समाचार
Trending

मुक्कुमलुङ बचाउ आन्दोलनकर्मीमाथि भएको दमनको चाैतर्फी आलोचना

याक्थुङ मुनचइत् चाेक् सयङले अभिलेख राख्ने

२ जनवरी, फेदेन । ताप्लेजुङमा भइरहेको मुक्कुमलुङ बचाउ आन्दोलका कार्यकर्ताउपर भइरहेको दमनकाे सराेकारवाला सङ्गठनहरूले विराेध गरेका छन् ।

याक्थुङ समुदायको पवित्र स्थल मुक्कुमलुङ भएको भन्दै त्यस क्षेत्रमा निजी कम्पनीले केबुलकार निर्माण गर्न खाेजेर मुठभेड निम्त्याएको र आन्दोलनकारीमाथि दमन गरेको ती सङ्गठनहरूले आराेप लगाएका छन् ।

बुधबार राति तीन आन्दोलनकारीहरू जनम इधिङ्गाे, सुशील नुगाे र  सञ्जाेग नुगाेलाई प्रहरीले पक्राउ गरेपछि याक्थुङ मुनचइत् चाेक सयङले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बु याक्थुङहरुको आस्थाको केन्द्र, शक्तिपीठ मुक्कुम्लुङ भत्काउन खोज्ने र जोगाउन खोज्नेविचको द्वन्द्वात्मक परिस्थितिलाइ नजिकबाट नियालिरहेकाे बताएको छ ।

‘याक्थुङ समुदायको आस्थाको केन्द्रमाथि राज्यले गरिरहेको सांस्कृतिकसंहारप्रति खेद प्रकट गर्दछौं । एउटा निजि कम्पनी र सिमित व्यक्तिहरुको स्वार्थको निम्ति राज्यले लिम्बु समुदायमाथि खुकुरी प्रहार गर्ने, धडपकड गर्ने र हिंसात्मक गतिविधि गरिरहेको छ, यसको हामी सशक्त प्रतिकार गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुक्कुम्लुङ भत्काएर केवलकार बनाउन खोज्ने कम्पनि, नेपाल सरकार र सरोकारवालाहरुले त्यस कार्य रोकी तुरन्तै संवादको वातावरण सृजना गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।’

याक्थुङ मुनचइत् चाेक सयङल जारी गरेको विज्ञप्ति

अध्यक्ष सागर केरुङले जारी गरेको विज्ञप्तिमा मुक्कुम्लुङमाथि भइरहेको बर्बर दमनलाइ रोक्न र गिरफ्तार गरिएका मुक्कुम्लुङ पक्षधर नागरिकहरुलाई बिनाशर्त रिहाइ गर्न माग गरिएकाे छ । आफ्ना मागहरूलाई बेवास्ता गरी मुक्कुम्लुङ भत्काउन लिम्बु समुदायमाथि दमन गरिरहे कला, सिनेमालाई प्रयाेग गर्ने चेतावनी दिएको छ । जसमा फिल्म, वृत्तचित्र, कार्टुन, टिकटक, रिल्स प्रयाेग गरेर नकारात्मक भूमिका खेल्नेहरूकाे भण्डाफाेर र आन्दोलनको अभिलेख राख्ने अभियान सुरु गर्ने अध्यक्ष केरुङले जनाएका छन् ।

चुम्लुङदेखि लिम्बुवान सङ्गठनहरूकाे विराेध

मुक्कुमलुङकाे तल्लाे फेदी (काफ्लेपाटी)मा केबुलकार सञ्चालन गर्न संरचना निर्माण गर्ने हिसाबले सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने भएपछि आन्दोलनकारी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियोे । तनावका बीच प्रदर्शनकारी र तिर्थालुहरू नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण भएको छ ।

कियाचु यूकेकाे विज्ञप्ति ।

यसैबीच, कियाचु यूकेका अध्यक्ष कमला सेन्दाङ र महासचिव विश्वासदीप तिगेलाले विज्ञप्ति जारी गर्दै चुम्लुङका सबै समिति र भातृ सङ्गठनहरूलाई आन्दोलनकाे पक्षमा उभिन र हरेक हिसाबले सहयोग गर्न निर्देशन दिएको छ । आन्दोलनसँग समन्वय गर्न महासचिव तिगेला, केन्द्रीय सदस्यहरू टङ्क येङ्देन र पूर्ण फालेच्छुवासहितको तीन सदस्यीय टिम निर्माण गरेको छ ।

त्यस्तै, कियाचु नेपालकी महासचिव निरन्ती तुम्बापाेले विज्ञप्ति जारी गर्दै बेपत्ता आन्दोलनकारीहरूलाई सार्वजनिक गर्न माग गरेकी छिन् । चुम्लुङले सुरक्षाकर्मीकाे विभेदकारी, दमनकारी र अन्यायपूर्ण कार्य भन्दै भत्सर्ना गरेको छ ।

कियाचु नेपालकाे विज्ञप्ति ।

यस्तै, तीन लिम्बुवान सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस ११ गतेदेखि वार्ताको सहमतिका बुँदाहरू उल्लङ्घन गर्दै डकैती शैलीमा शिलान्यास गर्न खाेजिएकाे आराेप लगाउँदै पवित्र आध्यात्मिक स्थलबाट सुरक्षाकर्मीहरू फिर्ता गर्न माग गरेको छ । विज्ञप्तिमा लिम्बुवान राष्ट्रिय माेर्चा अध्यक्ष पालुङ्वा दिल याक्थुङ, लिम्बुवान क्रान्तिकारी पार्टी अध्यक्ष मनिष हेल्लाेक र सङ्घीय लिम्बुवान पार्टी अध्यक्ष मित्र लिङ्देनले हस्ताक्षर गरेका छन् ।

तीन लिम्बुवानजन्य सङ्गठनकाे संयुक्त विज्ञप्ति ।

Related Articles

Back to top button