वढाङमी चाड मनाउँदै धनकुटाका आठपहरिया जाति

धनकुटा । नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरिया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । बडाङमी मंसिर पूर्णिमाबाट औंसीसम्म मनाउने चलन छ । आठपहरिया जातिको तीन चाडमध्ये यो महत्वपूर्ण चाड हो ।

यो चाडमा दुःखबाट उक्सिने र घरको जेठो छोरो जन्मिएकोमा हर्क बढाइ गर्ने चलन छ । वर्ष भरी गुमाएका आफन्तको जुठोबाट उक्सने यो एक मात्र चाड हो । चाडको सुरुवातमा धनकुटाबाट हिड्दै दुई दिन लगाएर सुनसरीको बराहक्षेत्र पुग्दछन् ।

स्थानीय कोकाहा खोलामा कपाल दारी खौरिएर नुहाएर बराह भगवानको दर्शन गरी देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ । घर आएपछि दुःखको कर्म फुकाउने कार्य हुन्छ । जहा सेतो लुगा फुकाइन्छ । अनि दुख अन्त्य गरी भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ ।

सो चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो, तीन पाछा अर्थात पुस्ताको डल्ले नाच नाचिने स्थानीय दिनेश आठपहरियाले जानकारी दिए । यता घरको जेठो छोरो जन्मिदा र नयाँ घर निर्माण गर्दासमेत यो चाडमा हर्कबढाइ गर्ने चलन छ ।

चाड मनाउन धनकुटा नगरपालिकाले आज एक दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ ।