सगरमाथा आरोहणको तयारीमा शर्मिला र छोकी

धर्मचन्द्र योञ्जन तामाङ,काभ्रे । रोशी गाउँपालिका वडा नं – ११, भिमखोरीकी शर्मिला स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं – २ की छोकी शेर्पा विश्वको सर्वोच्च शिखर आरोहणको तयारीमा छिन् ।

भगवान बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चार माध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा “बुद्ध नेपालमा जन्मेका हुन् ।” भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण गर्न लागिएको पर्वतारोही तामाङले जानकारी दिए ।

नाम्सादिम छोरडान नेपालको सदस्यसमेत रहेकी तामाङले पर्यटन क्षेत्रको विकास र पर्वतारोहणमा महिलाहरूको सहभागिता वृद्धि गराउने उद्देश्यका साथ सगरमाथा आरोहण गर्न लागिएको बताइन् । अगस्ट २४, २०१७ मा गौरीशंकर हिमाल आसपासमा रहेको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पाद्वय माउन्ट के – २ का कान्छो आरोही भनेर चिनिने लाक्पा शेर्पाको नेतृत्वमा पायोनियर एड्भेन्चर नामक संस्थाको सहयोगमा आरोहण आउने वसन्त ऋतुमा हुने भएको हो ।

सगरमाथा आरोहणको तयारी गरिरहेकी तामाङ यस संस्थाको सदस्यसमेत रहेको हुदाँ संस्थाको तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ र आवाज विहिनहरूको आवाज सगरमाथाको चुचुरोसम्म पुग्नु पर्दछ भन्दै नाम्सादिम छोरडान नेपालका अध्यक्ष हिरमान बल तामाङले सदस्य शर्मिला स्याङतान तामाङलाई सफल सगरमाथा आरोहणको लागि अग्रिम शुभकामना दिए ।

“नाम्सादिम जसरी एउटा संस्थाको रूपमा अहिले हामीमाझ उभिएको छ, यसलाई आवाज विहिनहरूको आवाजकै रूपमा अझै परिस्कृत तवरले अगाडि बढाउनको लागि मेरो तर्फबाट सक्दो सहयोग हुनेछ ।” आरोही तामाङले भनिन – “म सगरमाथा चढ्ने साहस लिएर अघि बढ्ने काभ्रेकै पहिलो चेली हुँ, आवाज विहिनहरूको आवाज लिएर सगरमाथाको शिखर चुमेर फर्कने छु ।”

सगरमाथा शिखरमा सर्वप्रथम सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पाइला राखेका थिए ।