आदिवासी

भारतीय दूतावासद्वारा सम्भोता/भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी

काठमाडौँ, २९ भदौ : भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता/भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गर्नुभयो ।

सिक्किम भारतबाट आउनुभएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाउनुभएको थियो ।

राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्दै नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताउनुभयो । जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा शताब्दीयौँदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताउनुभयो ।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध सङ्घसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उपस्थिति थियो । प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बरसम्म रहने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button