समाचार

लिम्बु पत्रकार पुरस्कार काेषमा सवा चार लाख बढी सङ्कलन

एक सुका अभियान तीन महिना थप

१६ सेप्टेम्बर, विजयपुर । लिम्बु पत्रकार सङ्घ सुनसरीले स्थापना गरेको पुरस्कार काेषमा सवा चार लाख रूपैयाँ बढी सङ्कलन भएको छ । गत असार एक गतेबाट सुरु भएको ‘एक सुका अभियान’ अन्तर्गत भदाै मसान्तसम्म साे रकम जम्मा भएको हाे ।

मङ्गलबार बसेको बैठकमा अहिलेसम्मकाे प्रगति विवरण प्रस्तुत गर्दै लिम्बु पत्रकार सङ्घ सुनसरी अध्यक्ष स्वर्णिमहाङ फाेम्वाेले भदाैसम्म काेषमा ४,३१,१४८ रूपैयाँ सङ्कलन भइसकेको जनाए । काेषले पाँच लाख रूपैयाँ सङ्कलन हुनेबित्तिकै पुरस्कार वितरण गर्ने उनले बताए । ‘हाम्रो लक्ष्य तीन महिनामा दश लाख रूपैयाँ जम्मा गर्ने थियौं । तर, अहिलेसम्म विभिन्न दाताहरूबाछ सवा चार लाख रूपैयाँ सङ्कलन भएको छ,’ उनले भने, ‘अब पाँच लाख रूपैयाँ हुनेबित्तिकै पुरस्कार वितरण गर्नेछौं ।

याक्थुङ लिम्बु समुदायको इतिहास, भाषा, संस्कृति, सामाजिक संरचना, राजनीति, अर्थतन्त्र जस्ता महत्त्वपूर्ण पक्षहरूलाई पत्रकारितामार्फत उजागर गर्न पत्रकार पुरस्कार काेष स्थापना गरिएको सचिव टीना चाेङवाङले जनाइन् । पुरस्कार काेषबाट याक्थुङ लिम्बु समुदायबाट एक पुरुष, एक महिला गरेर दुई जना र एक जना गैरलिम्बु पत्रकारलाई पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

एक सुका अभियान गत असार एक गते ताप्लेजुङमा अवस्थित प्रसिद्ध मुन्धुमी स्थल सेमुक्तुगाेक्/मुक्कुमलुङ (पाथीभरा) क्षेत्रबाट सुरु भएको घाेषणा गरिएको थियोे । मङ्गलबारकाे बैठकले अभियानलाई थप तीन महिनासम्म बढाउने निर्णय गरेको छ ।

यसैगरी, धरान-१९ का समाजसेवी एवम् भूतपूर्व ब्रिटिस सैनिक भीम सिरेङले आफ्ना दिवंगत परिवारका सदस्यहरू धनबहादुर, फूलमाया र कृष्ण लिम्बुहरूकाे स्मृतिमा छुट्टै काेष खडा गरेको सङ्घले जनाएको छ । सिरेङले कुल १,०५,५५५ रूपैयाँकाे लिम्बु भाषा पत्रकारिता पुरस्कार काेष स्थापना गरेका छन् । साे काेषबाट याक्थुङ भाषामा पत्रकारिता गर्ने र विभिन्न माध्यमबाट प्रसारण प्रकाशन गर्ने मध्ये एकलाई पुरस्कृत गर्नेछ ।

बैठकमा उत्कृष्ट सहयोगदाताहरू भीम सिरेङ, दिपेश याम्फू, डम्बर तुम्बापाे लगायत पाँच जनालाई सम्मान गरिएको थियोे । साे अवसरमा केन्द्रीय सल्लाहकारहरू वरिष्ठतम् पत्रकार हर्ष सुब्बा, माेहन हुक्पा चाेङवाङ, निलिफा सुब्बा, प्रदीप मेन्याङ्वाे, सङ्गीता सुब्बा, तिर्थ मादेम्बा लगायतको उपस्थिति थियोे ।

Related Articles

Back to top button