कृषिमा सक्रिय बन्दै युवा

तानसेन, जेठ १३ गते । बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो । मौरी, कुखुरा, बङ्गुर, गाई, भैंसीपालन तथा मौसमी –बेमौसमी तरकारी खेतीमा युवाको आकर्षण देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१४ अर्गलीका कृषक निर्मल राना बन्दाबन्दीका समय खेतबारीमै भेटिनुहुन्छ । करीब २५ रोपनी जग्गामा विभिन्न तरकारी खेती गर्नुभएका राना वर्षमा करीब रु २० लाख आम्दानी गर्नुहुन्छ । जिल्लामै उदाहरणीय कृषकका रुपमा परिचित रानाले २०७४ सालमा कृषि फार्म दर्ता गरेर खेती गर्दै आउनुभएको हो । बारीमा उत्पादित करेला, टमाटर, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीका लागि बजारको समस्या नभएको रानाको भनाइ छ ।

रामपुर नगरपालिका –८ एक्लेटारमा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका नरनारायण अर्यालको गोठमा अहिले ५७ भैंँसी छन् । गत वर्षदेखि व्यवसाय थाल्नुभएका अर्यालले यसअघि दैनिक २४० लिटरसम्म दूध बिक्री गरे पनि अहिले भने दाना र घाँसको माग भएजति पु¥याउन नसक्दा दैनिक चार लिटर दूध दिने भैंसीले जम्मा दुई लिटर दिने गरे पनि सन्तुष्ट नै हुनुहुन्छ । करीब रु एक करोड ४० लाख लगानी गरेर भैंँसी पाल्नुभएका अर्याल राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

जिल्लामा केही स्थानीय तहले युवालाई कृषिमा आकर्षण गर्न विभिन्न योजना अघि सारेका छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला घरमै खाली समय बिताउनुभन्दा खेतबारीमा काम गर्दा समय बिताउन सहज हुने र आम्दानी पनि हुने कृषक बताउँछन् । निस्दी गाउँपालिकाबाट प्लाष्टिक टनेल निर्माण गर्न अनुदान पाएसँगै ६ हाइटेक टनेलमा लालबहादुर खन्गाहाले पनि टमाटर खेती गर्नुभएको छ । विदेशबाट फर्केर गाउँमै तरकारी खेती थाल्नुभएका खन्गाहाको यस वर्ष तरकारी बेचेरै करीब रु पाँच लाख कमाउने लक्ष्य छ ।

बन्दाबन्दीमा तरकारी बिक्री गर्न समस्या भएपछि स्थानीय तहले गाउँगाउँमा कृषि एम्बुलेन्स सञ्चालन गरेका छन् जसले तरकारी बिक्री गर्न कृषकलाई सहज भएको छ । रम्भा र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले गाउँका तरकारी गाउँमै बिक्री गरिरहेका छन् । यसरी बन्दाबन्दीमा पनि गाउँमा उत्पादित प्राङ्गारिक तरकारी खान पाउँदा उपभोक्ता पनि खुशी छन् । यसअघि तानसेन नगरपालिका, बगनासकाली गाउँपालिकालगायतले पनि कृषि एम्बुलेन्स सेवा दिएका थिए ।

स्थानीय सरकारको बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमले पनि कृषकलाई उत्साहित बनाएको छ । रामपुर नगरपालिकाले बाँझो जग्गामा मकै छर्नेलाई प्रतिरोपनी रु तीन हजार र मौसमी तरकारी खेती गर्नेलाई रु पाँच हजार अनुदान दिने भएको छ । जिल्लाका रैनादेवी छहरा तथा माथागढि गाउँपालिकाले पनि बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएका छन् ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बाँझो जमीनमा अन्न वा तरकारी खेती गर्नेलाई रु तीन हजार तथा कागती, सुन्तलालगायत फलफूल खेती गर्ने कृषकलाई रु दुई हजार दिइने बताउनुभयो । विदेशबाट आउने स्थानीय तहका नागरिकलाई लक्षित कृषि अनुदान, जमीन र माटोको प्रकृति हेरेर पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाले पनि कृषकलाई समेटेको छ । पूर्वखोला गाउँपालिकाले केही क्षेत्रलाई कागती, सुन्तला, अलैँची र कफीको पकेट क्षेत्र, निस्दीलाई चिउरी, दालचिनी, टिमुर र अदुवा तथा रामपुरलाई बेसार, केरा र आलुखेतीका लागि मुख्य क्षेत्र बनाउने योजना छ । जिल्लाका अन्य तहले पनि कृषिको विकासमा दीर्घकालीन योजना तयार गरेका छन् ।

पछिल्लो समय सामूहिक खती गरेर फाइदा उठाउने युवा पनि धेरै छन् । करीब १० समूहले सामूहिक आलु खेती गरेको र बिक्रीका लागि वडाले व्यवस्थापन गरिदिएपछि कृषकलाई सहज भएको रामपुर– ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेको भनाइ छ । नदी किनारा आयआर्जन समूह रामपुरले यस वर्ष करीब नौ रोपनी जग्गामा सामूहिक आलु उत्पादन गरेर करीब रु ७० हजार आम्दानी गरेको छ ।

पाल्पा, पूर्वखोला गाउँपालिकाका २८ घरधुरीले पनि सामूहिक रुपमा खेती गरेका छन् । पूर्वखोला, हेक्लाङका कृषक सामूहिक खेतीबाट वर्षभरि लाखौँ आम्दानी लिन सकिने हुँदा निकै उत्साहित भएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउनुहुन्छ । रासस