समाचार

नेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, २८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत् सबैको साझा भएको बताउनुभएको छ । नेपाल संवत् ११४४ का अवसरमा न्हूुदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको सार्वजनिक सभामा उहाँले नेपाल संवत्लाई मनाउने विषयमा कुनै खालको सङ्कीर्णता देखाउन नहुने बताउनुभयो ।

“नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवार समुदायका बुद्धिजीवी, जनताले लामो सङ्घर्ष गरेको इतिहास छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “केही वर्ष पहिलेसम्म एउटा भ्रम थियो, नेपाल संवत् भनेको नेवारको मात्रै हो । अझै पनि कतिपयलाई प्रष्ट छैन ।”

नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन नेवार समुदलायले गरेको सङ्घर्षलाई उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्ने निर्णय गरेको स्मरण गर्नुभयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा आफूले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको स्मरण गर्दै उहाँले तेस्रो कार्यकालमा नेपाल संवत्लाई कार्यान्वयन गर्ने प्रक्रिया थालिएको बताउनुभयो ।

“यसलाई राष्ट्रिय संवत् मात्रै भनेर पुग्दैन, राष्ट्रिय संवत्का रुपमा नेपाल सरकारका ‘माइन्यूट’ र सबै दस्तावेजमा नेपाल संवत्लाई प्रयोग गर्नुपर्छ भन्ने निर्णय गरियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मलाई खुसी र गर्व छ, सिङ्गो मन्त्रिपरिषद्ले सर्वसम्मत रुपमा पारित गरेको छ, सबै सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्न अनिवार्य गर्ने निर्णय भएको छ ।”

कुनै पनि बहानामा नेपाल संवत्लाई प्रयोग गर्नबाट रोक्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल संवत् सामाजिक न्यायसँग पनि जोडिएको उल्लेख गर्नुभयो । “संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुखतातर्फ पनि यो संवत् र राष्ट्रिय विभूत शङ्खधर साख्वाः सम्बन्धित हुनुहुन्छ । हामीले गर्व गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको र त्यसैबाट उत्प्रेरित भएर रु तीस हजारसम्म ऋण लिएका नेपाली किसानको एकैपटक ऋण मुक्तिको घोषणा गरेको उहाँले स्मरण गर्नुभयो । “वास्तवमा यो शङ¬्खधर साख्वाःप्रति गरिएको सम्मान थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने निर्णय गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो र भन्नुभयो – “मौलिकता, इतिहास, राष्ट्रिय आत्मसम्मान र भावनालाई निरन्तर अगाडि बढाउनुछ । नेपाल संवत्लाई राष्ट्रिय संवत्, शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्दै र यसलाई कार्यान्वयन गर्ने निर्णय गर्दै अगाडि बढेका छौँ । यसले नेपालको राष्ट्रिय एकतालाई अझ मजबुत गर्न मद्दत पुग्ने छ । नेपालको मौलिक यस संस्कृतिलाई विश्वव्यापी बनाउन पनि यसो गर्नु आवश्यक छ ।”

समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्यले सरकार सत्ता र पार्टी मुखी नभई जनमुखी हुनुपर्नेमा जोड दिँदै जनतालाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष बज्राचार्यले रेडियो नेपालले सरकारको निर्णय कार्यान्वयन गर्दै आजको बिहानी प्रशारण शुभारम्भका क्रममा नेपाल संवत्लाई पनि उल्लेख गरेकामा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडाँै महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, जनकवि दुर्गालाल श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र भीमसेनदास प्रधान, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठलगायतको सहभागिता थियो । समारोहमा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको अध्ययन एवं अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएको शङ्खधर साख्वाः राष्ट्रिय प्रतिष्ठान, थिमिलाई रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा प्रकाशित क्यालेण्डर सार्वजनिक गरिएको उक्त समारोहमा नयाँ वर्ष नेपाल संवत् ११४४ आरम्भ भएको खुसियालीमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नयाँ वर्ष आरम्भ भएको खुसीयालीमा आज बिहान वसन्तपुरबाट बाजमगाजासहितको सांस्कृतिक ¥यालीले काठमाडौको भित्रि सहर परीक्रमा गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button