समाचार

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेविट ढकालले भन्नुभयो, “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ः०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको छ ।”

विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैबीच, विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावनासमेत रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ । यसकिसिमको विषम परिस्थितिमा नदी तटीय क्षेत्रका प्रभावित बासिन्दा तथा खोज–उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन उहाँहरूले अनुरोध गर्नुभएको छ ।
–––

Related Articles

Back to top button