समाचार
रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल

काठमाडौँ, १५ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ ।
पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उहाँले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
उहाँले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहनुभएको छ ।
सभापति लामिछानेले उहाँहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गर्नुभएको हो ।




