राजनीति

धनकुटाको बिकासका लागि एमालेको प्रतिबद्धता सार्वजनिक

धनकुटा,१४ माघ ।आसन्न निर्वाचनको लागि नेकपा (एमाले) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका राजेन्द्र कुमार राईले जिल्लाको समग्र विकास, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।

बुधबार पत्रकार सम्मेलन गरेर बिज्ञप्ति जारी गर्दै आफ्नो घोषणा पत्रको सारंश सार्बजनिक गरेको हो ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा उम्मेदवार राईले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभएको छ।
धनकुटामा घर–छेउमै सुविधा सम्पन्न स्वास्थ्य संरचना निर्माण गरिने, प्रदेश सरकारसँग समन्वय गरी अस्पताल तथा शैक्षिक संस्थाको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विज्ञप्तिमा धनकुटा जिल्लामा कृषि उत्पादनलाई व्यवसायिक बनाइ किसानको आय वृद्धि गरिने, अदुवा, अलैंची, चिया, कफी, तरकारी र फलफूलको उत्पादन, प्रशोधन तथा बजारीकरणमा जोड दिइने उल्लेख छ।
कृषकलाई अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, आधुनिक सिँचाइ तथा प्रविधि भित्र्याइने योजना पनि सार्वजनिक गरिएको छ।

पर्यटन प्रवर्द्धनतर्फ हिले, पाख्रीबास, नाम्जे, भेडेटार, राजारानी ताल, छिन्ताङ, मध्यमाञ्चलका धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकास गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिने जनाइएको छ।

साथै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत आधुनिक सडक, खानेपानी, सञ्चार र ऊर्जा परियोजनालाई प्राथमिकतामा राखिने, अलपत्र परेका विकास आयोजनाहरू सम्पन्न गरिने उल्लेख छ।

युवालाई रोजगारी र स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ।
उम्मेदवार राईले लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा मतदातालाई सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा उम्मेद्बार राईले पार्टीले भोलिबाट चुनाबी अभियान शुरु गर्ने विषयमा जानकारी दिनुभयो । पार्टीका अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेका समानुपातिक उम्मेद्बार तारा तितुङ लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Back to top button