केबुलकार खारेजीको वार्ता बिना निष्कर्ष टुङ्गियाे
मन्त्रीस्तरीय वार्ता टाेली गठन हुनुपर्ने आन्दोलनरत पक्षको माग : आन्दोलन थप चर्किन सक्ने सङ्केत

०९ फेब्रुअरी, काठमाडौं । सेमुक्तुगाेक्/मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विराेध गरिरहेकाे आन्दोलनकारी समूह र सरकारबीचकाे वार्ता बिना निष्कर्ष टुङ्गिएकाे छ । मागकाे विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको हाे ।
आइतबार दिउँसो बसेरा हाेटलमा बसेकाे वार्तामा आन्दोलनकारीले समूहले सरकारी वार्ता समितिकाे ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरकाे वार्ता टाेली गठन गर्न माग गरेको थियोे । देखिएको विवाद समाधानका नेपाल सरकारकाे गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको टोलीसँग माघ २२ गते राति ६ बुँदे सहमति गरेको आन्दोलन पक्षले मन्त्री स्तरीय वार्ता समिति गठनको माग गरेको थियाे । पुनः माघ २७ गते वार्ता बस्ने भएपछि प्रदेश एककाे लिम्बुवान क्षेत्रमा गर्दै आएको नाै जिल्लाव्यापी यातायात बन्दको कार्यक्रम स्थगन गरेको थियोे ।
आन्दोलनरत घटकहरूले मुक्कुमलुङको संरक्षण तथा केबलकारको खारेजी जस्ता गम्भिर विषयहरूको दिगो स्थायी समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरी आउँदो २७ गते सोहि मन्त्रिस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने बताउँदै आएका थिए । आन्दोलनरत पक्षले केबलकार स्टेसनमा १० दिन सम्म काम रोक्ने मौखिक सहमति भएपनि यसको इमानदार कार्यान्वयन नभएको दाबी समेत गरेको छ।
आइतबारकाे दाेस्राे चरणको वार्ताले निकास दिन नसकेको र बल सरकारकाे काेर्टमा पुगेको पहिचानवादी माेर्चाका नेता खगेन्द्र माखिमले नेपाली समाचार डटकम लाई बताए । उनले ४० मिनेट वार्ता भएपनि निष्कर्ष नआएको जनाए ।
‘नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीमा मुक्कुमलुङ फा?सिङ ताङसेपबाट सरु सिङ्गक, कियाचुबाट यासेली योङ्हाङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घबाट सूर्य विक्रम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहेता, पहिचानवादी माेर्चाबाट खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीबाट दिलकुमार लाओती, जसपाबाट आङकाजी शेर्पा, नेपाल जनमुक्ति पार्टीबाट राजकुमार नाल्वाे, संलाेरामबाट रन्धोज ताम्लिङ रहेका थिए । केबुलकार खारेजी संयुक्त संघर्ष समिति र अन्तरदलीय सङ्घर्ष समितिकाे चाँडै बैठक बसेेर आन्दोलनकाे आगामी कार्यक्रमहरू सार्वजनिक गर्न सक्ने सम्भावना रहेको नेतृ सिङ्गकले जनाइन् ।

माघ ८ गते बटम स्टेसनका लागि डाेजर चलाउन थालेपछि सङ्गठित भएका आन्दोलनकारीमाथि माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले कुटपिटसँगै गाेली प्रहार गरेको थियो । शनिबार ताप्लेजुङमा दाेहाेराे झडप हुँदा सशस्त्र प्रहरीको गाेली लागेर आन्दोलनकारीतर्फ छ जना घाइते भएका थिए । जसमा सगुन लाओती, यम बहादुर सुक्वाबा लिम्बु मङ्गल लाओती, धर्मेन पालुङ्वा, धाेजनारायण साँवा, विशाल लिम्बु घाइते भएका थिए । तीमध्ये आन्दोलनकारी सगुन, यमबहादुर र मङ्गलकाे स्वास्थ अवस्था गम्भीर भएर काठमाडौंमा उपचारका लागि पठाइएकाे थियोे ।
सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा भएपनि जबर्जस्ती केबुलकार निर्माणकाे परियोजना अगाडि बढाएको भन्दै अधिवक्ता शङ्कर लिम्बु सहितको कानुन व्यवसायीहरूले दायर गरेको मुद्दामाथि आजै पेसी बहस पनि हुँदैछ । प्रक्रियाहरू पूरा नगरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरूकाे बर्खिलाप गरेको भन्दै डेढ बढी व्यक्ति, संघसंस्था र समूहले सरकार, परियोजना र कम्पनीविरुद्ध मुद्दा गरेका छन् ।