समाचार

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ, १९ फागुन : खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

रु एक लाख राशि र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशि र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभयो ।

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको हो ।

समाजले साहित्य, कला, सङ्गीत, शिक्षा, खेलकुद, समाजसेवालगायत माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तिलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोस्रो चरणमा साहित्यकार जसराज किराती र सङ्गीतकार शान्तिराम राई, तेस्रो चरणमा शिक्षासेवी एवं समाजसेवी इमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राई र सञ्चार अभियानकर्मी टङ्कबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

खोटाङ सेवा समाज युकेले यस वर्ष पनि खोटाङका सबै स्थानीय तहमा ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर–२०८०’ सञ्चालन गर्ने तयारी गरेको छ । सोही स्वास्थ्य शिविर समापनका अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गर्ने तयारी गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष डा प्रमोद कोयी राईले जानकारी दिनुभयो ।

अस्पताल जानका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयासस्वरुप खोटाङ सेवा समाज युकेले विसं २०७३ चैत्र २६ गते जिल्लामा सात एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाललगायत ठाउँमा बसोबास गर्ने चार सय ४५ खोटाङबासीबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ ।

जिल्लाको समग्र विकास निर्माणमा समेत सहयोग गर्दै आएको समाजले जिल्ला अस्पताललाई एक अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको थियो । रोजगारीको सिलसिलामा युकेमा बसे पनि आफूहरु खोटाङबासी भएकाले खोटाङको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उहाँहरुले बताउँदै आउनुभएको छ । कोभिड–१९ को महामारीका बेला पनि अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button