तङनाम याक्थुङ संस्कृतिको समृद्ध परम्पराको प्रतीक हो यसले केवल सांस्कृतिक पहिचान मात्र झल्काउँदैन, सामाजिक एकता, सद्भाव र रूपान्तरणको सन्देश पनि दिन्छ । यसलाई आधुनिक परिवेशमा जोगाउँदै, नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक छ ।

Related Articles

Back to top button