अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा मारिएका इरानी गार्डका कमाण्डरको अन्त्येष्टिमा हजारौँ इरानीको सहभागिता

तेहरान, १२ पुस (एएफपी):
इरानको राजधानी तेहरानले इजरायली आक्रमणमा मारिएको तीन दिनपछि रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीको अन्त्येष्टिका लागि बिहीबार हजारौंको भीड लागेको छ ।

तेहरानको केन्द्रीय इमाम हुसेन मार्गमा भीडले इजरायल र अमेरिका विरोधी नारा लगाएका थिए ।

इजरायलले लामो समयदेखि इरान र उसका सहयोगीहरूविरुद्ध हत्या र विध्वंसको छायाँ युद्ध लडेको छ, तर सिरियामा मौसावीको हत्या अक्टोबरको सुरुदेखि इजरायल–हमास द्वन्द्वलाई लिएर तीव्र रूपमा बढेको क्षेत्रीय तनावको समयमा भएको छ ।

सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सको विदेशमामिला हेर्ने विभागका वरिष्ठ कमाण्डर मौसवीको सोमबार इजरायली क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धग्रस्त सिरियामा हालैका वर्षहरूमा इरानसँग सम्बन्धित लक्ष्यहरूमा सयौं आक्रमणहरू गरेको इजरायली सेनाले विदेशी सञ्चारमाध्यममा यससम्बन्धमा कुनै टिप्पणी नगर्ने बताएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बिहीबार मौसावीको परिवारसँग भेट गरी मारिएका जनरलको पार्थिव शरीर अघि उभिएर प्रार्थना गरी अन्तिम सम्मान प्रकट गर्नुभएको थियो ।

शोकाकुलमध्ये धेरैले इजरायललाई सङ्केत गर्ने ‘म तिम्रो प्रतिद्वन्द्वी हुँ’ भन्ने सन्देश अङ्कित पहेँलो झन्डा फहराइरहेका थिए ।

गार्डका प्रमुख होसेन सलामीले मौसावीलाई मध्यपूर्वमा तेहरानसम्बद्ध सशस्त्र समूह ‘एक्सिस अफ रेजिस्टेन्स’मा सबैभन्दा अनुभवी र प्रभावकारी आईआरजीसी कमान्डरमध्ये एकका रूपमा प्रशंसा गर्नुभयो ।

सलामीले सन् २०२० मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा कुद फोर्सका पूर्व कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि मौसावीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभएको थियो । सुलेमानीले एक दशकभन्दा बढी समयदेखि गार्ड्सको विदेशी कारबाही सञ्चालन गर्दै आउनुभएको थियो ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी हमास लडाकू समूहले एक्कासी गरेको आक्रमणमा ‘इरानी भूमिका’ देखाउँदै आरोपमा इजरायलले जनरलको हत्या गरेको हुन सक्ने सरिफको भनाइ छ ।

इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई बन्धक बनाइएको थियो ।

इजरायलले गाजामा निरन्तर बमबारी, घेराबन्दी र स्थलआक्रमण गरी कम्तीमा २१ हजार ११० जनाको ज्यान लिएको गाजास्थित हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आर्थिक र सैन्य रूपमा हमासलाई समर्थन गर्ने इरानले यस घातक आक्रमणलाई ‘सफलता’ को रूपमा प्रशंसा गरेको छ तर प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button