सस्कृतिकमुलक मुन्धुमी गित सानु सुब्बाको सिसेक्पा तङ्नाम सार्वजनिक

१४जुलाई,बेलायत
किरात याक्थुङ लिम्बु समुदायको मौलिक संस्कार, मुन्धुम र इतिहासलाई जीवन्त राख्न सानु सुब्बाले ‘सिसेक्पा तङ्नाम’ सम्बन्धी विशेष सांगीतिक भिडियो सार्वजनिक गरेका छन् ।

लिम्बु समुदायमा प्रकृति र ऋतुअनुसार चारवटा महान् पर्वहरू मनाउने गरिन्छ। जसमा खेतीपातीको समयमा मनाइने यक्वातङ्नाम (उभौली), अनिकालबाट जोगिएको खुसीयालीमा मनाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ति), नयाँ अन्नबाली पाकेपछि प्रकृतिलाई चढाइने चासोक थिसोक् र कन्दमूल खनीखानीखाइने कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) रहेका छन् ।
विशेषगरी प्रवासमा रहेका लिम्बु समुदाय र भावी पुस्तालाई आफ्नो पुख्र्यौली पहिचान, संस्कृति र मुन्धुमका बारेमा जानकारी दिने उद्देश्यले यो ’मिक्तोक’ अर्थात् सानो प्रयास गरिएको सुब्बाले बताए । प्रबासको व्यस्तताका बाबजुद पनि आफ्नो मौलिकतालाई संरक्षण र सम्वद्र्धन गर्नका लागि सिसेक्पा तङ्नामको मुन्धुमी पक्षलाई गीतका माध्यमबाट उतार्न खोजिएको उनले उल्लेख गरे ।
यस विशेष सांगीतिक सिर्जनामा चर्चित गायक राजेश पायल राई, सुनिता संयोक लिम्बु, दीपा सुहाङ र मुन्धुमी गायक यासेली योङहाङको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम अशोक लोहोरुङ राईले गरेका छन् भने भिडियोको निर्देशन लोकेन साबा लिम्बुले गरेका हुन् । लिम्बुवान भूमि र विश्वभर छरिएर रहेका लिम्बु समुदायलाई आफ्नो संस्कारप्रति गौरव गर्न प्रेरित गर्ने लक्ष्यका साथ यो भिडियो निर्माण गरिएको सुब्बाले बताए ।
उनले सानु सुब्बाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस सामग्रीलाई हेरेर प्रतिक्रिया दिन र मौलिक संस्कृतिको संरक्षणमा साथ दिन सबैमा आग्रह समेत गरे ।




