सक्रान्तिबजारका अग्निपीडितलाई तेह्रथुम–युके समाजद्वारा रु १५ लाख राहत वितरण

तेह्रथुम, ३ जेठ । तेह्रथुम–युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत (युके) मा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो ।

आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार रु ५० हजार, एकै परिवारका दुईवटा घर भएकालाई रु ७५ हजार, ‘क’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु ४० हजार, ‘ख’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु २० हजार, ‘ग’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु १५ हजार र ‘घ’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु पाँच हजारका दरले राहत रकम प्रदान गरिएको समाजका प्रतिनिधि ताराप्रसाद लिम्बूले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा तेह्रथुम–युके समाजका ताराप्रसाद लिम्बू, सुनसरी–युके समाजका मोहनचन्द्र लिम्बू, आठराई भगवती यातायात व्यवसायी सङ्घका महासचिव महेन्द्र विमलीलगायतले मन्तव्य राखेका थिए । अग्निपीडितले युकेवासी नेपालीलाई धन्यवाद भनेका छन् । गत पुस १ गते सक्रान्तिबजारमा आगलागी हुँदा २९ घर र तीन टहरामा क्षति पुगेको थियो ।

आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोडभन्दा बढीको क्षति भएको थियो । अग्निपीडितका लागि राहत कोषमा हालसम्म रु ६० लाख जम्मा भएको छ । तर प्रशासनले बनाएको मापदण्डमा पीडितले राहत बुझ्न नमानेपछि राहतको रकम कोषमै थन्किएको छ । रासस