समाचारसाहित्य सिर्जना

राष्ट्रिय कविता महाेत्सवमा भीम विरही सर्वाेत्कृष्ट घाेषित

५ नाेभेम्बर, विजयपुर । कवि विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा धरानका कवि भीम विरही राई प्रथम भएका छन् । पुस्तकालयले कवि गुरुङको ५२ ओैँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको महाेत्सवका ३२ ओैँ संस्करणमा राई विजयी भएका हुन् ।

उत्कृष्ट १० कविहरुका कविताहरु वाचन गरिएको प्रतियोगितामा काठमाडौँकी एलिसा एकलास दोस्राे र सिक्किमकी सन्ध्या सिङ्जाङ्गो सुब्बा तेस्राे भएका थिए । उनीहरूले प्रमुख अतिथि एवम् वरिष्ठ कवि जसराज किराती, विशिष्ट अतिथि भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्याैपाने, पुस्तकालयका संरक्षक पूर्ण बहादुर गुरुङबाट क्रमशः नगद २१ हजार, १८ हजार र १५ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

अन्य, प्रतियोगीहरूमा अभिनाश भट्टराई(सिरहा), अजित वियाेगी(दार्जिलिङ), छविना लुङ्गेली मगर(सुनसरी), निशान निष्कर्ष(गाेरखा), मा‌ैलश्री लिम्बु(झापा), दीपेन्द्र ग्यावा तामाङ(ओखलढुंगा) र भाेजराज श्रेष्ठ(धरान) रहेका थिए । निर्णायक मण्डलमा कवि मुकुन्द प्रयास, कवि कविता राई गाउँले र पत्रकार एवम् कवि प्रदीप मेन्याङ्वाे रहेका थिए ।

प्रमुख अतिथि कवि जसराज किरातीले नेपालमा कवि विमल गुरुङ स्मृति पुस्तकालयले पुर्‍याएकाे याेगदान अतुलनीय रहेको बताए । उनले साहित्यलाई सामाजिक रूपान्तरणमा उपयोग गर्न पुस्तकालयले खेलेको भूमिकाकाे प्रशंसा समेत गरे । त्यस्तै, प्रा.डा. टङ्कप्रसाद न्याैपानेले साहित्य र सँस्कृतिले जाेड्ने भन्दै पुस्तकालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सर्जकहरूलाई जाेडिरहेकाे बताए । वरिष्ठ कवि बम देवानले कवि विमल गुरुङलाई जन्मजयन्ती बाहेकका दिनमा पनि स्मरण गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा प्राज्ञ शशी लुमुम्बू, नेता अजम्बर काङमाङ राई लगायत थिए । पूर्ण बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा शान्ति गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

गुरुङ र कैलाशीलाई विमल गुरुङ कृति पुरस्कार र प्रदान
उपन्यासकार विजय बान्तावा कैलाशी र कवि चन्द्र गुरुङलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि जसराज किराती, विशिष्ट अतिथि भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्याैपाने र पुस्तकालयका संरक्षक पूर्ण बहादुर गुरुङले ताम्रपत्र, दाेसल्ला र दुई लाख रूपैयाँ प्रदान गरेका थिए । गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र कैलाशीकाे उपन्यास ‘मित्याङ्सा’ कृतिका लागि पुरस्कार दिइएको हाे ।

कवि चन्द्र गुरुङ कवि विमल गुरुङ कृति पुरस्कार ग्रहण गर्दै ।

पुरस्कृत भएपछि गाेरखाका कवि गुरुङले साहित्य र कविता लेखनमा लागिरहन उत्प्रेरणा दिएको बताए । त्यस्तै, मिरिकनिवासी उपन्यासकार कैलाशीले पुरस्कारले सामाजिक मुद्दामा लेख्न प्रेरित गरेको सुनाए ।

उपन्यासकार विजय बान्तावा कैलाशी पुरस्कार ग्रहण गरेपछि ।

कवि नाल्वाेलाई युवा प्रतिभा सम्मान
यसैगरी, कार्यक्रममा कालिम्पोङ दार्जिलिङका कवि विशाल नाल्वाेलाई विमल गुरुङ युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । पछिल्लो ससमयका चर्चित कवि नाल्वाे ‘पेरुङ्गाे’ पत्रिकाका सम्पादक समेत हुन् । उनले दर्जनौं कविता, गीत र गजल लेखेका छन् । सम्मान ग्रहणपछि उनले आफ्नाे सिर्जना समेत वाचन गरेका थिए । उक्त अवसरमा इतर अभियन्ता कवि पराजित पाेमुले समेत कविता सुनाएका थिए ।

कवि विमल गुरुङ युवा प्रतिभा सम्मान ग्रहण गर्दै कालिम्पाेङका कवि विशाल नाल्वाे ।

२०२८ साल कात्तिक १९ गते हङकङको किङ्पार्क अस्पतालमा जन्मिएका विमल गुरुङ सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । १९ वर्षको उमेरमै प्रशस्त पुस्तकको अध्ययन गरेका उनले पत्रकारिता समेत गरेका थिए । अध्ययन र लेखनमा सक्रिय रहेका उनको २०४८ वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घटना हुँदा निधन भएको थियो । धेरै पाण्डुलिपि रहेको विमलको निधनपश्चात ‘कवि विमल गुरुङका केही कविताहरू (आगो बल्दैछ) २०४९, आत्मघोषणा (कवितासङ्ग्रह २०६५) र सहरको प्रगाढ मौनता (कविता सङ्ग्रहः २०८०) प्रकाशित छन् । ५२औं जन्मजयन्तिको अवसर पारेर शब्द–चित्रमा कवि विमल गुरुङ (स्मृतिग्रन्थ) पनि प्रकाशित भएको छ । कवि विमलमा मार्क्सवादी चेत प्रचुर मात्रामा भएको समालोचकहरू बताउँछन् ।

कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान उपमहानगरपालिका –१८ बुद्धचोक, सुनसरीमा रहेको छ । जसको अध्यक्ष पूर्णबहादुर गुरुङ हुन् । जो विमलका बुबा हुन् । विमलकी आमा सरस्वती गुरुङ दिवंगत भइसकेकी छिन् भने बहिनी शान्ति गुरुङ छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button