साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा

काठमाडौं । यस वर्षको पद्मश्री साधना सम्मानका लागि मनोनयनमा पर्नुभएका साहित्यकार मोदनाथ प्रश्रितले सम्मान नलिने घोषणा गर्नुभएको छ ।

सम्मान घोषणा भए लगत्तै आफ्ना बारेमा फैलाइएको अपवाहले भ्रम उत्पन्न भएको भन्दै साहित्यकार प्रश्रितले सम्मान नलिने घोषणा गर्नुभएको हो ।

सोमवार एक विज्ञप्ति प्रकाशित गरी उहाँले सम्मानका लागि आफूलाई छनौट गरेकोमा आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभएको छ ।

“तर समाचार प्रकाशित भए लगत्तै अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निर्णय गरेको छु,’ प्रश्रितले विज्ञप्तिमार्फत बताउनु भएको छ ।