लेख

शक्ति सन्तुलन, प्रतिस्पर्धा कि भागवण्डाबाट मुलुक

- ठाकुर प्रसाद बराल

(१) एउटा सम्झना:

वि सं २०१८ सालमा मेरो पिताजीसंग विहान ३ बजेको समयमा घरबाट धनकुटा तर्फ हिडेर जादैथियौ बोधेको चौबाटे भन्ने ठाउमा पुग्दा अलि परैबाट निक्कै हल्ला सुनियो । हामी एउटा बुटामा लुकेर हल्लाको गतिविधि हेर्यौ । एकहूल मानिसहरू हात हतियार बन्दुक गोलि गठ्ठा सहित बाटोको बिचमा थिए ।

उनीहरूले कसैको घरबाट गरगहना लुटेर ल्याएका रहेछन् । त्यो लुटिएको सामान मध्ये एउटा राम्रो सुनको ओठी पनि रहेछ । त्यो औठीमा सबैको आँखा परेको रहेछ । त्यो कसको भागमा पार्ने भनेर तिनीहरू बीच कुस्ती परिरहेको रहेछ । निक्कै घमासान पछि तिनीहरू मध्ये एउटा बलियोले खोसेर भाग्यो कमजोरहरू मिलौ मिलौ भन्दै पछि लागे । बाटो खालि भयेपछि हामी बाबुछोरा पनि आफ्नो बाटो लाग्यौ । पछि बुझदा तिनीहरू तत्कालीन दलका नेताहरू रहेछन् । त्यो दृष्य देखेको मेरो वाल मस्तिष्कमा दलीय व्यवस्था प्रति खासै रस बिझेन । अहिले पनि दलहरूले उचित न्याय गर्ने प्रणाली विकास गर्न सकेको देख्दिन।

(२) पूर्व राजाको वार्गेनिङ:

पूर्व राजा ज्ञानेन्द्रले ९ वर्ष अगि दशैँको मौका मिलाएर आफ्ना ७ वुँदे प्रस्ताबहरु भित्र शक्ति सन्तुलनका आधारमा अव मुलुकलाई अगाडि लानु पर्ने धारणा राखेका थिए । उनले शक्ति सन्तुलनको जुन मुद्धा उठाएका थिए त्यो उनको मानसपटलबाट उत्पन्न नभई यहाँका राजनीतिक दलका क्रियाकलापबाट उत्पन्न गलत मानसिकताकै उपज थियो । अहिले दलहरूको गलत कामले गर्दा राजाको वार्गेनिङ पावर बढेको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिक दलका १० वर्ष भित्रका सम्पूर्ण काम कार्यवाहीबाट दिव्य ज्ञान प्राप्त यो भयो कि नेपालका अहिलेका सम्पूर्ण राजनीतिक खेलहरु भागवण्डाका नियमहरुबाट परिचालित छन् ।

(३) दलहरूका गलत काम:

सत्तासीन राजनीतिक दलहरुका आफ्ना कुनै नीति छैनन्, कार्यक्रम छैनन्, योजना र दिव्यदृष्टि छैनन् । यस्तो अन्योलको अवस्थामा नारायणहिटीबाट अपमानित रुपमा बर्हिगमित भई नागार्जुनको जंगलमा अघोषित कैदमा जीवन गुजारा गरिरहेका शक्तिहीन पूर्व राजाको यो साहस राजनीतिक दलहरुका किंकर्तव्यविमूढ दूरावस्थाबाटै सिर्जना भएको हो ।

जव जब मानिस शक्तिशाली हुन्छ उस्ले प्रतिस्पर्धालाई रोज्छ र अरुलाई प्रतिस्पर्धाबाट आफूलाई पछार्नका लागि लल्कार्छ । यो अवस्था अस्तिसम्म पनि राजनीतिक दलहरूले राजालाई नेताहुने भये चुनाव जितेर आउ भनेर शक्तिको बलमा हुङ्कारी रहेका थिए । राजालाई हुङ्कार गर्नेहरू आजकाल जेन्जी,रवि, हर्क, बालेनको हुङ्कारको दपेटामा परेर सुशीला माताको शरणमा छन् । केपी र देउवा न्यायालय आश्रय थलो भयेको छ ।

(४) न्यायालयको आश:

दलहरूले न्यायालयले संसद पुनर्स्थापना गरिदेला र आफू सत्ता फेरि पुगेर गुमेको बर्चस्व फिर्ता ल्याउन सक्ने झिनो आशा बोकेका छन्। वैधानिक बाटो त त्यही हो ।

तर जसले ब्यबस्था चल्न कुनै एउटा पद्दतिको खाचोको महशुस गरेनन् । त्यसैले सबैले उनीहरूले जस्तै हाटहुटले सत्ता ढल्ने रहेछ भन्ने दलसूत्र पत्ता लगाए र उनीहरूको खोयाको घर एकै रातमा भताभुङ्ग बनाइ दिए । तिनले पद्दति र व्यवस्थाको वकालत गर्न कति सुहाउला?

(५) भागबन्डी कमजोरको अस्त्र:

सन्तुलन तथा भागवण्डी भनेको कमजोर मानिसको अस्त्र हो । नेपालका राजनीतिक दलहरु आफ्ना नीति, कार्यक्रम, उद्देश्य र चिन्तनमा गरीब, निरीह र वेकम्मा हुँदै गए । नेपालका हरेक क्षेत्रमा राजनीतिक दलहरुले भागवण्डी लगाए । व्यक्ति व्यक्ति, गाउँ गाउँ, सहर सहर जस्तै यहाँका प्रत्येक चीज वस्तुहरुलाई राजनीतिक दलहरुले आआफ्ना भागमा वाड्ने नीति बनाए । यहाँका प्रत्येक चीज वस्तु र मानिसलाई स्वविवेकमा चल्न र प्रतिस्पर्धाबाट माथि आउन राजनीतिक दलहरुले

निषेध गरे । कुनै एउटा योग्यतम मानिस आफ्नो योग्यताका आधारमा होइन नेताको चाकडी चाप्लुसी र चाटुकारिताका आधारमा राजनीतिक दलको सदश्यता लिएको नातामा कुनै विशिष्ट पदमा पुगे ।

(६) विश्व विद्यालय राजनीतिक अखडा:

मुलुकको श्रेष्ठतम विद्वत्वर्गको अखडा विश्वविद्यालयहरुका प्रत्येक पदहरुमा राजनीतिक दलका कार्यकर्ता भएका कारण भागवण्डीका आधारमा राजनीतिक लठैतहरुलाई वर्षेनी नियुक्ती गरिए । लोक सेवाले गर्ने वाहेकका प्रत्येक नियुक्तीहरु एक न एक राजनीतिक दलको दवाबबाटै हुने गरे । निष्पक्ष सेवा दिनु पर्ने कर्मचारीतन्त्रमा सरुवा वढुवा तथा योग्यताको निरुपण राजनीतिक भागवण्डा कै आधारमा हुने गरे। अरु त अरु, स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा स्वास्थ्यकर्मी उत्पादनका लागि आएका विदेशी कोटाहरुमा पनि राजनीतिक दलका नेताहरुका छोरा छोरी पठाइयो।

(७) कार्यालयमा अखडा:

माल पोत, राजस्व, कर जस्ता राजस्व उठाइने क्षेत्रमा आफ्ना कार्यकर्ता पार्नका लागि राजनीति दलको होड चल्यो । प्रत्येक वर्ष सरकारले घोषणा गर्ने वजेट व्यवस्था पनि राजनीतिक दलले आफ्ना कार्यकर्ता कसरी खुसी वनाउने भन्ने दूषित मनसायबाटै प्रेरित भये । राजनीतिक दलका कार्यकर्ता भएका कारण कर्मचारीहरु जनता प्रति नभई आफ्ना मालिकप्रति नै जवाफदेहिता निभाइरहेका हुन्थे।

व्यापार व्यवसाय पनि राजनीतिक दलकै भागवण्डीको वोलवाला रह्यो । कृषकलाई अनुदान तथा सुविधाहरु दिंदा पनि आफ्ना कार्यकर्ता परेकी परेनन् भन्ने नै मापदण्ड हुने गर्दथ्यो । यातायात जस्तो महत्वपूर्ण क्षेत्रमा पनि राजनीतिक दलको सेन्डिक्रेसी राज अझै चलिरहेको छ ।

(८) जताततै घुस:
मुलुक भ्रष्टाचारको दलदलमा भासिएको छ । हिजो यातायातका साधनका लाइसेन्स लिन एक हजार घूस लिएर यातायात व्यवसायको कार्यालयमा पुग्दा सजिलै लाइसेन्स प्राप्त हुन्थ्यो भने आज घूसको पनि भाउ बढ्यो एउटा मोटर साइकलको लाइसेन्स लिन १५ हजार रुपैयाँ मात्र पर्याप्त छैन धेरै पटक यातायात कार्यालयमा धाउनु पर्छ । यो मोटर साइकलको मात्र उदाहरण हो अरु साधनको घूस दशैंमा खसीको मोल मोलाई जस्तै हुने गर्दछ ।

कुरो घूस कै छ फरक यस्को भाउ वढेको मात्र हो । घूस प्रतिनिधिहरुको विगविगि भयो जताततै ती प्रतिनिधिहरु पनि राजनीतिक दलको भागवण्डा प्रणालीकै उपज हुन् । भ्रष्टाचार हुँदैन भन्ने कुनै ठाउँ र कार्यालय छैनन् । निर्माण व्यवसायमा पनि प्रतिस्पर्धा नाम मात्रको हुने गर्दछ । निर्माण व्यवसायीहरु पनि राजनीतिक दलको भागवण्डाका आधारमा विभाजित भयेका र प्रतिस्पर्धा कुन चराको नाम हो अव देख्न पाइदैन ।

(९) भागबण्डाले मुलुक अस्त व्यस्त:

राजनीतिक दलका आधारमा निर्माण व्यवसायी, प्राविधिक, निर्माणको जिम्मा पाएका कर्मचारी तथा त्यसको मूल्यांकन गर्ने राजनीतिक दलका प्रतिनिधिहरु सवैमा भागवण्डा नै चल्ने हुँनाले मुलुकका विकास निर्माणका संरचनाहरु कमजोर र कमसल हुँदैगए । काममा ढिलासुस्ती भये ।

मानिस आफ्नो योग्यता, खुवी र क्षमता प्रति गौरव गर्दैन ऊ अमुक अमुक राजनीतिक दलको निकट, त्यसमा पनि गुटको निकट र त्यसमा पनि नेताको निकटका रुपमा आफू प्रभावशाली र योग्य भएको ठान्न थाल्यो। ऐन, नियम, कानून कमजोरका लागि मात्र भएका छन् । उहिले पंचायतकालमा नेपालको कानून राजाले मात्र जानून् भन्ने व्यंग्य चर्चित थियो । अहिले त्यो उखान तथा व्यंग्य कानून निरीहले मात्र जानून् भन्ने भइसकेको छ ।

गणतन्त्र मुखको कानूनले चल्ने व्यवस्था होइन । गणतन्त्र विधि, नियम, पद्दति तथा प्रतिस्पर्धाका आधारमा चल्ने व्यवस्था हो । राजनीतिक दलहरुले गणतन्त्रलाई गनतन्त्र बनाए । विधि, नियम, पद्दति तथा प्रतिस्पर्धा त निर्धा निमुखा र सोझाका वीचमा मात्र हुने गर्दछ ।

(१०) सोझा सधै पछाडि:

आरक्षण सोझा, निमुखा र पीछडिएका वर्गका निम्ति हुनु पर्नेमा राजनीतिक दलहरुका टाठावाठाका लागि भर्याङ् वन्यो। निमुखा, पीछडिएका र सोझाहरु आफ्नो धरातलबाट माथि उठ्न सकेनन्।

अरूकुरा छोडि दिउ केही कुरा मौरी काड्नेले हात चाट्छ भन्न मिल्ला । तर स्वतन्त्र रहेर निष्पक्ष न्याय दिनु पर्ने ठाउमासम्म दलका कार्यकर्ता विना प्रतिस्पर्धा भेडा किनेर खोरमा हुले जस्ता न्यायाधीशले (यद्यपि कतिपय काबिल पनि छन्) कस्तो न्याय दिइरहेका होलान् ?

न्यायाधीश प्रतिको यही गलत नियुक्ती प्रकृयाकै असन्तुष्ट अभिव्यक्ति थियो सर्बोच्च अदालत जल्नुको कारण । समयमा न्याय नपाएपछि र आफूलाई अन्याय भयो भने पछि मानिसले ज्यान फाल्ने नै भयो । यद्यपि सरकारी कार्यालय र व्यक्तिगत घर जलाउने कामको आन्दोलन होइन अराजकता हो ।

(११) धमिलो पानीमा माछा:

यस्तो अवस्थामा पूर्व राजाले धमिलो पानीमा माच्छा मार्ने काम गर्नु स्वाभाविकै हो । मुलुकलाई भागवण्डीका आधारमा चलाउने कि प्रतिस्पर्धाका आधारमा ? राजनीतिक दलहरुले मुलुकलाई स्वच्छ प्रतिस्पर्धामा लान सकेको भए पूर्व राजाले यसरी बोल्ने साहस नै गर्न सक्ने थिएनन् । पूर्व राजालाई दलहरुले सजिलै जवाफ दिन सक्थे कि प्रतिस्पर्धा गरेर आऊ तिमी अब राजा र बेबी किंगको सपना नदेख प्रतिस्पर्धा गरेर राष्ट्रपति बन्ने अधिकार तिम्रो छ ।

(१२) गोर्खाको गाउ:

गोरखाको एउटा गाउँमा भए पनि पुर्खाको एउटा थलोमा बस्न पाउने नैसर्गिक अधिकार मेरो पनि हो मैले गोरखाको एउटा कुनामा बस्न पाउनु पर्छ र सामान्य नागरिक सरह भएर बस्छु भनिहिंडेका पूर्वराजाले कसरी भाग खोज्दै हिंड्दैछन् ? त्यस बेला राजालाई विदेश लखेट्नुपर्छ भन्ने आन्दोलनकारीको आवाज विरुद्धमा मैले जनआस्थामा एक लेख मार्फत राजालाई लखेट्नु हुदैन उसलाई उसको पुर्खाले आर्जन गरेको गोरखाको एक गाउमा सुरक्षित बस्न दिनु पर्छ भन्ने वाकयबाट प्रभावित भयेर त्यो कुरा भनेका थिए । त्यति बेला मैले राजाको सम्पत्तिलाई विदेश पलायन हुन दिनु हुदैन भनेर लेखेको थिये ।

(१३) कामको समीक्षा:

राजनीतिक दलहरुले इतिहास हामीले पढेकै हो भनेर ओठे जवाफ दिंदैमा जनताले पत्याउदैनन् । राजनीतिक दलहरुले आफ्नो कामको समीक्षा गर्न ढिलो मात्र होइन, समय नै वितिसक्यो। अब पूर्व राजालाई गाली गर्दैमा र पुराना कुरा कोट्याएर मात्र जनता मान्छन् भन्न सकिन्न । गणतान्त्रिक नेपालका जनताले यो २० वर्षमा साँच्चि नै के पाए ? खोजी नीतकै विषय हुन सक्दैन र ? पूर्व राजाले गरेका प्रश्नको जवाफ राजनीतिक दलहरुले नदिइरहन मिल्छ र ? सबै आफ्ना कार्यकर्तालाई दशैंको मासु भाग लगाए जस्तो भागवण्डी लगाउँदै हिंड्ने अनि पूर्व राजाले भागवण्डा माग्दा पन्सिएर बस्ने साहस निरीह र लाचार छायाँ मात्रका रुपमा रहेका दलहरूमा नैतिकता छ?

(१४) गोलमेच सम्मेलन:

अब राजनीतिक दलहरूले २०६२/६३को आन्दोलनमा राजालाई के कुन सम्झौता गरेर दरबारबाट हाँस्दै हाँस्दै बाहिर निस्कन राजी गरिएको थियो? सधै धोका र छलछामको राजनीति उपयोगी हुदैन। राजा , दल जेन्जी समेतको गोलमेच सम्मेलन गरेर निकाश निकालेर मुलुकलाई शान्तिपूर्ण बनाउनु पर्छ सधै विदेशी षड्यन्त्र भनेर मुलुकलाई वलिको बोको बनाउन पाइदैन ।

– धनकुटा, हालः भर्जिनिया अमेरिका

Related Articles

Back to top button