आदिवासी

ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

१८ अक्टोबर २०२४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ ।

सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको उपस्थित थियो ।

बुद्धपार्कले ल्वाङगाउँको पर्यटन प्रवर्द्धन तथा समृद्धिमा विशेष महत्त्व राख्ने अपेक्षा राखिएको छ । अब ल्वाङ आउने पाहुनाहरुले चियाबारी सँगै बुद्धको दर्शन गर्दै बुद्धपार्कमा बसेर आनन्द लिन सकिने स्थानीय बताउँछन् ।

ल्वाङ सामुदायिक होमस्टे समितिले आयोजना गरेको कार्यक्रमको सभाध्यक्ष होमस्टेका अध्यक्ष सुमित्रा गुरुङ रहेकी थिइन् । कार्यक्रम प्रमुख अतिथि बुद्धमूर्ति निर्माण दाताहरु बलबहादुर गुरुङ र देवशुभा गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा वडा सदस्य अर्जुन परियार, मस्याकु कोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ, ग्रीनहिल क्लबका अध्यक्ष सुजन गुरुङ, ल्होगो तमु सेवा समितिका सचिव कमल गुरुङ, बुद्ध मूर्ति निर्माण समन्वयकर्ता देवराज गुरुङ, बुद्धमूर्ति पूजा धर्मगुरु कुङ्ग ढुन्दुक रहेका थिए ।

कार्यक्रम संचालन होमस्टेका निवर्तमान सचिव तीर्थबहादुर गुरुङले संचालन गरेका थिए । कार्यक्रममा बुद्धपार्कको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई सम्मान गरिएको थियो भने बुद्धमूर्ति दाताहरुलाई ल्वाङ सामुदायिक होमस्टे समितिले मायाको चिनोसहित सम्मान गरेको थियो ।

कार्यक्रममा आर्थिक चन्दादाताहरु, जग्गादाता र बेलायतबाट क्याप्टेन लक्ष गुरुङको परिवार र गाउँलेहरु बाक्लो उपस्थिति थियो ।

Related Articles

Back to top button

This will close in 0 seconds