२०२६ को गोर्खा कप २४ओं संसकरणमा ५६ टिम प्रतिस्पर्धामा

लण्डन। आइतबार १७ मे २०२६ मिचेटस्थित तमुधिं यूके भवनमा आयोजित एक पत्रकार सम्मेलनमा बिगतका बर्षमा भन्दा थप आकर्षकका साथ गोर्खा कप हुने जानकारी कार्यक्रम संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपक घलेले दिएका छन्।
तमुधिं युकेका अध्यक्ष जुमकाजी गुरङको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन सस्थाका महासचिव डा. बिशाल गुरङले सन्चालन गरेका थिए। पुर्व अध्यक्ष मेजर जिसिओ लाल बहादुर गुरुङ लगायत अन्य दिवंगत सदस्यको स्मरणमा मौन धारण गरिएको थियो।
वरिष्ठ उपाध्यक्ष परशु गुरङको स्वागत मन्तब्य पछि, संयोजक दिपक घलेले स्थापना काल देखि २४ओं सस्करणमा आईपुग्दा बिभिन्न कुरामा परिमार्जित गर्दै आएको र मुख्य उद्देश्य नेपाली युवामाझ खेल विकास, भेटघाट, लागूऔषध लत न्यूनीकरण, स्थानीय समुदायलाई सहयोग, स्थानीय समुदायसंग समायोजन रहेको जनाए ।
सन् १९९६ मा ७ ए साइडबाट शुरु गोर्खा कप २४ औं संस्करण आइपुग्दा ९ ए साइड र वृहत रुपमा स्थापित भएको बताएका छन्। गोर्खा कप नेपालभन्दा बाहिरको सबैभन्दा ठूलो नेपाली इभेन्ट भएको पनि घलेले जानकारी दिए ।
यसपटकको संस्करणमा टिम सहभागिता बढाएर ३८ मेन, भेट्रान १६ र महिला २ गरि ५६ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिएका छन् ।
मेन वीनरलाई ३ हजार ५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २००० पाउण्ड, भेट्रान वीनरले १८०० पाउण्ड एवं रनरअपलाई १८०० पाउण्ड साथै महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने उनले बताए । ‘लिजेन्ड अफ द गोर्खा कप’ उपाधि पनि दिइने छ ।
ब्रिटिश आर्मी, स्थानीय काउन्सिल र मिडियाहरुसंग समन्वय गरि यसलाई सफल बनाउन संस्था कटिवद्ध रहेको उनले बताए । बिहान ९ बजेबाट खेल शुरु हुनेछ भने राती ८ बजे समापन गरिसक्ने तमुधिं यूकेको योजना रहेको छ । प्रवेश शुल्क ५ पाउण्ड तथा कार, मिनीबस पार्किङ १० एवं कोचको पार्किङ शुल्क १५ पाउण्ड तोकिएको छ । उनले कुल २२ हजार टिकट छापिएको पनि बताए । अनलाइनमार्फत पनि टिकट खरिद गर्न सकिनेछ ।
तमुधिं यूकेले यसपटक इभेन्टका लागि झण्डै ३ लाख ५० हजार, ६५० पाउण्ड बढी खर्च हुने जनाएको छ । गोर्खा कपमा खाना, च्यारिटी, लत्ताकपडा, आइसक्रिम आदि गरेर १२६ स्टल रहने पनि घलेले जानकारी दिए । यसपटक बालबालिकाका लागि विशेष खेल र फन फेयर समेत समावेश गरिएको छ र टिकट ३ देखि ५ पाउण्ड सम्म हुने बताएका छन्।
गोरखा कपमा खेल मात्र नभै नेपालीहरुको भेटघाट् र गोर्खा मेला नै हुने भन्दै सबैको सुरक्षाको लागि अल्कोहल पिउन, ड्रोन उडाउन र हतियार विक्री वितरण वा बोक्न प्रतिवन्ध हुनेछ। गोर्खा कपमा नेपालबाट अतिथी खेलाडीहरु ल्याउन नसकिएपनि स्कटल्याण्डमा अण्डर १५ खेलिरहेकी नेपाली खेलाडी मेलिसा रेग्मी सहभागी हुने घलेले जनाए ।
मिडिया सेक्रेटरी एसके गुरुङले सहभागी मिडियाकर्मीहरुको परिचय दिएका थिए । सम्योजक घलेले मिडियाकर्मीको प्रचार प्रसारमा ठुलो भुमिका रहेको बताउदै प्रायोजक, सहयोगी, तमुधिं यूके पदाधिकारी लगायत सबैलाई धन्यवाद दिंदै, युवाहरु पनि कार्यक्षेत्रमा समाबेश गराउंदै गोरखा कपलाई जीवन्त राख्न मद्दत पुग्ने भन्दै पत्रकारहरुको प्रश्न उत्तर दिदै गोर्खा कप सफल पारिदिन अनुरोध गरे ।
पत्रकार सम्मेलनको अवसरमा, आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूहलाई ४० वटा मफलर हस्तान्तरण गरेकी थिइन् । आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र वहांको टिमले मफ्लर ग्रहण गरेका थिए।
कार्यक्रममा पूर्व स्पोर्टस् सेक्रेटरी क्याप्टेन देव घले, ह्याम्पसायर इकाइ अध्यक्ष, महासचिव डा. विशाल गुरुङ लगायतलाई सस्थाबाट पनि सम्मान गरेका थिए।
पत्रकार सम्मेलनमार्फत टिम ड्र समेत गरिएको छ । हिराप्रसाद गुरुङ, कुमार घले र दिवान गुरुङले टिम ड्र गराएका हुन् । कार्यक्रममा सचिव विमल गुरुङले धन्यवाद दिंदै प्रायोजकहरुबारे जानकारी दिएका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु कमल गुरुङ, हरि गुरुङ, ज्ञाम गुरुङ, हितकाजी गुरुङ, रामचन्द्र गुरुङ (सूर्जे), ट्रष्टी सूर्य गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमति कमलादेवी गुरुङ, बिभिन्न ईकाईका अधयक्ष, सस्थाकी सस्थापक आमा समुहकी अधयक्ष पुनम गुरङ, स्याङजा समाज युकेका सस्थापक अध्यक्ष, निवर्तमान अधयक्ष आमा समुहकी पार्वती गुरुङ लगायत पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रम सफल पारिदिन विनम्र अनुरोघका साथ सबैलाई धन्यबाद दिएका थिए।





