दशैं टीका र भड्किएको आत्मा, यसरी चरणगत टीका त्यागौ – राजु सुब्बा

भड्किएको आत्मा जतै पनि बस्छ । त्यस्तै हो दशै टीकाको सवालमा आदिवासी जनजाति आत्मा । टीका लगाउनु र आर्शिवाद लिनु नराम्रो हुँदै होईन सिर्फ दशैको दिन चाहि होईन अन्य अवसरमा लगाउने भए लगाउनुहोस अर्थात उपयुक्त कुनै एक अवसरको पनि ब्यवस्था गरौ भन्ने आग्रह यो लेखको रहेको छ ।

दशैको अप्रत्येक्ष सामाजिक प्रभावलाई पर्गेल्दा दशै टीका त जनजातिलाई हिन्दुले दास मान्ने र जनजातिले दास स्वीकार्ने अनुष्ठान हो भन्न सकिन्छ । म हिन्दुको दास, कमरा हू र मेरो भावी सन्ततीलाई पनि दास बनाउन राजी छु भन्ने प्रतिज्ञा हो । यसर्थ ख्याल रहोस दशै टिकामा अक्षेता मात्र आएको हुदैन ।

आर्शिवाद लिन, टीका नै लिन परेमा आआफ्नो चाडमा लिन सकिन्छ । किरात उद्यौली, चासोक तङनाम, ल्होसार, सिसेक्पा तङनाम, माघे संक्रान्तिमा पनि टीका लगाउने सिस्टम बसाउन सकिन्छ त्यहि नगरिदा ठाँउ/विकल्प नपाएको कारण भड्किएको केही जनजाति आत्माले पुनः दशैमा टीका लगाउन शुरु गरेको देखिन्छ ।

जतिपनि संस्कारहरु छन सबै मान्छेले बनाएका र विकास गरेका हुन तर हामी मौलिकताको कुरा ल्याएर अड्किन्छौ र अड्काउछौ । अब पनि हामीले दशै टिकाको विकल्प चासोक टीका आदिआदि दिन नसके सबैसबैले दशैंमा टीका लगाउन शुरु गर्ने सम्भावना देखिन्छ । भड्किएको आत्मा दशैमै बस्न सक्दछ । तपाईं प्रतिज्ञा गर्नुहोला म कट्टर हू र म बाट कहिल्य दशै मान्ने काम हुन सक्दैन तर तपाईलाई हरेक क्षेत्र छिमेक, नातागोता, म्यूजिक, सरकारी सुविधा आदिबाट प्रत्येक बर्ष आक्रमण भईरहेको हुन्छ तसर्थ कतिन्जेल प्रतिरक्षात्मक हुने? बरु चासोक तङनामको अघिल्लो दिन युमाथेवा दिन भनौ बाजेबोजु र बुबाआमा तथा अग्रजको हातबाट टीका जस्तै ग्रहण गरौ, उपहार आदानप्रदान गरौ ।

आखिर टीका नै लगाउने कुरा रहेछ दशैमा चाहि किन नलगाउने भन्ने प्रश्न पुनः आउन सक्दछ । दशै हिन्दु विरासत गैर हिन्दुमा लादेको (Colonise) सवाल हो । दशै मान्नु वर्ण ब्यवस्थालाई स्वीकार्नु पनि हो । आर्य उच्च हो जनजाति तल्लो जाति स्वीकार्नु हो । दशैको वैदिक अनुष्ठानले जनजातिको विरासत उठान गर्दैन, यी लगायत सामाजिक मनोविज्ञान अनेक छन त्यसैले आदिवासीले दशै मनाउनु र टीका लगाउनु सहि होईन । मानौ, सबै आर्य, खसले बुद्ध धर्म मान्ने भएको भए गुम्बा र संस्कारहरुमा को अगाडी हुनेथिए? अवश्य बुद्धिष्ट शेर्पा, तामाङ लगायत हुनेथिए । त्यसो हो भने आदिवासीले दशै मनाउदा आर्यहरुलाई अगाडि लगाएका हुन कि होईनन? हिन्दु विशिष्ठता लादेर कोलनाईज गरिएको हो कि होईन? पक्कै हो । शासन हिन्दुले मात्र गर्न सक्छन, उनीहरुले दिएको सल्लाह मात्र सहि हुन्छ, हामी शासित मात्र हुन उपयुक्त छौ, उनीहरुले जे गर्छन सहि गर्छन भन्ने प्रकारको मनोविज्ञान बन्ने भएकोले दशैले आदिवासीमा दास मनोवृतिलाई नविकरण गर्ने गरेको छ ।

दशैको अर्को आयाम पनि छ । दशैमा आदिवासीले टीका लगाउनुको अर्थ म हिन्दु धर्मालम्बि हू भनेर देखाउन र अनुभूत गर्न टीका लागाएका होईनन । बल्लबल्ल बर्ष दिनमा आएको चाडमा अग्रजहरुबाट आर्शिवाद लिउ, सुसम्बन्धलाई नविकरण गरौ, सम्बन्ध बिग्रिएको भए सुधारौ, कम्तिमा बर्ष दिनमा भेटघाट गरौ भन्ने हो । दशै जर्बरजस्त लादिएको १५३ बर्ष (३० x ५ = १५०, कम्तिमा ५ पुस्ता) भएकोले अहिले हामीमा चाहि बाउबाजेले मानि ल्याएकोले मनाऔ भन्ने दबाब पनि हुने गर्दछ । कसैको अर्को बर्ष सम्म बाजेबोजु, बुुबाआमा रहन पनि सक्नुहुन्छ नरहन पनि सक्नुहुन्छ भन्ने चिन्ताले अग्रजको करमा टीका लगाउने पनि छौ । बुबा आमाको करले भन्दा आफैले चाहिँ नानीहरुलाई टीका लगाई दिनु जघन्य अपराध हो । सानोमा टीका लगाई दिएको प्रभावले गर्दा बर्षौबर्ष छोडेको टीका के कसो भनी धर्मराउने गर्छौ, भड्किएको आत्मा झै बनेका छौ भने फेरि हामी हाम्रा नानीहरुलाई टिका लगाई दिएर त्यहि गल्ति दोहरयाउने काम चाहिँ अति घातक हो । आफ्नै धर्म र ईतिहासको विरासतमा रमाउन पाउने नानीको अधिकार तोडमोड गरिदिनु अपराध हो । यो गल्ति कसैले नगरौ ।

दोस्रो कुराः पारिवारिक बाँध्यता आदिआदीको कारण टीका लगाउन बाँध्य भएकाहरुलाई होच्याउने, जिस्काउने र घिनाउने प्रवृति प्रतिउत्पादक बनेको छ । जुन कुरालाई ईखलिएर झनै टीका लगाउने र दशै मनाउन शुरु गरेको पनि देखिन्छ । हिन्दु धर्म, किश्चियन धर्म वा कुनै पनि धर्म अगाल्नु नै त छुट छ भने दशै मनाउन र टीका लगाउन निश्चय नै छुट हुन्छ । त्यसैले गालीगलौज नगरौ । आदिवासी अर्थात गैर हिन्दु भएर जसले टीका लगाउछ उसैले सोच्ने कुरा हो । मेरो जाति, समुदाय र भावि सन्ततिको लागि मैले के के गर्नुपर्छ भन्नेकुुरा उसको चेतना स्तरमा निर्भर हुने कुरा हो । ती कुरा उनै स्यंमले अनुभूत गर्ने कुरा हुन अन्यथा तपाईंको सहि सल्लाहलाई उल्टो अर्थ लागाउन सक्दछ त्यसैले त्यस्तासंग रियाक्टिव होईन ईग्नोरएक्टीव बनौ ।

नेपालमा २०५६ को बहुदलको पूर्नस्थापना संगै गोरेबहादुर खपाङ्गी, सुरेस आले, लोकेन्द्र तिगेला लगायतको सक्रियताबाट शुरु भएको सांस्कृतिक पूनर्जागरणको महत्व ठूलो रहेको छ । संस्कारको महत्व कति भन्ने सवालमा एउटा उद्धारण हेरौ । जजमानी संस्कार गर्नेहरु मात्र सिंहदरबारमा पुगेको यो बेला त्यहाको सम्पति आफैले मात्र सोहर्ने गरेको अवस्था छ । दिनु पर्छ र देश बनाउनु पर्छ भन्ने पनि संस्कार जजमानी संस्कारमा भईदिएको भए सिंहदरबारमा यतिविघ्न भ्रष्टाचार हुने थिएन सायद, देशको चरम भ्रष्टचार रोक्न अब जजमानी संस्कारमै सुधार गर्नुपर्ने देखिन्छ । यसर्थ संस्कारको प्रभाव कति हुदोरहेछ भन्ने बुझ्न सकिन्छ । संस्कारले दैनिक जीबनमा कति प्रभाव पार्ने रहेछ अनुभूत गर्न सकिन्छ । संस्कारको कुरा रमाईलो, मज्जाको सवाल र तत्कालको निम्ति मात्र होईन रहेछ भन्ने पुष्टि हुन्छ त्यसैले दशै र दशै टीकाको सवालमा हेलचेक्राई नगरौ ।

दशै हिन्दुको हो हिन्दुहरुले यसलाई भब्य मनाउन । हिन्दुहरुलाई शुभ कामना दिन कन्जुस्याई नगरौ तर किरात, मुस्लिम, किश्चियन, बौद्धिष्टले दशै मान्दैन त्यसैले नेपालीहरुको महान चाड भनी लेखेर गल्ति नगरौ । हिन्दु चाड, नेपाली हिन्दुहरुको महान चाड वा बडा दशै मात्र लेखेर शुभ कामना दिन सकिन्छ । तर केही जनजाति आदिवासी भुत्ते नेताहरु आफै नेपालीहरुको महान चाड लेखेर शुभ कामना शेयर गरेको देख्दा उनीहरुको विवेक प्रति दया जाग्नु स्वभाविक हो । त्यसैले सधै सबैले सहि शब्द चयन गरौ गलत अर्थ र प्रभाव दिने कुराहरुबाट संचेत होऔं ।

अहिले सम्म दशैं बहिष्कारको अभियानले के कति प्रभाव पार्यो, कति प्रभावकारी भयो भन्ने मूल्याङकन गर्न सकिन्छ । यस अभियानमा लागेका अगुवाहरुको नाम सर्वत्र चर्चा हुनुको अर्थ हो अभियान सहि थियो । त्यसले सामाजिक परिवर्तनमा उल्लेख्य प्रभाव बनाएको देखिन्छ । आदिवासी जनजातिहरु कमजोर हुनुमा आर्थिक रुपबाट कमजोर हुनु पनि एक हो भने धेरै चाड पर्व मनाउनु आर्थिक भार हुदैहो । दशैं बहिष्कार तथा परित्यागले सुधार भएको देखिन्छ । मनोविज्ञानको जसरी पूरै कोलनाइज भएका थिए त्यसमा धेरै परिवर्तन र सुधार भएको छ त्यो मुख्य उपलब्धि हो । अझ दशैंलाई प्रभावकारी ढंगबाट परित्याग गर्ने अभियानलाई चरणबद्ध अभियान चलाउन सकिन्छ । जस्तैः पहिलो चरणः हिजो सानै देखि टिका लगाएकाहरुले निरन्तर टिका लगाउने तर आफ्नो बालबच्चाहरुलाई टिका नलगाई दिने अर्थात नानीहरुमा दशैंको प्रभाव नपरोस । दोस्रो चरणः नातागोता आफन्तलाई दर्शैमा घर नआउनु भन्ने र आफू पनि नजाने तर घामजुन झै बृद्धा भएकाले आर्शिवाद दिन चाहेमा लगाउने तर बालबच्चालाई नलगाईदिने र दर्शैको प्रभाव नदिने । तेस्रो चरणः आआफ्नो चाड लोसार, किरात उधौली, माघे संक्रान्ति आदिमा टिका लगाउने र आर्शिवाद दिनेलिने । चौथो चरणः जो टिका सहजै परित्याग गर्न सक्ने र आफ्नै संस्कारमा रमाउन सक्नेले त्यतिमै रम्ने । र, प्रत्येक बर्ष दशैं टिकाको दिन सम्भवत नेपालकै पहिलो सांस्कृतिक शहिदद्धय रिदामा आठपहरिया र राम्लिहाँङ आठपहरियाको सम्झना तथा सम्मानमा कार्यक्रम गर्ने । उनीहरुलाई दशैं नमनाएको कारण सन् १८६७ मा धनकुटामा झुण्डाएर मृत्यूदण्ड दिईएको थियो ।

किन दशै र दशै टिका चाहि बहिष्कार र परित्याग? किन की आदिवासी जनजातिहरुलाई धार्मिक, सांस्कृतिक, आर्थिक, नीतिगत अतिक्रमण गरिएको कारण त्यसबाट मुक्ति हुनको निम्ति दशैं र दशैं टिका परित्याग गर्न आवश्यक भएको हो । दशैं नमनाउनु भनेको आफू माथिको सांस्कृतिक तथा धार्मिक शोषण कम गर्न वा हटाउनको निमित्त हो । किश्चियन, बुद्धिष्ट, मुस्लिम वा जुनसुकै धर्म मान्ने आदिवासी जनजातिले पनि आफ्नै मौलिक धर्म र संस्कृति अवलम्बन गरोस भन्ने शुभेच्छा हो तर यि धर्महरुबाट अहिले सम्म शोषण नभएको अवस्था भएकोले चर्चा नगरिएको हो ।

अन्तमा, हाम्रो आफ्नो धर्म संस्कारमा टीका आदिको कुरा नै छैन भने किन यसमा टाउको दुखाउने भन्ने सवाल पनि आउन सक्दछ । तर माथि नै उल्लेख गरे झै ५ पुस्ता भयो हामीलाई कोलनाईज गरेको । हाम्रो नसानसामा दशैं र टीका छ । त्यसलाई सिधै त्याग्न सकिन्न र नसकिने रहेछ त्यसैले स्वाद केहीकेही मिल्दोजुल्दो तर फरक भाँडो र आफ्नै चुलामा बनाऔ तब त्यो स्वाद पनि भेटिने अर्काको अबलम्बन गरेको प्रथा पनि मेटिने । अर्थात, दशै र दशैको टीका पूरै छोडाउने हो भने विकल्प दिनै पर्छ नत्र अड्काएर राख्ने, निकास नदिने गल्तिले हामीलाई कमजोर बनाउछ । दशैको टीका हिन्दु भनिनको खातिर जनजाति आदिवासीले लगाएका होईनन, अग्रजबाट आर्शिवाद लिन, सम्बन्ध नविकरण गर्न लगायतको कारणहरु भएकाले टीकाको चलन हाम्रो मुन्धुममा नभए पनि अब विकास गर्नु पर्दछ तब मात्र भड्किएको आत्मालाई जहाँसुकै बस्नुपर्ने छैन ।

२८ अक्टोबर २०२०