धरानमा तेस्रो याक्थुङ ज्ञान महाेत्सव हुँदै
२६ डिसेम्बर, विजयपुर । याक्थुङ लिम्बु समुदायका विविध पक्षहरूमा प्राज्ञिक बहस र पुस्तान्तरण गर्ने हिसाबले सुरु गरिएको याक्थुङ ज्ञान महाेत्सवकाे तेस्राे संस्करण हुने भएको छ । ‘बाैद्धिक ज्ञान आदानप्रदान र पुस्तान्तरणका लागि’ नाराका साथ याक्थुङ युवा मञ्चको आयाेजनामा सुनसरीको धरानमा तीन दिने ज्ञान महाेत्सव हुने भएको हाे ।
साढे पाँच वर्षअघि सुरु भएको महाेत्सवलाई निरन्तरता दिँदै मञ्चले पुस १३-१५ (डिसेम्बर २८-३०) गते धरानकाे लाङ्घाली सामुदायिक भवनमा आयोजना गर्न लागेको जनाए । मञ्चले बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणका लागि दोस्रो पटक याक्थुङ ज्ञान महोत्सव गर्न लागेको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गाेले जनाए । वरिष्ठ लेखक, अनुवादक एवम् विश्लेषक खगेन्द्र सङ्ग्राैलाकाे प्रमुख आतिथ्यमा हुन लागिरहेको महोत्सवमा करिब तीन सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवमा याक्थुङ लिम्बु जातिको मुन्धुम, इतिहास, सभ्यता, संस्कृति, रितिरिवाज, रहनसहन, राजनीति, साहित्य, संगीत, सिनेमा आदि विषयवस्तुहरुमाथि प्रस्तुती, वैचारिक वहस, सुन्ने–सुनाउने र बुझ्ने–बुझाउने जस्ता क्रियाकलाप हुनेछन् ।
ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्धत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि महत्वपूर्ण सहयोग पुर्याउने याक्थुङ युवा मञ्चका महासचिव मनकुमार आङ्देम्बेले बताए ।
‘याक्थुङ ज्ञान महोत्सव विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन, विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो,’ अध्यक्ष इधिङ्गाेले भने, ‘याक्थुङ लिम्बु समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुति, छलफल गरिनेछ । मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरुमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गरिनेछ ।’
महाेत्सवलाई कियाचु धरान उपमहानगर समिति र लिम्बु विद्यार्थी मञ्च सुनसरीले व्यवस्थापनमा सहयोग गर्दैछ । मिडिया पार्टनरमा सुम्हात्लुङ टाइम्स, लिम्बुवान खबर डट कम र नुमाफुङ खबर रहेका छन् ।
यसअघि २०७६ जेठ २४ र २५ गते काठमाणडौंमा प्रथम याक्थुङ ज्ञान महोत्सव सम्पन्न भएको थियो । त्यस्तै, दाेस्राे संस्करण २०७९ फागुन १९ र २० गते झापा शिवसताक्षी नगरपालिकाकाे झिलझिलेमा भएको थियोे । यसपटकको महाेत्सवमा तीस बढीको हाराहारीमा कार्यपत्र प्रस्ताेता, टिप्पणीकार, सहजकर्ताहरू तय भइसकेको सुनिल आङ्वाेले जनाए ।
याक्थुङ लिम्बु पहिचानका मुख्य र महत्वपूर्ण विषयहरुमा बौद्धिक र अग्रजहरुबाट विषयवस्तु प्रस्तुत, छलफल, बहस गरी ज्ञानहरु आदान–प्रदान र युवा पुस्ताहरुलाई सुसूचित गराउँदै जागरुप बनाउन आवश्यक रहेको सुनसरीका सविरसिं यक्साेले जनाए । उनले साझा विषयमा बहस, छलफल र दस्तावेजिकरण गर्ने अभ्यास र प्रयास स्वरुप यस महाेत्सव हुने भएको थपे । महाेत्सवकाे अनुमानित खर्च दश लाख रूपैयाँ रहने आयोजकले जनाएको छ ।