प्रवाससमाचार

युकेमा चासोक तङनाम सम्पन्न

२१ नाेभेम्बर, आसफाेर्ड । युमा साम्यो महासभा युकेद्वारा तक्सोक थिसोक फिम्मा तथा चासोक तङनाम कार्यक्रम एक मंसिर २०८२ तद्नुसार १७ नोभेम्बरमा आसफोर्ड केन्टको साइमन चर्च सभाहलमा सम्पन्न गरेेकाे छ ।

शुरुमा घर वाहिर गरिने पूजाहरु हाङदे माङदे गालि सराप) कुईकुदाप/ताप्फेङ, मिसेक पूजाहरु गरिए । त्यसपछि घरभित्र गरिने पूजा युमा/हिमसाम्माङ पुजा गर्दै तक्सोक थिसोक फिम्मा गरियो । पूजा येवा दल वहादुर फुरुम्वो, तेज वहादुर ताप्मादेन र येगाप्चिवा दिलेन्द्र लावुङद्वारा गरिएको थियो ।

पूजाको कार्यक्रम पछि औपचारिक कार्यक्रम गरियो । साम्योको अध्यक्ष दिल पालुङवा याक्थुङको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सह-सचिव सानु सुव्वाले गर्नु भएको कार्यक्रममा सेफ्टि व्रिफिङ मेडिया सचिव लाहाङ चेम्जोङ, स्वागत मन्तव्य उपाध्यक्ष हरिभक्त आङवुहाङ गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन पानसमा दियो वालेर अध्यक्ष दिल पालुङवा याक्थुङ र प्रमुख अतिथि खड्ग वहादुर वनेम लिम्वुद्वारा गरियो भने उद्घाटन नाच केलाङ पनि नाचिएको थियो ।

युमा साम्याे महासभा यूके अध्यक्ष दिल पालुङ्वा ।

तक्सोक थिसोक फिम्मा र चासोक या न्वाँगि वारे अर्थ सचिव जय मादेम्वाले प्रकाश पार्नु भएको थियो । शुभकामना मन्तव्यको साथै युमा साम्योवारे, १ मंसिरमा तङनाम मनाउने कारण वारे सल्लाहकार नरेन्द्र मावोहाङलले बताउनु भयो । अतिथि चुम्लुङ अध्यक्ष कमला सेन्दाङले चासोक तङनामको शुभकामना व्यत्त गर्दै सह्राना गर्नु भएको थियो । प्रमुख अतिथि तुम्याङ खड्ग वहादुर वनेम लिम्वुले युमा साम्योले आफ्नो परम्परा मान्दै आएकोमा सवैले साथ र सहयोग दिनु पर्ने वताउनु भयो ।

विशेष अतिथि येवाद्वय दल वहादुर फुरुम्बो र तेज वहादुर ताप्मादेन रहनुभएको थियो । अतिथिहरुमा कियाचु आसफोर्ड शाखा अध्यक्ष सुन्दर लिङथेप, किरात धर्म तथा साहित्य उत्थान संघ युकेका प्रतिनिधि पर्वत राई, कियाचु थामेन्दिङ सचिव शुभ नेम्वाङ, कियाचु वेन्छा अध्यक्ष हाङमा लावती, लिम्वुवान नागरिक समाज युके अध्यक्ष छत्र वनेम, सगरमाथा नेपालि कम्युनिटिका अध्यक्ष मोहन सोदेम्वा, निवर्तमान अध्यक्ष तथा समाजसेवी डम्मर सिंगक, ताप्लेजुङ युके युवा समाज सचिव प्रकाश एडि चङवाङ, याक्थुङ चुम्लुङ संस्थापक , वर्तमान अध्यक्ष तथा साम्योको सल्लाहकार लोकेन्द्र तवेवुङ, वुद्धिजीवि समाजसेवी काजीमान यक्सो, समासेवी, लेखक कृष्ण कुमार हेम्या, नेपालवाट आउनु भएका कलाकारद्वय कञ्चन थलङ र पदम राई लगायत रहनु भएको थियो । बाेलाइएकामध्ये सत्तेहाङ समाज युके लगायत केही संघ संस्थाहरुको भने उपस्थिति रहेको थिएन ।

नेपालवाट आउनुभएका कलाकारहरुलाई सिलाम साक्मा लगाएर र प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रममा याक्थुङ परिकार हुक्वा ल्याउने, सहयोग गर्नेहरुको सविस्तार नामवली प्रस्तुत अर्थसचिवले सुनाउनु भयो ।

अध्यक्ष दिल पालुङवा याक्थुङले याक्थुङहरुले परम्परागत रुपले मान्दै आएको संस्कार संस्कृतिलाई युकेमा पनि जिवन्त रुपमा मान्दै जान र भावी पुस्तालाई हस्तन्तरण गर्ने उद्येष्य युमा साम्योको रहेकोले सबैले साथ दिन आग्रह गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमपछि साँस्कृतिक कार्यक्रम साँस्कृतिक सचिव भगवती थलङले सञ्चालन गर्नु भएको थियो । केलाङ, पालाम, यालाङ, तुवा ताम्के, हाक्पारेको बेजोड प्रस्तुति रहेको थियो ।कमल अन्छङवोले हाक्पारे, तुवा ताम्केको मूख्य भूमिका निर्वाह गर्नु भएको थियो भने केलाङ दिलेन्द्र लावुङ र पालाम दिल लावुङले अगुवाई गर्नु भएको थियो । अन्य कलाकारहरुमा भगवती थलङ, रितु नाल्वो, धन कुमारी केदेम, नुमा सिगु, जितमाया थलङ, पवित्र लिङखिम, कमला लावुङ , प्रकाश एडि चोङवाङ, चन्द्र आङवुहाङ आदि रहेका थिए । कार्यक्रमको अन्त्यमा कलाकारद्वय पदम राई र कञ्चन थलङको प्रस्तुति र लाईभ यालाङपश्चात कार्यक्रम सम्पन्न भएको थियो । समग्रमा युकेमा पनि मौलिक पद्धतिमा धार्मिक अनुष्ठान र साँस्कृतिक कार्यक्रम बेजोडकासाथ सम्पन्न भएको थियो ।

Related Articles

Back to top button