लेख

कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस

राजु सिलवाल
काठमाडौँ, १५ जेठ (रासस): प्रत्येक वर्षको वसन्त ऋतु विश्व मानचित्रमा नेपाललाई गौरवान्वित बनाउने महत्वपूर्ण याम मान्ने गरिएको छ विगत वर्षहरु झैं यसपालि पनि नेपालले फेरि विश्वको ध्यान केन्द्रीत गर्न सफल भएको छ । यसपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा अत्यधिक टोलीको उपस्थितिले वातावरण विशेष चहलपहलमय बन्न पुगेको थियो । आरोहीहरुको चाप आधार शिविरदेखि चुचुरोसम्म जानेक्रममै जारी रहेको थियो । एकैदिन धेरै आरोहीलाई सफलता मिलेको घटनाले पनि विश्वलाई चकित बनाएको थियो ।

सन्् १९५३ को मे २९ तारिखका दिन पहिलोपटक पाइला टेकेर विश्व कीर्तिमान बनाउन सफल स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा तथा स्वर्गीय एडमण्ड हिलारीको पदचापलाई पछ्याउँदै यो वर्ष पनि पर्वतारोहीहरुले विभिन्न नयाँ कीर्तिमान स्थापित गर्न सफल भएका छन् । सफलता जित्नेहरुको पङ्तिमा सहासी नेपाली शेर्पाहरुको सङ्ख्या उल्लेखनीय रहेको छ । मुलुकमा विगतमा तत्कालीन १० वर्षे माओवादी युद्ध, कोभिड २०१९ जस्तो विश्वब्यापी महामारीजस्ता विषम परिस्थितिमा समेत पर्वतारोहण क्षेत्र सुचारु रुपमा सञ्चालन भएर नेपालले विश्वलाई उदाहरण प्रस्तुत गरेको थियो । यसपटक सगरमाथामा हासिल भएका प्रशंशनीय उपलब्धिहरुले केही वर्षदेखि मात्र मनाउन सुरु गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई कीर्तिमानमय एवं अझ उल्लासपूर्ण दिवसका रुपमा परिणत गरिदिएको छ ।

सयौँको सफलताको सञ्जोग

सगरमाथाको शिखरमा पुग्ने काम निक्कै कठिन र सहासिक मान्ने गरिएको छ । विगतका वर्षहरुमा हिमाल चढने काम निक्कै जोखिमपूर्ण मानिने गरिन्थ्यो । थियो । ज्यानको जोखिम भएको यथार्थ स्वीकार्दै हिमालमा गएका कयौं आरोहीले कठिन भौगोलिक क्षेत्रमा जीवन गुमाईसकेका छन् तर विज्ञान तथा प्रविधिको विकास बढदै गएसँगै हिजो आज हिमाल चढन गएकाहरुले प्राण नै त्याग्नु पर्ने अवस्था भने कम हुँदै गएको छ । पर्वतारोहीहरुलाई उचित प्रशिक्षणको व्यवस्था, आधुनिक उपकरणको सर्वसुलभता तथा महिनौँपछिको मौसमको सम्भावित अवस्थाबारे भविश्यवाणीको अग्रिम उपलब्धता जस्ता कारणले विगतको भन्दा जोखिमको परिमाण कम हुँदै गएको अनुभव गरिएको छ । पर्वतारोही एक्लै शिखरमा पुग्न समेत कठिन सङ्घर्ष गर्नुपर्ने सगरमाथामा एकैदिन सयौँ पर्वतारोहीले सफलता पाउनु सामान्य उपलब्धि होइन ।

२०८३ जेठ ६ गतेको दिन यस्तो महत्वपूर्ण बन्नपुग्यो, जुन दिन २७४ जनाले सगरमाथामा सफलता पाएका थिए । त्यस्तो कठिन भूभागमा यति ठूलो सङ्ख्यामा प्राप्त भएको सफलतालाई विश्वकै पर्वतारोहणको इतिहासमा नौलो कीर्तिमान मानिएको छ । हिमालमा आरोहण अभियान सञ्चालन गर्ने व्यवसायीहरुको संस्था पर्वतारोहण सञ्चालक सङ्घ नेपालद्वारा यसलाई नेपालको पर्वतीय पर्यटनको इतिहासमा हालसम्मकै ठूलो र ऐतिहासिक उपलब्धि मानिएको छ । यसअघि २०७६ जेठ ८ गते एकैदिन २२३ पर्वतारोहीले सगरमाथाको चुचुरोमा टेकेका थिए । यस वर्ष चीनतर्फ पर्ने सगरमाथाको उत्तरी मोहडाबाट आरोहणका लागि अनुमतिपत्र प्रदान नगरिएकाले आरोहीहरुको चाप नेपालतर्फ बढी भएको थियो । यसप्रकारको अपार सफलतापछि आगामी बसन्त ऋतुमा समेत सगरमाथाप्रतिको आकर्षण अझ बढने आँकलन गरिएको छ ।

बाटो खोल्ने बहादुरहरु

सगरमाथामा एकैदिनमा धेरैले सपना पूरा गर्न सफल भएको अवस्था सिर्जना हुनु पछाडि नेपाली रोप फिक्सिङ टोलीका सहासी सदस्यहरुको प्रमुख भूमिका रहेको छ । यही टोलीको सक्रियतामा सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म पुग्न आरोहीहरुलाई निक्कै सजिलो भएको थियो । सगरमाथा आरोहणका क्रममा पार गर्नुपर्ने अत्यन्त जोखिमस्थल खुम्बु आइसफललाई मानिन्छ । उक्त स्थलमा कयौं वर्षदेखि धेरैले ज्यान गुमाइसकेका छन् । आइसफल डाक्टरका नामले परिचित अनुभवी हिमाल आरोहीहरुको सीप र साहसले बसन्त ऋतुभरि पर्वतारोहीहरूको लागि शिखरतर्फ जाने बाटो खुल्ला तथा सहज बनाउन सहयोग पुगेको हो ।

आरोहणका लागि प्रारम्भिक रुपमै कठिन मानिएको हिमखाडल अर्थात आइसफलमा भ¥याङ हाल्नेदेखि लिएर मौसम परिवर्तन पिच्छे बाटो परिवर्तन भैरहने शिखरतर्फको गन्तव्यमा डोरी टाङ्गने जस्तो कठिन काम सम्पन्न गरिएको थियो । आइसफल रुट सञ्चालनको व्यवस्थाका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा सगरमाथाको दोस्रो शिविरभन्दा माथि आरोहीको सुविधाका लागि रुट निर्माण गरी डोरी टाङ्गने जिम्मेवारी पर्वतारोही सञ्चालक सङ्घ नेपाललाई दिइएको थियो ।

गत वैशाख ३० गते आरोही मिङमा दोर्जी शेर्पाको नेतृत्वमा खटिएको १३ सदस्यीय टोलीले आठ हजार ८४८.८६ मिटर उचाईको सगरमाथाको सफल आरोहण गर्दै यो सिजनका लागि आधिकारिक रूपमा आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त टोलीले सुरक्षित मार्ग तयार गरेपछि उल्लेखनीय सङ्ख्यामा पर्वतारोहीहरुलाई सगरमाथाको शिखरमा जान सुविधा भएको थियो । यसरी अत्यन्त प्रतिकूल मौसम, उच्च हिमाली जोखिम तथा चुनौतीपूर्ण परिस्थितिका बीचमा पनि नेपाली शेर्पा समुदायले पुनः एकपटक आफ्नो साहस, क्षमता र समर्पण विश्वसामु प्रस्तुत गरेका छन् ।

नेपालमा वसन्त ऋतुमा सगरमाथाका साथै अन्य बिभिन्न हिमाल आरोहणका लागि विश्वभरिबाटै आएका आरोहीहरुको सहासिक गतिविधिले हिमाली क्षेत्र रोमाञ्चकारी बन्न पुग्यो । पर्यटन विभागले यो वर्ष सगरमाथा आरोहणका लागि मात्र ४९५ जनालाई अनुमतिपत्र प्रदान गरेको थियो, जसमा ३९० जना पुरुषतथा १०५ जना महिला रहेका थिए । सगरमाथामा आरोहणका लागि सन्् १९२२ देखि नै मानिसहरुद्वारा प्रयास गरिए पनि सन्् १९५३ मा मात्र पहिलोपटक मानव पाइला शिखरमा पुग्न सफल भएको थियो । हालसम्म हजारौं आरोहीले सगरमाथाको चुचुरोमा टेक्न सफलता पाइसकेका छन् । यसमा नेपाली सहासी शेर्पाहरुको सङ्ख्या सबैभन्दा बढी रहेको छ । सन्् २०२५ सम्ममा १३ हजार ७०० भन्दा बढी आरोही सगरमाथाको शिखरमा पुगेका थिए ।

लगातार विश्व कीर्तिमान

विश्व कीर्तिमानीहरुको अभिलेख राखिने गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा हाल सबैभन्दा धेरै कीर्तिमान राख्ने जातिमा शेर्पाहरुको स्थान उल्लेखनीय रहेको छ । हिमाल आरोहणमा स्थापित विभिन्न कीर्तिमानले सम्पूर्ण नेपालीहरुलाई नै गौरवान्वित बनाउँदै आएको छ । आफ्ना पुर्खाहरुको गौरवमय गाथालाई प्रख्यात नेपाली आरोही कामीरिता शेर्पाले केही वर्षदेखि निरन्तरता दिंदै लगातार विश्व कीर्तिमान कायम गर्दै आइरहनु भएको छ । चौबीस वर्षको उमेरमा पहिलोपटक सन् १९९४ मा सगरमाथामा पाइला टेक्नुभएका कामीरिताले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । हाल ५६ वर्ष पुग्नुभएका कामीरिताले यही जेठ ३ गते आइतबार बिहान १० बजेर १२ मिनेटमा ३२ औं पटक सगरमाथाको आरोहण गरी फेरि नयाँ विश्व कीर्तिमान स्थापित गर्नुभयो । उहाँले केही वर्षदेखि आफैँले विश्व कीर्तिमान कायम गर्ने तथा फेरि त्यसलाई भङ्ग गर्ने क्रम जारी राख्दै आउनुभएको छ । यसअघि विख्यात आरोही आप्पा शेर्पाले २१ चोटीसम्म सगरमाथा आरोहण गर्दैं सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने आरोहीको रुपमा विश्व कीर्तिमान कायम गर्नु भएको थियो ।

कामीरिताले आप्पाको कीर्तिमानलाई उछिन्दै २२ औँ पटक सगरमाथा चढेपछि विश्व कीर्तिमानीको आफ्नो अग्रता जारी राख्नुभएको छ । ३२ औँ उपलब्धि हासिल भएपछि कामीरिताले आफ्नो प्रत्येक आरोहण व्यक्तिगत उपलब्धि मात्र नभई यी अभियानलाई सफल र सुरक्षित बनाउने सबै मेहनती शेर्पा र आरोहीहरुको योगदान भएको धारणा आफ्नो फेसबुक पेजमार्फत व्यक्त गर्नु भएको थियो । उहाँले विश्वको सबैभन्दा अग्लो हिमालबाट अर्को अविस्मरणीय सहासिक कार्य गरेर सुरक्षित रुपमा फर्कन पाउँदा आफूले धन्य महसुस गरेको अनुभव पनि साझा गर्नु भएको छ । ३२ पटकको सफलतापछि पनि उहाँ अझै थाक्नु भएको छैन । उहाँले सञ्चार माध्यमलाई आगामी वर्ष पनि आफ्नो यात्रा जारी रहने सङ्केत गरिसक्नु भएको छ ।

कीर्तिमानका लागि नभएर नेपाललाई चिनाउन आफूले आरोहण गर्ने गरेको कामीरिताको भनाइले उहाँको राष्ट्रप्रेम अभिव्यक्त हुन्छ । सोलुखुम्बुको थामे निवासी कामीरिताले बिगतमा सगरमाथाको रोप फिक्सिङ टोलीमा समेत सरिक भएर आरोहण गर्नुभएको थियो भने धेरैपटक विभिन्न देशका आरोहीहरुलाई पथप्रदर्शन गर्दै शिखरमा जानु भएको हो । विदेशी टोलीसँग गरिएको प्रतिबद्धताका कारण उहाँले अझै आरोहणलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको छ ।

सगरमाथा आरोहीहरुको सङ्ख्या वर्षेनी बढदै गए पनि त्यहाँको प्राकृतिक अवस्था सहज नभएको स्वयम् आरोहीहरुले नै अनुभव गर्दै आइरहेका छन् । आरोहीहरुलाई सगरमाथाको शिखरमा पुग्नका लागि प्राविधिक चुनौतीका रुपमा मानिएको हिलारी स्टेप खण्डको उचाई, त्यहाँको मौसम तथा आरोहीहरुको भिडका कारण हिमाल चढ्ने कार्य अझै पनि खतरनाक भएको धारणा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नो उल्लेख गर्नुभएको छ ।

पा दावा पछिपछि

पा दावा नामले परिचित सोलुखुम्बुको पाङबोचेका वरिष्ठ पथप्रदर्शक पासाङदावा शेर्पाले विश्व कीर्तिमानी कामीरिता शेर्पालाई पछ्याइरहनु भएको छ । ४९ वर्षिय पादावा धेरैपटक सगरमाथा आरोहण गर्नेहरुमा दोस्रो आरोही हुनुहुन्छ । यस पटक उहाँले चार दिनमा दुई पटक शिखरमा पुगेर ३१ औं पटक सफलता प्राप्त गर्नु भएको हो । उहाँ जेठ ८ गते शुक्रबार बिहान ४.२० बजे शिखरमा पुग्नुभएको थियो । यसअघि उहाँ जेठ ४ गते सोमबार बिहान ८.४५ बजे पनि चुचुरोमा जानुभएको थियो । उहाँले सन् १९९८ मा पहिलोपटक सगरमाथा चढेपछि लगातार सर्वोच्च शिखरलाई पछ्याइरहनु भएको छ । गैरशेर्पाहरुमध्ये ब्रिटिस आरोही केण्टोन कूल २० पटक सगरमाथा चढेर धेरैपटक सगरमाथामा सफलता पाउने आरोही बन्नुभएको छ ।

विश्वकै पहिलो महिला

विश्वका महिलाहरु मध्ये सबैभन्दा धेरै पटक सगरमाथामा पाइला टेक्न सफल श्रीमती ल्हाक्पा शेर्पाले आरोहणको थकाई नमेट्दै आफू आगामी १० वर्षसम्म सगरमाथामा फर्किरहने जानकारी दिनुभएको छ । नेपालको सङ्खुवासभाको मकालुमा जन्मिनुभएकी श्रीमती ल्हाक्पा शेर्पाले जेठ ३ गते नै ११ पटक सगरमाथाको शिखर चुमेर आफ्नै विश्व कीर्तिमान तोडनुभएको थियो । २०५० सालमा स्वर्गीय पासाङल्हामु शेर्पाले पहिलो नेपाली महिलाका रुपमा सगरमाथाको सगरमाथाको सफल आरोहण गर्नु भएपछि ल्हाक्पा शेर्पा दोस्रो नेपाली महिलाका रुपमा सगरमाथामा सफलता पाउनुभएको थियो । त्यसपछि विभिन्न मितिमा १० पटक सगरमाथाको शिखर उक्लन सफल ल्हाक्पाले केही वर्षपछि पुनः ११ औँ पटक सफलता हात पार्नुभएको हो ।

महिला आरोही ल्हाक्पाले आठ पटक चीनको तिब्बततर्फ पर्ने उत्तरी मोहडाबाट तथा तीनपटक नेपालतर्फ पर्ने दक्षिणी मोहडाबाट सगरमाथा चढ्नुभएको हो । कीर्तिमानी आरोही श्रीमती ल्हाक्पा शेर्पाले आफूले यो दुई महिना लामो यात्राको आनन्द लिन पाएकामा फेसबुकमार्फत आभार प्रकट गर्नुभएको छ । उहाँको अबको धोको आफ्ना दुई छोरीसँगै सगरमाथा आरोहण गर्नु रहेको छ ।

अन्य नेपाली महिलाले पनि सगरमाथामा सफलता प्राप्त गरेर मुलुकलाई गौरवान्वित बनाएका छन् । गतवर्ष एकै सिजनमा १३ दिनभित्र तीनपटक सगरमाथा चढेर ‘गिनिस अफ वल्र्ड रेकर्ड’द्वारा सम्मानीत हुनुभएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको सगरमाथामा यसपालिको छैटौं सफलताले नेपाली सञ्चार क्षेत्रले पनि गौरव गर्ने अवसर पाएको छ । गोरखाकी चेली पूर्णिमाले आठ हजार मिटरभन्दा अग्ला विभिन्न आठवटा हिमालको सफल आरोहण गरिसक्नु भएको छ । कुशल फोटो पत्रकार आरोही पूर्णिमाको क्यामराको फ्रेममा सगरमाथाका दुर्लभ दृष्यहरु परेका छन्, जुन तस्बिरहरुले नेपालको पर्वतीय पर्यटनलाई अझ व्यापक रुपमा विश्व बजारमा लैजान थप योगदान दिने अपेक्षा गर्न सकिन्छ ।

सशस्त्र प्रहरी बलमा कार्यरत दुई महिलाले पनि यसपटक सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । सफल आरोहीहरुमा सहायक निरीक्षक निमडिक्की शेर्पा तथा सहायक हबल्दार अनिता कार्की हुनुहुन्छ । अनिता फेन्सिङ खेलतर्फ दक्षिण एशियाली खेलकुदमा पदक बिजेता खेलाडी हुनु भएकाले नेपालको खेलकुद क्षेत्र आरोहणको सफलतामा प्रतिनिधित्व हुन पुगेको छ । मेकअप आर्टिष्ट निलम पौडेललाई पहिलो ट्रान्सवुमन सगरमाथा आरोही बन्ने अवसर प्राप्त भएको छ । उहाँले लैंङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै सफल आरोहण गर्नुभएको थियो ।

सदनदेखि समिटसम्म

पहिलोपटक बहालवाला संसदले सगरमाथामा सफलता पाएको घटनाले पनि वसन्त ऋतुमा चर्चा पायो । प्रतिनिधि सभामा पहिलोपटक पर्वतारोहीको प्रतिनिधित्व गर्ने अवसर पाउनु भएका ताप्लेजुङका मिङ्गमा ग्याबु शेर्पाले ‘सदनदेखि समिटसम्म अभियान’अन्तर्गत सगरमाथाको चुचुरो चुम्नु भएको छ । उहाँले जेठ १३ गते बुधबार बिहान ६ बजे संसदको लोगो अङ्कित झण्डा सगरमाथामा फहराउनु भएको थियो । उहाँको यो नवौं पटकको सगरमाथा यात्रा थियो । ३० वर्षको उमेरमै आठ हजार मिटरभन्दा बढी उचाई भएका संसारका १४ वटै हिमाल सबैभन्दा कम उमेरमा आरोहण सम्पन्न गर्नु भएका मिङ्गमा अहिले सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसदका रुपमा रहनु भएको छ ।

विश्वको दोस्रो ठूलो केटु हिमाल पहिलो पटक हिउँदयाममा आरोहण गरेर पनि कीर्तिमान कायम गर्नुभएका मिङ्गमा ग्याबुले अहिले जारी रहेका संसदको बजेट अधिवेशनको छलफल जारी रहेको अवस्थामा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पनि पाउनुभएको छ ।

कान्छा आरोही

सोलुखुम्बुको थुलुङ दुधकोशी लोखिमका १६ वर्षिय छिरिङ पासाङ शेर्पाले आफ्नो बाबु तथा आमाको पदचिन्हलाई पछ्याउँदै शिखरमा सफलता प्राप्त गर्नु भएको छ । माउण्टेन बाईक डाउनहिलका खेलाडी छिरिङका बाबु ल्हाक्पा तेम्बा शेर्पाले तीन पटक सगरमाथा चढिसक्नु भएको छ भने आमा डोल्मा लामाले चार वर्षअघि सगरमाथा चढनु भएको थियो ।

अन्य उल्लेखनीय सफलता

पर्वतारोही छुल्दिम आङदोर्जी शेर्पा २५ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भए छन् । यसैगरी अर्का पर्वतारोही पेमाछिरिङ शेर्पाले पनि २५ पटक नै शिखरमा पुगेका छन् । उहाँहरुको पछिपछि रहनुभएका दोर्जी ग्याल्जेन शेर्पाले २४औं पटक आरोहण गर्नु भएको छ । यो सिजनमा पनि नेपालीका साथै विभिन्न देशका आरोहीले विभिन्न कीर्तिमान कायम गरेका छन् ।

दुःखद् अवसान

सगरमाथामा आरोहणकै क्रममा दुःखद् निधन हुनेहरुको सङ्ख्या पनि सानो छैन । सन् २०२५ सम्ममा ३३९ जनाभन्दा बढीको निधन भैसकेको तथ्याङ्क रहेको छ । यसपटक विभिन्न हिमालमा केही आरोहीको दुःखद् निधन हुन पुग्यो । हालसम्ममा सात जना आरोहीको आरोहणका क्रममा ज्यान गएको छ, जसमध्ये सगरमाथामा पाँच जना र मकालु र मकालु दोस्रोमा एक–एक जनाको निधन भएको थियो । सगरमाथाको तेस्रो शिवर नजिकै खाल्डोमा खसेर सोलुखुम्बुको थामेका २१ वर्षीय फुर्बा ग्याल्जेन शेर्पाको निधन भएको थियो ।

यस्तै सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका निवासी दलित समुदायका पहिलो सगरमाथा आरोही ३५ वर्षिय विजय घिमिरे विश्वकर्माको खुम्बु आइसफलमा निधन भएको थियो । सोलुखुम्बुकै गुदेलका ५२ वर्षिय लाक्पा डेन्डी शेर्पाको भने गोरक्षेपबाट सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने क्रममा लडेर निधन भएको थियो । पछिल्लो पटक दुईजना भारतीय आरोहीको सगरमाथा चढेर फर्कने क्रममा दुःखद् निधन भएको थियो । निधन हुनु भएकाहरुमा ५३ वर्षिय अरुणकुमार तिवारी र ४६ वर्षिय सन्दिप ऐरी हुनुहुन्थ्यो ।

अर्बौं राजस्व सङ्कलन

नेपाल सरकारले हिमाल आरोहणका लागि अनुमति प्रदान गरेर करिब एक अर्ब २६ करोड रुपैंया राजस्व सङ्कलन गरेको छ, जसमध्ये सबैभन्दा बढी सगरमाथा आरोहण अनुमतिबाट करिब एक अर्ब आठ करोड रुपैंया प्राप्त भएको थियो । सगरमाथा आरोहणका लागि बिदेशी आरोहीले प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर राजस्व तिर्नु पर्दछ । नेपाली आरोहीले भने प्रतिव्यक्ति एक लाख ५० हजार रुपैंया सरकारलाई बुझाउनु पर्ने नियम रहेको छ ।

नेपालको पर्वतारोहण क्षेत्रले विश्वमा आफ्नो विशिष्ठ पहिचान बढाउँदै दरिलो आर्थिक स्रोत जुटाएर मुलुकको अर्थतन्त्रलाई नै उल्लेखनीय सहयोग गर्दै आइरहेको छ । यस क्षेत्रले आरोहण दस्तुरबापत वर्षेनी सङ्कलन गर्ने गरेको अर्बौं रुपैयाँका साथै सयौं सर्वसाधारणलाई रोजगार दिलाएर उल्लेखनीय कार्य गर्दै आइरहेको छ । हाल लाखौं नेपालीहरु रोजगारका लागि विदेसिएको वर्तमान अवस्थामा पर्वतीय पर्यटन मुलुकमै काम गरेर गुजारा गर्ने माध्यम बनिरहेको छ ।

सहासी पथ प्रदर्शकको परिचय बनाएका नेपाली शेर्पाहरुले असाधारण क्षमताका साथ कठिन चुनौती व्यहोर्दै आइरहेका छन् । पर्वतारोहणका सिलसिलामा ज्यान समेत जानसक्ने जोखिम बारे जानकार हुँदाहुँदै पनि उनीहरुले विश्वका विभिन्न मुलुकका पर्वतारोहीहरुले सपना पूरा गर्न नेतृत्वदायी भूमिका खेल्दै आइरहेका छन् । हिमाल चढ्ने काम खतराजनक भए पनि कीर्तिमानी आरोहीहरुलाई नेपालमा खासै सम्मान तथा सुविधा नभएको आवाज विगतदेखि नै उठ्दै आइरहेको छ । यसका लागि सरकारले नै नीतिगत रुपमा निर्णय लिएर कीर्तिमानीहरुको सम्मानका लागि अग्रसरता लिनु जरुरी भएको महसुस गरिएको छ । कीर्तिमानी आरोहीहरुलाई बिमानस्थल, अस्पताललगायतका सार्वजनिक स्थलहरुमा सामान्य सुविधा मात्र प्रदान गर्न सकिएको खण्डमा उनीहरुले आफूलाई सम्मानीत महसुस गर्नसक्ने अवस्था सिर्जना हुन सक्थ्यो । यसबाट कीर्तिमानीहरु विदेश पलायन हुनबाट पनि रोक्न केही योगदान पुग्न जाने अपेक्षा गर्न सकिन्थ्यो ।

यस वर्ष सगरमाथा आरोहण गर्नेहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनु मुलुकका लागि सकारात्मक उपलब्धि हो । यो वर्षको सफलताले आगामी वर्ष सगरमाथामा आउन चाहनेहरुको सङ्ख्या पक्कै बढ्ने सङ्केत मिलेको छ तर आरोहणको गरिमालाई जोगाउन सरकारले यथोचित नीति तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । सगरमाथामा देखिएको ट्राफिक जामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने देखिएको छ । एकै सिजनमा सफल आरोहीहरुको सङ्ख्या ह्वात्तै बढेपछि सगरमाथा चढन सजिलो छ भन्ने भाष्य स्थापित नहोस् भन्नेतर्फ सचेत हुनुपर्ने अवस्था सिर्जना भएको छ । अब सगरमाथा आरोहण गर्नका लागि आवश्यक मापदण्डको समय अनुसार परिमार्जन गर्नु पर्ने देखिएको छ । यसैगरी हिमालमा सङ्कलन भएका अर्बौं रुपैंयाँ राजस्व हिमालमा आरोहणका सिलसिलामा निधन भएकाहरुको परिवारको उचित जीविकोपार्जन साथै हिमाली क्षेत्रको तत्काल आवश्यकता अनुसारका क्षेत्र विकासमा खर्च गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

सगरमाथा आरोहणको मौसम समाप्त भैरहेको अवस्थामा आरोहीहरु सुखद सम्झना लिएर विश्वका विभिन्न कुनामा रहेका आआफ्ना घर फर्किदै छन् । उनीहरुको माध्यमबाट विभिन्न देशमा पुगेका सगरमाथाका जीवन्त तस्बिर र भिडियोले नेपालको प्राकृतिक सौन्दर्यप्रति आकर्षित हुनेहरुको सङ्ख्या अझै बढ्न जाने सहजै अपेक्षा गर्न सकिन्छ । यस सन्दर्भमा यसपालिको बसन्त ऋतु अन्यन्त सफल सिजन बन्न गएको अनुभव गरिएको छ तर सगरमाथाको साखलाई यथावत राखेर यसलाई फोहरको डङ्गुर बन्न नदिनेतर्फ पनि सचेतता महत्वपूर्ण मानिएको छ । आरोही टोलीले सगरमाथाको आधारशिविरका साथै विभिन्न उचाईमा स्थापना गरेका शिविरमा उत्पन्न गरेको फोहरको उचित व्यवस्थापनका लागि सम्बन्धित सबैले सक्रियता जनाएर सगरमाथाको वातावरणीय स्वच्छता कायम गर्न एक्यबद्धता जनाउनु जरुरी ठानिएको छ ।

Related Articles

Back to top button