रसुवा विपद्का मृतकप्रति एनआरएनए यूके र जीआरएनसी यूकेद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

लन्डन। सेप्टेम्बर १ गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोंर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले, नेपालको रसुवासहित विभिन्न जिल्लामा गएको विनाशकारी बाढीपहिरो तथा हिमपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

मंगलबार (सेप्टेम्बर १) साँझ अल्डरशटस्थित प्रिन्सेस गार्डेन्समा आयोजित शोकसभामा प्रवासी नेपालीहरूले प्राकृतिक विपद् मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।
स्थानीय समयअनुसार साँझ ७:१५ बजेपछि सुरु भएको कार्यक्रममा पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर, पंडित गुरु, लामा गुरु, क्रिस्टियन पास्टर, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, जीआरएनसीका अध्यक्ष लिला सेलिंग माबो, स्थानीय उपमेयोर अनि काउन्सिलरहरू, विभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधि र स्थानीय जन समुदायले दीप प्रज्वलन गरेका थिए।
कार्यक्रममा सांसद रानाले, यस अतुलनीय क्षति प्रति गहिरो खेद, समबेदना व्यक्त गर्दै वर्तमान सरकार अहोरात्र खटिएको जानकारी दिदै यस्तो प्राकृतिक प्रकोप जहाँ पनि हुन सकनें भएकोले सबैजना सुसूचित हुनु पर्ने जानकारी दिनु भयो। अन्य वक्ताहरुले पनि प्राकृतिक विपद्ले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनीहरूले विपद्को यस घडीमा नेपाल सरकार, स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमेत संवेदनशील हुनुपर्ने धारणा राखे।

भदौ १० गते तिब्बत क्षेत्रमा आएको हिमपहिरोको प्रभाव चीनसँगै नेपालका रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनलगायत जिल्लामा परेको थियो। उक्त विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्य अझै जारी रहेका छन्।
एनआरएनए यूके, जीआरएनसी यूके लगायत विभिन्न संघ सस्थाले सक्दो छिटो सहयोग संकलन गरि प्रभावित क्षेत्रमा राहत पुर्याउने र पुनर्निर्माणमा आवश्यक सहयोगका लागि पनि प्रवासी नेपाली समुदाय एकताबद्ध रहने प्रतिबद्धता जनाएको छ।




