स्वास्थ्य

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

गोदावरी (कैलाली), ३० वैशाख : कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उहाँको भनाइ छ ।

साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button