आमाको हातमा उरमाल, लेखकलाई सम्मान

१८ फेब्रुअरी, दार्जिलिङ । खुल्ला मन्चमा आयोजित कार्यक्रमबीच निम्बोङको बाहुनडाँडामा छुदेन काविमोको दोस्रो उपन्यास उरमाल- लेखककै आपा र आमाको हातबाट लोकार्पण गरियो।
कटेरो साहित्यिक पत्रिका परिवारको ब्यानरमा आयोजित कार्यक्रममा आपा निमा छिरिङ र आमा भक्तिमायाले आफ्ना छोरा छुदेन काविमोले लेखेका उपन्यास `उरमाल´-को लोकार्पण गरेका हुन् । शिक्षाविद् नगेन्द्र राई अनि छोरा छुदेन काविमोसँग मञ्च साझा गर्दै उनीहरूले उरमाल विमोचन गरे । गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन उपकार्यपाल सञ्चवीर सुब्बा ,४२ समष्टि सभासद हेमन्त थुलुङ, पाब्रिङटार ग्रामपञ्चायत प्रधान रबिन सुब्बा, उरमाल प्रकाशन टोलीका प्रतिनिधि सूरज `रोसुरी´ लगायत कार्यक्रममा निम्बोङ पाब्रिङटारका विभिन्न तहका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरू आमन्त्रित थिए । मेनप्रसाद शर्मा,विशाल छेत्री, निरेन्द्र छेत्री र लीलाबहादुर छेत्रीले संयुक्त रुपमा सञ्चालन गरेका कार्यक्रममा हेमन्त थुलुङ, छेवाङ योञ्जन ,अनिल छेत्रीले कविता र गजलहरू वाचन गरे। आयोजक पक्षमा योगेन्द्र शर्माले स्वागत मन्तव्य गरे। विमोचन कार्यक्रमपछि छुदेनलाई कटेरो साहित्यिक परिवारको पक्षमा सम्मान जनाइएको थियो । छुदेनसँगको कार्यक्रम निकै आकर्षक कार्यक्रम भएको थियो ।जहाँ छुदेनले कार्यक्रम मध्यस्थकर्ता मेाप्रसाद शर्मासँग शुभचिन्तक महानुभावहरसँग छुदेनले अन्तरक्रिया गरे।”आजको कार्यक्रममा छुट्टै आनन्दको साथमा रमाइरहेको छु।”,छुदेनले भने,” वर्षौंअघि जुन बाटो पैदल हिडेर बरबोट हाई स्कुल जान्थें आज त्यहीँ बसेर यसरी तपाईंहरूसँग कुराकानी गरिरहेको छु।” अन्तिक्रिया कार्यक्रममा भीमप्रसाद शर्मा, एडलबर्ट लेप्चा,अनिल छेत्री आदिले छुदेनलाई प्रश्नहरू राखे ।
कार्यक्रमको दोस्रो चरणमा निम्बोङ पाब्रिङटारका साहित्यानुरागीहरूलाई लिएर शिक्षाविद् नगेन्द्र राईका अध्यक्षतामा सभा भयो । जहाँ दुवै ग्रामपञ्चायतका प्रतिनिधिहरूलाई लिएर कटेरो साहित्य परिवार नामक साहित्यिक संस्थाथाको गठन गरियो । सञ्चवीर सुब्बा प्रमुख संरक्षक रहेका उक्त संस्थामा अध्यक्ष बुद्ध सुब्बा ,सचिव विशाल छेत्री र कोषाध्यक्षका रुपमा निरेन्द्र छेत्रीलाई चयन गरिएको छ ।