मगर संघ युके यु एच एस बि शाखाले मौलिक पित्री पुजाका साथ माघे सक्रान्ति भब्य रुपमा मनाए

लण्डन। १० जनवरी २०२६ शनिबारको दिन शाखाका अध्यक्ष बिर बहादुर बलालको अध्यक्षतामा फार्न्बोरो स्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मगरहरुको परम्परा अनुसार बिधिवत रुपमा पित्री पुजा गरि यु एच एस शाखा मगरसंघ यु के (युनाइटेड ह्याम्प्शेयर, सर्रे, बर्कशेयर ब्रान्च) ले माघे सक्रान्ति मनाएको छ ।
विदेशी भुमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, सस्कृति, भाषा, भेष भुषा, नेपाली कला, गीत सङ्गीतलाई निरन्तरता दिन – प्रोत्साहन र प्रबर्द्धन गर्न र भावि पुस्तामा हस्तान्तरण गर्न हरेक बर्ष माघे सक्रान्ति मनाइन्छ।
पहिलो चरणमा ओम थापा काउचाको नेतृत्वमा परम्परागत पित्री पुजा सम्पन्न भएको थियो। शाखाका सबै सदस्यहरुले दिदीबहिनीहरुबाट बनेका परिकार – तरुल, खिचडी, बारा (बटुक), सेलरोटी, अचारहरु अनि फलफूलहरु प्रसाद स्वरुप ग्रहण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र वहांको धर्म पत्निको उपस्थिति रहेको थियो। त्यसैगरी, विशेष अतिथिको रूपमा एनआरएन युकेका अध्यक्ष प्रेम गाहा, उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल), ग्रेटर रशमोर नेपाली कम्युनिटीका कार्य बाहक अधक्ष्य जित मेयाङवो, बिएफबिएस गोर्खा रेडियो युकेका स्टेसन म्यानेजर योग राज राईलाई आमन्त्रण गरिएको थियो।
अध्यक्ष बलालको अध्यक्षतामा सांस्कृतिक प्रस्तुति र मनोरञ्जन माघे संक्रान्तिलाई विशेष बनाउन नेपालबाट आएकी चर्चित मोडल तथा गायिका निरा थापा मगर र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष एवं लोक दोहोरी गायक मनसुधन थापा मगरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए भने प्रत्येक्ष कौडा समेत रहेको थियो। उनीहरूको प्रस्तुतिमा उपस्थित दर्शकहरू कार्यक्रमको अन्त्य सम्म नै झुमेका थिए।
त्यस्तै, स्थानीय मगर कलाकारहरूले मगर संस्कृतिमा आधारित सोरठी, कौराह, र घाटु – सालैजो जस्ता विभिन्न विधाका आकर्षक नृत्य तथा गायन प्रस्तुतले कार्यक्रम अत्यन्तै आकर्षक माहोल बनेको थियो।
कार्यक्रममा मगर संघ युके युएचएसबी शाखाका उच्च शिक्षा हासिल गरेका नानीहरुलाई हौसला स्वरुप प्रमाणपत्र बितरण गरिएको थियो। महिला समितिद्वारा ‘राफल ड्र’ सन्चालन गरिएको थियो। उक्त राफलड्रमा दोस्रो पुरस्कार भक्त बहादुर थापा (प्रायोजन – एडिएस) ले सुनको कांटा हात पारेका थिए भने पहिलो पुरस्कार श्रीमती बिष्णु थापा (प्रायोजन – द प्यालेस) ले तिल्हरी हात पारेकी थिईन्। साथै अन्य पुरस्कार नवीन-नवीन ज्येलर्स र लक्की ड्र्यागन रेष्टुरेन्टले प्रायोजन गरेका थिए।
औपचारिक कार्यक्रम सचिव धन थापाको सन्चालनमा संस्थाका उपाध्यक्ष गणेश बुढाथोकी मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
माघे संक्रान्तिको यो विशेष उत्सवमा मगर संघ युकेका पूर्व अध्यक्षहरू, ट्रष्टीहरू, सल्लाहकारहरू, विभिन्न शाखा समितिका अध्यक्षहरूका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र ठुलो संख्यामा स्थानीय मगर समुदाय साथै गैर मगरको बाक्लो उपस्थिति रहेको थियो।




