खानेपानी अाएपछि दलित बस्तीमा खुशीयाली

दोलालघाट । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं – ९, जितरपोखरीको दलित बस्तीमा खानेपानीका धारा निर्माण भएसंगै खुशीयाली छाएको छ ।

भूक्म्पले भत्काएको घरको पुननिर्माण र धेरै वर्षदेखि खानेपानीको अभावले पिरोलिरहेको दलित समुदायले साझेदार निकाय र स्थानीय सहयोगी संस्थाहरूको सहयोगमा शुद्ध पिउने पानीको सुविधा पाउने भएका छन् ।

दलित बस्तीले नयाँ घर सँगसँगै घर/घरमा खानेपानीको धारासहित शुद्ध पिउने पानीको सुविधा पाएपछि त्यहाँका दलित समुदाय खुशी देखिएका हुन् । “२०७२ बैशाखमा गएको भूकम्पले घरहरू सबै भत्काएपछि हामी झन् ठूलो समस्यामा थियाै ।”

उपभोक्ता समितिका अध्यक्ष ठूलोकान्छा सार्कीले भने, “दलित समुदाय भएको ठाउँमा खानेपानीको धारा अाँगन अाँगनमा अाएसँगै हर्षित भएका छाैँ ।” उनीहरूलालाई दुई/साढे दुई घण्टाको लामो बाटो हिडेर कुन्तबेशी या कुवापनी भन्ने ठाउँसम्म पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीयले खेर जाने पानीलाई पोखरी बनाई करेसाबारीमा तरकारी खेतीसमेत गर्न थालेका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको अार्थिक सहयोगमा शान्ति जनअादर्श सेवा केन्द्र, काभ्रेको समन्वयमा ५५ वटा घरमा खानेपानीको धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि त्याहाँका स्थानीय बासिन्दाहरूमा खुशीयाली छाएको हो ।

स्थानीय दलित समुदायको श्रमदानसहित कूल ३९ लाख ७२ हजार ७ सय १५ रूपैयाको लागतमा सो अायोजनाको निर्माणकार्य सम्पन्न भएको हो । अायोजनाले जितरपोखरीमा रहेको ५५ घरधुरीका २ सय ४४ जना खानेपानीको सुविधाबाट लाभान्वित भएका छन् । दुई वटा मुहानबाट ल्याइएको पानीलाई दुई वटा ट्याङ्की निर्माण गरी ५५ वटा धाराबाट खानेपानी वितरण हुनेगरी अायोजनाको सम्पर्ण निर्माणकार्य सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । एक मिनेटमा सरदर ४ लिटर पानी अाउने र प्रत्येक घरलाई एक पटकमा १ सय २० लिटर पानी उपलब्ध हुने प्राविधिक अर्जुन भुजेलले जानकारी दिए ।

खानेपानी अायोजनाको उद्घाटन राष्ट्रिय योजना अायोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठको उपस्थितिमा भएको थियो । कार्यक्रममा कोष विकास समितिका बोर्ड सदस्य ढुण्डिराज दाहाल, जिसस काभ्रेका सभापति उद्धव के. सी, मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबा, समन्वय अधिकारी कोमल प्रसाद धमला, शान्ति जनअादर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामालगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।