धनकुटाको मुलघाटमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

धनकुटा,१३ कार्तिक । धनकुटाको मुलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा आज बिहान करिब २ः३० बजे ट्रक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने केमिकल बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० देखि ५० फिट तल खसेको थियो ।
दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ निवासी २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।
घाइते दुवैलाई प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । प्रहरीका अनुसार चालकको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।




