स्थानीय

दिक्तेल-खानीडाँडा-आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु

खोटाङ, ५ जेठ : कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित रु २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्नेेगरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिनुभयो । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ ।

कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताउनुभयो । “अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुप¥यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।”

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट रु १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले रु सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो । सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको थियो ।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा÷गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button