समाचारसाहित्य सिर्जना
Trending

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा दुई सर्जककाे सम्मान

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ पनि सार्वजनिक

१५ फेब्रुअरी, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार बागबजारस्थित हार्दिक होटलमा एक कार्यक्रम आयोजना गरी दुई सर्जकलाई सम्मान गर्दै वरिष्ठ साहित्यकार बैरागी काइँलाको अभिनन्दन ग्रन्थ विमोचन गरेको छ ।

प्रतिष्ठानले हरेक वर्ष नेपाली भाषा साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । यस वर्ष ताप्लेजुङनिवासी राजेश्वर थापालाई सम्मान र सिक्किमनिवासी सन्ध्या सिङजाङगो सुब्बालाई पुरस्कृत गरिएको हो ।

प्रतिभा सम्मानद्वारा सम्मानित अन्वेषक राजेश्वर थापा ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति बैरागी काइँलाले थापालाई सम्मानपत्रसहित रु. ५० हजार नगद र कार्यक्रमका सभापति टंक वनेमले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सुब्बालाई सम्मानपत्रसहित रु. १ लाख नगद पुरस्कार प्रदान गरिएको थियो।

काइलाले सम्मानित र पुरस्कृत सर्जकहरूलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङगो’ को बारेमा चर्चा गरे । उनले भने, ‘नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बु भाषामा सिङजाङगोको अर्थ मगमगाइरहने फूल हो । छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहेकी छिन् ।’

दुई वर्षअघि धरानमा प्रतिष्ठानबाट आफू अभिनन्दित हुँदाको स्मरण गर्दै उनले भने, ‘नागरिक अभिनन्दनको निम्ति म योग्य थिएँ कि थिइनँ, उहाँहरूले योग्य सम्झेर सम्मान दिनुभयो। यसको निम्ति आभारी छु । हिसाब गर्दा पनि कविताको सङ्ख्या तीस जति होला । उमेर धेरै भए पनि काम त्यति धेरै गरेको छैन जस्तो लाग्छ ।’ उनले तेस्रो आयामको कुरा उठाउँदै भने, ‘कविता लेख्दा गाली खाइयो, तर जसको आलोचना हुन्छ ऊ स्थापित हुँदो रहेछ । अहिले पनि केही नेताहरू आलोचित हुँदै स्थापित हुँदैछन् । हाम्रो तेस्रो आयामलाई स्थापित गर्न समालोचक अभि सुवेदीको ठूलो हात छ।’

बैरागी काइला नागरिक अभिनन्दन ग्रन्थका सम्पादक संयोजक प्रदीप मेन्याङ्वाेले काइलाको बारेमा लेख्न जो कोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताए ।

अभिनन्दन ग्रन्थ सार्वजनिक गर्दै बैरागी काइँला लगायत अतिथिहरू ।

पुरस्कृत सर्जक सुब्बाले काइलाबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गरिन् । उनले काइलाबाट एघार वटा मुन्धुमको पुस्तक अनुवाद गर्ने अनुमति पाएको बताइन् ।

सम्मानित सर्जक थापाले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफूले कहिल्यै सम्मानको अपेक्षा नगरी लेखेको बताए । उनले लेखक तथा अनुसन्धानकर्ताहरूको दुःख सुनाउँदै ताप्लेजुङका लिम्बुरूको बारेमा किताब लेखिरहेको जानकारी दिए ।

समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले बैरागी काइँलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताए । उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएको काइँलाका नेपाली कविताका प्रकाशोन्मुख किताब कार्यक्रमका सभापतिलाई हस्तान्तरण गरे । समालोचक अभि सुवेदीले तेस्रो आयामेली चिन्तनको बारेमा चर्चा गरे ।

कार्यक्रमका सभापति टंक वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकहरूलाई प्रोत्साहन दिइरहेको जनाए । जीविकोपार्जनका लागि नेपालीहरू जुन जुन देश पुगेपनि नेपाली भाषा कला संस्कृति भुल्न नसक्ने बताए । कार्यक्रमको सञ्चालन शशी लुमुम्बुले गरेका थिए ।

Related Articles

Back to top button