दशैं बिषेश : पर्सियनहरूको नाउरूज र नेपालीहरुको नौरथ – जनक कुमार कटुवाल

नेपालमा राष्ट्रिय चाडको रुपमा मनाइने दशैं पर्व र पर्सियामा मनाइने पर्सिएयनहरुको ७ हजार वर्ष पुरानो नोरुज पर्वमा धेरै कुराको समानता देखिन्छ। हुनतः समानतामा तुलना गर्न पनि धेरै खालको सांस्कृतिक पक्षहरु हेर्नुपर्ने हुन्छ। मेरो यो संस्कृतिक समानता र सम्बन्ध देखाउने प्रयास धेरै गहिराईमा भने जाने छैन। किनकि हामीले सतही रुपमा समानता के देख्छौ त्यो मात्रै म यहाँहरु समक्ष उल्लेख गर्दैछु।

दशैँ (नौरथ)
दशैको बारेमा जान्ने कुरामा हामीलाई धेरै कुराहरु आउँदछ। संस्कृतिको गहिराइको बारेमा थाहा नहोला तर हामी आफू जुन पर्वहरु मनाइरहेको छौँ त्यो पर्वहरूको बारेमा पक्कै पनि थाहा हुन्छ, र हुनुपनि पर्दछ। अझ भनौं दशैँ पर्व कसरी मनाइन्छ भन्ने कुरामा मनाउने र त्यसको संरक्षण गर्ने धरोहर नै हामीहरु भएबाट यसमा दशै कसरी मनाइन्छ भन्ने कुरामा ज्ञान छैन भन्नु त्यति उपयुक्त नहोला। तसर्थ अलिकति दसैको इतिहास कोट्याउन मन लाग्यो। नेपालमा दशै पहिले चैत्र महिनामा मनाउने गरेको र पछि मात्रै असोज महिनामा सारिएको भन्ने भनाई अहिले पनि नेपाली समाजमा प्रचलनमा रहेको छ। त्यसैको निरन्तरता स्वरुप अहिले पनि चैत्रमा चैत्य दशैं भनेर मनाउने परम्परा अझै जिवितै छ । चैत्रबाट असोजमा दशै किन सारिएको हो भन्ने कुरामा विभिन्न कथनहरु सुन्न पाइन्छ। विशेष गरेर काटमार अनि माछामासु बढी खाइने भएकोले, चैत्र महिनाको गर्मी समयमा खाइने माछामासुले मानिसमा झाडापखाला तथा विभिन्न रोगको समस्या भएकोले असोजमा सारिएको हो भन्ने भनाइ सुन्न पाइन्छ।

दशैँसँग आस्था भएका नेपालीहरुले ९हिन्दुहरुले० दशै असोज शुक्ल प्रतिपदा९घटस्थापना० को दिनबाट सुरु गरेर कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने गर्दछन। घटस्थापनाबाट दशैँ शुरु हुँदा नौरथ लाग्यो भन्ने चलन पनि छ। यिनै १५ दिनभित्र विभिन्न क्रियाकलापहरु विभिन्न तिथिमितिहरुमा बिभिन्न प्रकारका पुजाआजाहरु गरेर दशैँ १५ दिनसम्म मनाउने गरिन्छ। नेपाल हिन्दुराष्ट्र भएको समयमा १५ दिन नै बिदा मिल्ने गरेको पाइन्थ्यो, तर अहिले भने दशैको बिदा सरकारीस्तरबाट चाहिँ विशेषगरेर ५ दिन दिने गरिएको छ।

दशैंमा बिशेष गरेर घर सरसफाई, नयाँ लुगा लगाउने, मिठो, मिठो मसिनो बनाएर खाने, विदेशिएकाहरु घर फर्किने , आफन्तकोमा भेटघाट गर्न जाने, दशमीको दिन बाट आफूभन्दा ठूलाबडाबाट टिका जमरा लगाई आशिर्वाद लिने नै दशैँ भित्र गरिने प्रमुख क्रियाकलाप र मुख्य उद्देश्य देखिन्छ। दशैमा जौ, मकै आदिको जमरा राख्ने प्रचलन छ र यो दशैंको एउटा अभिन्न पक्ष पनि हो।

नोरुज

हाम्रो नेपालमा मानिने दशै जस्तै विशेषता भएको पर्व मानिने अर्को देश हो इरान। अहिलेको इरानलाई पर्सिया पनि भन्ने चलन छ र इतिहासमा यसलाई पर्सिया भन्ने र यहाँको संस्कृतिलाई पर्सियन संस्कृति भन्ने परम्परा छ।

नुरोजको लागि सजाईएको टेवल
Norooz(New+Ruz) भन्ने पर्व पर्सियन नयाँवर्ष हो। यसलाई ठाउँ र परिवेस अनुसार विभिन्न रुपमा उच्चारण गरिन्छ। जस्तै नोरुज, नौरोज, नुरुज आदि। यो नयाँ वर्ष मान्ने तरिका नेपालको दशैँसँग समान देखिन्छ। नोरुज पर्व मार्च २१ (Vernal Equinox, बसन्तऋतु शुरुहुने समयको दिन र रात बराबर भएको दिन)को दिनबाट सुरु हुन्छ र दुई हप्तासम्म मनाइन्छ। (हामी स्मरण गरौं मार्च २१ भनेको नेपालको चैत्र महिनामा पर्दछ र कुनै बेला दशैँ पनि चैत्रमा मानिन्थ्यो भन्ने प्रचलन अझै जीवित नै छ)। यो दुई हप्ताको समयमा विभिन्न क्रियाकलापहरु गरेर नोरुज पर्व मान्ने गरेको पाइन्छ, बिशेष गरेर नयाँ बस्त्रहरु लगाउने, मीठोमसिनो खाने, जमघट गर्ने तथा दुई हप्ता (१५ दिन) सम्म आफ्ना नातेदारहरु, पुराना साथीभाईहरुकोमा भ्रमण गर्न जाने, भेट गर्न जाने यो पर्वको मुख्य विशेषता हो । Norooz/New Ruz(New Day) भन्ने शब्दको अर्थ नयाँ दिन भन्ने लाग्दछ।

पर्सियन क्यालेन्डरको नयाँ दिन वा नयाँ वर्षको सुरुवातको दिन भनेर नाउरुज वा नोरुज़ पर्वलाई मनाउने गरिन्छ। इरानमा नरोजको समयमा लगभग १५ दिन स्कुल, विद्यालय, बिश्वबिद्यालयहरु बन्द रहने गर्दछन्। वा भनौं नोरुजको समयमा सरकारी स्तरबाटै १३ देखि १५ दिनसम्म सार्वजनिक विदा दिने गरिन्छ।यो पर्वको प्रचलन चाहिँ तिन हजार देखि सातहजार वर्ष पुरानो रहेको मानिन्छ। नौरोज वसन्त ऋतुको पहिलो र इरानियन पात्रोको सुरुको दिनबाट सुरु हुन्छ।

यो नयाँ बर्षको सूरुवातीसँगै नोरुज पर्वलाई स्वागत गर्नको लागी घरहरु सफा गर्ने, बिशेष गरेर मरेर गएका आफन्तहरुको आत्मा फर्केर आउँछ भन्ने विश्वासका साथ घरहरु सफा गर्ने गरिन्छ। उनीहरु नरोज पर्व सुरु हुनु एक महिना अगाडिदेखि नै घरमा काम नलाग्ने पुराना वस्तुहरु बाहिर फाल्ने र घर सरसफाइहरु गर्ने काममा लाग्ने गर्दछन्। भाँडाकुडा, लुगा, पर्दा, कार्पेटहरु धुने अनि भित्ताहरु सरसफाई गर्ने यो प्रक्रियालाई चाहिँ Extended Spring Cleaning ( For Rebirth of Nature) भन्ने परम्परा रहेको छ र Spring Cleaning चाहिँ लगभग सबै इरानियनहरुले गर्दछन्। र यो पर्वमा कम्तीमा पनि एक सेट नयाँ लुगाफाटो किन्ने चलन रहेको छ।

जमरा (Sabzeh)

यो पर्वमा जमरा राख्ने मुख्य प्रचलन रहेको छ। जमरालाई Sabzeh भनिन्छ। जमरा चाहिँ बसन्त ऋतु आगमन सगै देखिने नयाँ पाउलाहरुको (Rebirth and Renewal of Nature) प्रतिक मानिन्छ र नयाँ बर्षको पहिलो दिन प्रयोग गर्न केहि हप्ता अगाडी नै गहुँ र जौ छरेर उमारिन्छ।

उपहार(Eydi)

यो पर्वमा उपहार दिने पनि परम्परा रहेको छ। उपहारमा पैसा, सुन वा सुनको पैसा दिने परम्परा रहेको छ। उपहारलाई Eydi भनेर भनिन्छ। उपहार एक आपसमा दिने भए पनि यो पर्वमा बिशेष गरेर घरका ठुलाबडाले साना केटाकेटी र युवा युवतीहरुलाई दिने प्रचलन छ। नोरुजको पहिलो दिन सबै जना परिवारहरु नयाँ लुगा लगाउछन् अनि आफ्नो घरका परिवारहरु भेला भएर एउटै टेबलमा माछा मासु लगाएतका मिठा मिठा परिकार खाने चलन हुन्छ। त्यसपछि पहिला चाहिँ युवाहरु र कम उमेरका व्यक्तिहरू आफूभन्दा ठूलाबडाकोमा भेटघाट गर्न जान्छन्।

ठुलाबडा मध्ये विशेष गरेर अघिल्लो वर्ष जसको घरमा मरीमराउ परेको छ त्यो घरमा पहिलो भ्रमण गर्न जाने प्रचलन छ र भ्रमणको समय छोटो र छिटो गर्ने गरिन्छ, नत्र आफ्नो लिस्टमा भएका सबैजनालाई भेटघाट गर्न गाह्रो देखिन्छ। एउटा घरमा लगभग ३० मिनेट जतिको समय बिताउने गरिन्छ। पहिला युवा युवती र केटाकेटीहरु आइसके पछि मात्रै ठुलाबडाहरु फेरी उनीहरूको घरमा आउँदछन्। यो पर्वको बेला आउने जानेहरुलाई खाना, खाजा, नास्ताको व्यवस्था पनि गरिन्छ।

यो क्रममा लगभग १२ दिन जति आफ्ना ठुलाबडा मान्यजनहरुको घरमा भेटघाट गर्न जान्छन्। १३ औँ दिनको दिन १३ अंकको अशुभ छल्न बाहिर बनभोज गर्ने र बाँकी रहेका अरु दिनहरुमा आफ्नो साथीभाइहरूकोमा भ्रमण गर्दछन्। यो चाहिँ एकआपसमा आफन्तहरूको भ्रमण हुनेगर्दछ जुनचाही छोटो हुने गर्दछ जसलाई Short House Visit भनेर पनि भनिन्छ।

सन्दर्भ सामाग्री(श्रोत):

https://www.nicart.org/articles-old/nowruz-vs-norooz-vs-noroz

https://cmes.fas.harvard.edu/files/NowruzCurriculumText.pdf

https://en.wikipedia.org/wiki/Nowruz

Persian New Year

– Article courtesy: visiononlinenews.com