समाचार

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

फिक्कल (इलाम), ९ चैत : आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन् । दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले यसअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन् ।

पहिचानको प्रमुख मुद्दा बोकेर निर्वाचनमा होमिनुभएका थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशीमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट साझा उम्मेदवार खडा हुनुभएको छ । उहाँलाई पहिचान पक्षधर पार्टीहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जातीय संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत किरात धर्मगुरु आत्मानन्द लिङदेनको समर्थन छ ।

त्यस्तै युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिनुभएको छ । उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक हुनुहुन्छ । उता युवाकै मुद्दा लिएर इलाम आउनुभएका पाहुना उम्मेदवार शाहीसमेत भेटघाटमा व्यस्त हुनुहुन्छ ।

यस्तै ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बू स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी अभियान थाल्नुभएको छ । शुक्रबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी अभियानका अध्यक्ष लिम्बूले पहिचानवादी स्वतन्त्र उम्मेदारी घोषणा गर्नुभएको हो । उहाँले पहिचानको आन्दोलनलाई सार्थक रुप दिन तथा कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात लिम्बूवान’ बनाउन केन्द्रीय तहदेखि नै पहल गर्न उम्मेदवारी रहेको बताउनुभयो । उहाँले इलाम–२ को विकास निर्माणलाई गति दिनसमेत आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उता जिल्लाका कुनै पनि राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार चयनमा सर्वसम्मत हुन नसकेपछि नेपाली कांग्रेसले सात, नेकपा (एमाले)ले छ र जनता समाजवादी पार्टीले तीनजना आकाङ्क्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन् । सिफारिसमा परेका सबै नेताहरू आफूले टिकट पाउने विश्वस्त हुँदै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

कांग्रेसले महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ (राई) र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ । तर केन्द्रले नाम टुङ्गो लगाउन बाँकी रहेको सभापति खड्काले जानकारी दिनुभयो । खड्का गत वर्षको निर्वाचनमा एमाले नेता एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतले मात्र पराजित हुनुभएको थियो ।

एमालेले पनि स्वर्गीय नेम्वाङपुत्र सुहाङ नेम्वाङसहित छ जनाको नाम यसअघि नै केन्द्रीय समितिमा पठाइसकेको छ । तर, उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । एमालेले नेम्वाङसहित उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोशी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरी पठाइएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीले केन्द्रीय सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूको नाम पठाए पनि टुङ्गो लाग्न सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी चयनका लागि प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न प्रारम्भिक निर्वाचनका लागि १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ८ बजेसम्म प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन, १५ गते दिउँसो १ बजेसम्म प्रारम्भिक उम्मेदवारउपर दाबीविरोध, साँझ ५ बजेसम्म उम्मेदवारहरूसँग छलफल, साँझ ८ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन, १६ गते साँझ ७ बजेसम्म मतदान र निर्णय गरी १७ गते दिउँसो १ बजे नतिजा प्रकाशन गरी उम्मेदवार सार्वजनिक गर्नेछ । रास्वपाको उम्मेदवार सार्वजनिक गर्न गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको रास्वपा इलामले जनाएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलहरूले उम्मेदवार सिफारिस नै गरेका छैनन् । एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनालले इलाम–२ मा उम्मेदवार बन्ने चर्चा रहे पनि आधिकारिक निर्णय नभएको समाजवादी इलाम अध्यक्ष भक्त केसीले बताउनुभयो ।

इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

नयाँ सत्ता समीकरणले एमालेलाई सहज

गत वर्षको निर्वाचनमा पार्टीले पाएको समानुपातिक मत विश्लेषण गर्दा यसपटकको इलाम–२ उपनिर्वाचनमा जितका लागि नयाँ सत्ता समीकरणले एमालेलाई सहज भएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो । अन्य साना पार्टीहरूले नौ सय मत कटाएनन् ।

निर्वाचनमा माओवादी केन्द्रले समर्थनमा कांग्रेसका उम्मेदवार खड्का एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग एक सय चार मतले मात्र पराजित हुनुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत पाउनुभएको थियो । नयाँ सत्ता समीकरणसँगै यसपटक माओवादीको मत एमालेले पाउने भएपछि जितमा सहज हुने एमालेको विश्वास छ । तर कोशी प्रदेश नामकरणसहित एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ । पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा उनीहरुको साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न त्यति सहज भने छैन ।

गत वर्षको निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकामा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button