समाचार

सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव

बारा, २० कात्तिक ः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाउनुभएको छ । दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताउनुभयो ।

“सङ्घीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्”, अध्यक्ष यादवले भन्नुभयो । यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई सङ्घीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताउनुभयो ।

“हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, सङ्घीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, सङ्घीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ”, जसपा अध्यक्ष यादवले भन्नुभयो ।

उहाँले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषिऔजार कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा कारखाना, बाँसबारी जुत्ता, हटौँडा सिमेन्ट कारखाना चाँडोभन्दा चाँडो सञ्चालन गर्न सरकारसँग मागसमेत गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, नेताहरु रामकिशोर यादव, रामबाबु यादव, पारस साह, बच्चा यादव र शारदा शङ्कर जयसवालले शुभकामना व्यक्त गर्नुभएको थियो ।
–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button