समाचार

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरु

म्याग्दी, अक्टोबर २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक अपाङ्गता भएका पर्यटकहरु पुगेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढेको अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै अपाङ्गता भएका व्यक्तिहरुले आधार शिविरसम्मको भ्रमण गरेका हुन् ।

अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा ६ प्रकारका अपाङ्गता भएका ९ जनाले यही कात्तिक ५ गतेदेखि नारच्याङको हुमखोलादेखि सुरु गरेको पदयात्रा कात्तिक ८ गते आधार शिविर पुगेर फर्किएको सञ्जालका सचिव विशाल विकले जानकारी दिए । नारच्याङदेखि हुमखोलासम्म सवारी यात्रापछि २२ किलोमिटर दूरीको पदमार्गमा पैदल यात्रा गरेर उनीहरुले अपाङ्गतामैत्री अन्नपूर्ण पदयात्रा गरेका हुन् । करिब १८ घण्टाको पदयात्रापछि चार हजार ५० मिटरको उचाइ रहेको पञ्चकुण्ड ताल हुँदै आधार शिविर पुगेको पदयात्रामा सहभागी गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विकले बताए ।

पदयात्रामा शारीरिक अपाङ्ग भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रूपमा बन्दना राई सहभागी थिए ।अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्न पदयात्रा गरिएको सञ्जालका अध्यक्ष विकले बताए । पदयात्राको उद्देश्य अनुसार सफलता हासिल भएको उहाँको भनाइ छ ।

पदयात्रामा सहभागी भएका अपाङ्गता भएका पर्यटकहरुले पदमार्ग, होटल लगायतका पूर्वाधारहरु अपाङ्गतामैत्री नभएकाले आगामी दिनमा संरचना निर्माण गर्दा अपाङ्गतामैत्री बनाउन आबश्यक रहेकोमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । टोलीमा सहभागीहरुले आफ्नो पदयात्रामा निस्किएका फोहोरका सामान समेत आफै व्यवस्थापन गरेर सकरात्मक सन्देश प्रवाह गरेका थिए । टोलीमा सहभागी बासु थकालीले साँकेतिक भाषामा अन्नपूर्ण आधार शिविर क्षेत्रमा फोहोर देखिएको भन्दै हरेक पदयात्रीहरुले आफुले लगेको फोहोरलाई आफैले झोलामा फर्काएर व्यवस्थापन गर्न अनुरोध गरेेका थिए ।

Related Articles

Back to top button