लेख

मुक्कुमलुङको सन्दर्भमा विकास के हो र मुक्कुमलुङमा विकासको मोडल – नन्द कन्दङवा

पृष्ठभूमि
नेपालमा हिजो आज जता ततै हाइड्रो पावर र केबलकार नै विकास हो भन्ने भ्रम दिने काम भइरहेको छ । मुक्कुमलुङ (संस्कृतकृत गरिएको नाम पाथीभरा) को सन्दर्भमा केबलकार निर्माणबारे पनि विकासको यस्तै भ्रम, हल्ला र प्रचार गरिएको छ । विकास मानव समुदायसँग गासिएको विषय हो । जनसमुदायलाई हित नगर्ने कुनै पनि कार्य विकास भन्न मिल्दैन । कुनै पनि कार्यले २÷४ जना व्यक्तिहरूलाई मात्र अकुत सम्पत्ति आर्जन हुन्छ तर जनसमुदायलाई हित गर्दैन भने त्यो विकास होइन २÷४ जनाको पक्षमा हुने स्वार्थी विकास हुन्छ । यस्तो कुरा विकासको मोडलले निर्धारण गर्दछ ।

विकास
विकास भनेको आर्थिक, सामाजिक, सांस्कृतिक, मानवीय, वातावरणीय तथा भौतिक सुख सुविधाका साथै मानव अस्तित्वसँग गाँसिएको प्रकृतिको संरक्षण र रक्षाको लागि गरिने कार्य हो । यी सबै मानव समूहको लागि हो । कुनै पनि मानव समूहको जीवन यापन, जीवन पद्धति, सामाजिक–आध्यात्मिक विश्वास, सामाजिक–सांस्कृतिक तथा आर्थिक आधारलाई नष्ट गरेर गरिने भौतिक विकासलाई विकास भन्न सकिन्न ।

लेखक नन्द कन्दंवा
मानव अस्तित्वलाई नास गर्ने र सङ्कट पैदा गर्ने कार्यहरूलाई विकास भनिन्न । भौतिक विकासको पनि आवश्यकता पर्छ तर त्यसले मानव समूहको जीवन यापन, जीवन पद्धति, सामाजिक–सांस्कृतिक विश्वास तथा आर्थिक आधारलाई नष्ट गर्न र खलबल्याउन हुँदैन, मिल्दैन । यसको अर्थ मानव समूहको मानव अधिकार हनन् हुनु हुँदैन । यी सबैलाई सन्तुलन गरेर गरिने कार्यहरू मात्र विकास हुन् जुन कार्यले कसैको पनि मानव अधिकार हनन् हुँदैन । सन्तुलन कायम नगरिएको कार्य निश्चित समूह, शक्ति तथा व्यक्तिहरूको स्वार्थ रक्षा र स्वार्थ पूर्ति गर्ने साधन र कार्य मात्र हुन्छन्् । यस अर्थमा यो एउटालाई सिध्याएर अर्कोलाई बनाउने विनासकारी काम मात्र हुन्छ । जसलाई औपनिवेशिक विकास मोडल (ऋययिलष्ब िम्भखभयिऊभलत ःयमभ)ि भनिन्छ ।

विकासले आधारभूत रूपमा ७ वटा काम गर्नै पर्ने हुन्छ । कुनै पनि कार्य या योजना विकास हो कि होइन भन्न निश्चित आधारमा हेरिनु पर्दछ । लुटेरा विकासको मोडल पनि हुन्छ तर त्यो समग्र जनता र देशको लागि हुँदैन । त्यसैले विकास भन्नको लागि त्यसले ७ वटा काम गर्नै पर्ने हुन्छ ।

पहिलो, विकासले कुनै पनि समुदायको संस्कृति र आध्यात्मिक आस्थालाई प्रतिकूल प्रभाव पार्नु हुन्न । त्यसले समुदायको संस्कृति र आध्यात्मिक आस्थालाई संरक्षण गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय कानूनले पनि यही कुरालाई जोड दिएको छ । मुक्कुमलुङमा बनाउन योजना गरिएको केबलकारले त्यहाँको आदिवासी लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक तथा पवित्र स्थल मुक्कुमलुङ र त्यस्को मूल्य मान्यतालाई नास गर्दैछ कि संरक्षण गर्दैछ भन्ने सहज रूपमा देखिन्छ ।

मुक्कुमलुङ मुन्धुमी, सांस्कृतिक तथा पवित्र स्थलको मूल्य मान्यता भनेको त्यस क्षेत्रमा आधुनिक संरचनाहरू निर्माण गरिनु हुन्न । फोहोर गरिनु हुन्न । माथिल्लो फेदीको थानदेखि धागो टाँग्दै माथि युमा माङ थानसम्म लगिए फल प्राप्त हुन्छ जस्ता अनगिन्ती विश्वास तथा मान्यता रहेका छन् । यदि यस मूल्य मान्यताको उलङ्घन गरिए त्यस क्षेत्रमा चट्याङले हानेर मानिस मार्ने, असिना पानी परेर बालीनालीको क्षति गर्ने, पहिरो जाने र धन जनको क्षति गर्ने जस्ता थुप्रै घट्नाहरू हुने गर्दछ भन्ने जनविश्वास रहेको छ ।

दोस्रो, विकासले जनसमुदायमा आर्थिक कारोबार बढाउनु पर्ने हुन्छ । उक्त आर्थिक कारोबार जनसमुदायको हितमा हुनु पर्ने हुन्छ । तस्कर, कालो बजारी, भ्रष्ट दलाल र बेथितिवालाहरूले राज्यलाई थोरै कर तिरेर अर्थतन्त्र कब्जा गर्ने आर्थिक कारोबारले जनसमुदायको हित हुँदैन । त्यो त जनसमुदाय विरोधी एउटा सानो निश्चित लुटेरा डफ्फालाई मात्र फाइदा हुन्छ । यसले पूँजीको वितरण जनसमुदायमा गर्दैन । विकासको नाममा पूँजी एकीकृत गर्ने र निश्चित व्यक्तिहरूमा पूँजी थुपार्ने यस्तो अर्थतन्त्रलाई नै दलाल नोकरशाही पूँजीवादी अर्थतन्त्र भनिन्छ । नेपालमा सरकार कब्जा गर्ने नेतादेखि कार्यकर्ता र आउरेभाउरेहरू अहिले यही सानो लुटेरा डफ्फाको रूपमा पहिचानित भएका छन् । सरकारमा रहेका दलहरू र तिनका नेताहरू दलाल नोकरशाही पूँजीपति व्यापारीहरूसँग सेयरमा र तिनैको सहयोगमा अकुत सम्पति कमाउने धन्धामा लागेका छन् । उनीहरूको चुनाव खर्च पनि यिनै दलाल नोकरशाही पूँजीपतिहरूले व्यहोरेका छन् । त्यसैले ती सरकार र राज्य सत्तामा बसेका नेता तथा मानिसहरूले तिनै दलाल नोकरशाही पूँजीपति व्यापारीहरूको पक्षमा काम गर्ने गर्दछन् । मुक्कुमलुङ केबलकारको सन्दर्भमा पनि यही कुरा लागू भएको छ ।

राज्य सत्ताको कुरा गर्दा राज्य सत्ताको ३ वटै अङ्गले यस मामिलामा उपनिवेशकारी तथा दलाल नोकरशाही पूँजीपति व्यापारी तथा एउटा सानो जत्थालाई साथ दिइरहेको छ । सरकार आफै उपनिवेशकारीको रूपमा खडा भई जनसमुदायको विरुद्धमा दलाल नोकरशाही पूँजीपति व्यापारीहरूलाई संरक्षण गर्न काम गरिरहेको छ । राज्य सत्ताको अर्को अङ्ग संसद भने यस मामिलामा वेवास्ता गरेर बसिरहेको छ । मुख्य दलहरू उपनिवेशकारी तथा दलाल नोकरशाही पूँजीपति व्यापारीहरूको गुलाम भएकोले तिनका सांसदले संसदमा आवाज नउठाउने कुरा स्वभाविकै हो । राज्यसत्ताको अर्को अङ्ग न्यायलय हो । न्यायलय स्वतन्त्र हुन्छ र कानून अनुसार न्याय दिन्छ भने कुरा मिथ्या हो भन्ने कुरा मुक्कुमलुङको सन्दर्भमा नेपालको कानून र अन्तर्राष्ट्रिय कानूनको आधारमा धेरै जोखाना हेरिरहनु पर्ने विषय होइन तर पनि ऊ आफै उपनिवेशकारी भावनाले ग्रस्त भएकोले उपयुक्त समयको जोखाना हेरिरहेको छ । न्यायलयहरू भ्रष्टाचारको अखडा भएको कुरा समाचारहरूले बताई नै रहेका छन । न्यायलय पनि उपनिवेशकारी र दलाल माफियाहरूको हितमा काम गर्छ भन्ने कुरा विभिन्न समयका घट्नाहरूले देखाइरहेको छ । मुक्कुमलुङको सन्दर्भमा १७ वटा संस्था र लिम्बु थरगत संस्था सहित ७ जिल्लाका १४७ जना रिट निवेदकहरूले दिएको रिटमा यिनै उपनिवेशकारी तथा दलाल माफियाहरूको प्रभावका कारण न त न्यायलयले जनताको पक्षमा फैसला दिन सकेको छ न त देशमा अशान्ति हुन सक्ने यस्तो संवेदनशील मुद्दालाई टुङ्गो लगाउँछ । यो मुद्दा करिव ३ वर्षदेखि सर्वोच्चमा झुण्डिएको छ ।

अहिले मुक्कुमलुङमा तीर्थयात्रीहरू आउँछन्, ताप्लेजुङ फुङलिङ बजारदेखि तल्लो फेदी (काफ्ले पाटी) हुँदै माथिल्लो फेदीसम्म बास बस्छन् र खाजा खाना खान्छन् । यसले त्यहाँ खपत हुने स्थानीय कृषि उत्पादन बढाएको छ भने कृषकहरूको आयमा सोझै योगदान गरेको छ । स्थानीय रूपमा बनेका विभिन्न खालका वस्तुहरूको बिक्रि बढाएको छ । यस खाले आर्थिक कारोबार र आर्थिक सम्बन्धले जिल्लाको त्यस भेगका जनताको जीवन यापनलाई सहज बनाएको मात्र नभई आर्थिक रूपले बलियो बनाउन सहयोग गरेको छ । यस्तो आर्थिक सम्बन्धले स्थानीय समुदाय, साना व्यापारी तथा व्यवसायी र राज्य सरकार सबैलाई फाइदा भइरहेको छ । स्थानीय समुदायले उत्पादन गरेका विभिन्न उत्पादन बिक्री भएर स्थानीय समुदायलाई सोझै फाइदा भइरहेको छ । साना व्यापारी तथा व्यवसायीहरूको व्यापार व्यवसाय चलिरहेको छ भने तिनीहरूले राज्यलाई कर तिर्न सकिरहेका छन् । यसले केबलकार चल्दा एक ठाउँमा थुप्रिने पूँजीलाई विभिन्न तहमा वितरण गर्दछ, गरिरहेको हुन्छ ।

तेस्रो, विकासले वातावरण र पर्यावरणलाई प्रतिकूल प्रभाव पार्नु हुँदैन । केबलकार निर्माणको लागि त्यहाँ घोषित रूपमा करिव ११ हजार रुखहरू काटिने छ भने अघोषित रूपमा त्यहाँ लाखौँ रुख बिरुवाहरू काटिने छ । त्यसले वर्षाको बेला पहिरो जाने र सो स्थानबाट तल रहेका बस्तिहरूमा धन जनको क्षति गर्ने अवस्था रहन्छ । यसैको कारण तल पानीका स्रोतहरूमा प्रतिकूल प्रभाव पार्छ । काटिने रुख बिरुवाहरू हजारौँ वर्ष पुराना लालीगुराँस लगायत मुन्धुमी र सांस्कृतिक महत्वका बोट बिरुवाहरू पर्दछन् । यस वन फडानीले त्यस क्षेत्रमा पाइने दुर्लभ वन्य जन्तुमाथि प्रतिकूल प्रभाव पर्छ ।

चौथो, विकासले रोजगारी सिर्जना गर्नु पर्ने हुन्छ । केबलकार निर्माण गर्दा बढीभन्दा बढी एक डेढ सय जना मानिसहरूले रोजगारी पाउन सक्छन । एक डेढ सय जनाको बद्ला करिव ६ सय तीर्थयात्री सहयोगीहरूको रोजगारी प्रत्यक्ष रूपमा जाने मात्र होइन विस्थापन समेत हुन्छन्् भने ४÷५ सय होटल व्यवसायीहरू सहित ३÷४ हजार मानिसहरूको रोजगारी प्रत्यक्ष रूपमा गुम्छ । ४÷५ सय होटल व्यवसायीहरू त्यहाँबाट विस्थापित हुन्छन् । अप्रत्यक्ष रूपमा करिव हजार बार सय घर परिवार कृषकहरूको जीवन यापन र आयमा क्षति हुन्छ । एक ढेड सय मानिसहरूको बद्ला ४÷५ हजार मानिसहरूको रोजगारी गुम्नुलाई विकास भनिन्छ र ? यसले राष्ट्रिय आयमा थोरै योगदान गरे पनि स्थानीय समुदायको रोजगारी खोस्छ, व्यवसाय र जीवन यापनका साधनहरूलाई ध्वस्त गर्ने भएकोले यो विकास नभएर विनाश हो । केबलकार जस्ता संरचनाको पनि देशमा आवश्यकता छ तर कस्तो ठाउँमा भन्ने प्रश्न आउँछ । केबलकार बनाउ जहाँ मुन्धुमी तथा सांस्कृतिक आस्थामा फरक नपरोस, जनताको रोजगारी नखोसियोस्, जनताको जीवन यापनका साधनहरू ध्वस्त नहोस्, विभिन्न खाले व्यवसायीहरूको व्यवसायमाथि प्रतिकूल प्रभाव नपरोस् ।

पाँचौँ, विकासले घरपरिवारहरूलाई आफ्नो घर जग्गाबाट बेदखल गरी सुकुम्बासी बनाउँदैन । यसले त घरपरिवार तथा आम मानिसहरूको हितमा काम गर्नु पर्ने हुन्छ । २०५३ सालमा गठित कथित पाथीभरा क्षेत्र विकास समिति गठन आदेश र २०७५ सालमा गरिएको संसोधनले ताप्लेजुङको सिरिजङ्गा गापाको वडा नं ३ को हर्कटे डाँडालाई भित्र पारी फुङलिङ नपाको वडा नं. ११ फावाखोला सिम्बुसम्मको सम्पूर्ण क्षेत्र, पश्चिममा फक्ताङलुङ गापाको वडा नं. ३ लिमखिम र वडा नं. ४ तापेथोकको पाथीभरा मन्दिरबाट ३ किलोमिटर क्षेत्र भित्रको सम्पूर्ण क्षेत्र, उत्तरमा फक्ताङलुङ गापाको वडा नं. ४ र सिरिजङ्गा गापाको वडा नं. ३ र वडा नं. ६ को सिमान क्षेत्र भित्रको सम्पूर्ण क्षेत्र, दक्षिणमा फुङलिङ नपाको वडा नं. १० को फुरुम्बु गढी डाँडा, वडा नं. ९ को देउराली, वडा नं. ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गापाको वडा नं. ३ को दुधिले पश्चिम फुङलिङ नपाको सिमानाको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्र विकास समितिको क्षेत्र सिमाङ्कन गरि राजपत्रमा प्रकाशन गरिएको छ । यस भित्र करिव १५०० भन्दा बढी घरघुरीहरू रहेका छन् । दलाल तथा भ्रष्ट जत्थाले ती परिवारलाई जे आश्वासन दिए पनि सरकारबाट गठित यस्ता विकास समिति र तिनको क्षेत्र भित्रका जमिन राजपत्रमा प्रकाशन भएपछि सबै जमिन सार्वजनिक जमिन हुने कानूनी व्यवस्था छ । ती १५०० भन्दा बढी घरघुरी अहिलेको अवस्थामा कानूनी हिसावले घरबारविहीनको अवस्थामा पुगेका छन् । के विकासले मानिसहरूलाई घरबारविहीन बनाउँछ ? त्यसैले यो विकास होइन यो विनाश र उठीवास हो । यसको सशक्त प्रतिरोध गरि कथित पाथीभरा क्षेत्र विकास समितिका साथै यसको क्षेत्र निर्धारणलाई खारेज गर्दै नया ढङ्गले क्षेत्र निर्धारण गरि जनस्तरबाट मुक्कुमलुुङ क्षेत्र तथा विकास समिति बनाउन आवश्यक भएको छ ।

छैटौँ, विकासले बढीभन्दा बढी जनसमुदायको जीवन यापन र आर्थिक उपार्जनलाई बढोत्तरी गर्नु पर्ने हुन्छ । विकास मानिसहरूको जीवन यापन र आर्थिक उपार्जनसँग गासिएको हुन्छ । मुक्कुमलुङको सन्दर्भमा करिव २ हजार २५ सय मानिसहरूको होटल व्यवसायबाट जीवन यापन भएको छ र आर्थिक उपार्जन भइरहेको छ । करिव ६ सय तीर्थयात्री सहयोगीहरूको परिवार सहित करिव २ हजार २५ सय मानिसहरूको जीवन यापन र आर्थिक उपार्जनको आधार भएको छ । करिव हजार बाह्र सय किसानहरूको कृषि उत्पादन विक्री भएर जीवन यापनका साथै आर्थिक उपार्जनको साधन भएको छ । केबलकार निर्माण भए धरान र बिर्तामोडबाट गाडीमा ४ घण्टामा आउने १÷२ घण्टा दर्शनमा लाग्ने र ४ घण्टामा फर्केर फेरि धरान र बिर्तामोड नै पुग्ने भएकोले यी सबैको जीवन यापन र आर्थिक उपार्जन सिद्धिन्छ । तिनीहरू गरिवीको रेखामुनितिर धकेलिन्छन् । ताप्लेजुङ फुङलिङदेखि माथि तल्लो फेदी (काफ्लेपाटी) सम्म यातायातको साधन प्रयोग गरेर २÷४ सय गाडीहरूले जीवन यापनको लागि थोरै कमाउँछन । केबलकारवालाहरूले आफ्नै गाडीमा बिर्तामोड र धरानदेखि तीर्थयात्रीहरू ल्याउने र लैजाने, आफ्नै होटल खडा गरि व्यवस्थापन गर्ने योजना भएकोले ती गाडी मालिक र गाडी चलाउने मजदुरहरूको कमाउने बाटो समेत हराउँछ । के विकासले गर्ने काम यस्तै हो ? त्यसैले यो विकास नभएर मानिसहरूको जीवन यापन र आर्थिक उपार्जनमा सङ्कट ल्याउने कुरूप योजना हो ।

सातौँ, विकासले राज्यको कर राजश्वमा बढोत्तरी गर्नु पर्ने हुन्छ । धेरै व्यवसायीहरूलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्दछ । धेरैभन्दा धेरै व्यवसायीहरूले राज्यलाई कर तिरी राष्ट्रिय आय बढाउने काम गर्दछ । राज्यलाई एक जना दलाल नोकरशाही पूँजीपति व्यापारीले तिर्ने व्यापारिक करभन्दा हजारौँ व्यवसायीहरूले तिर्ने कर बढी हुन्छ । हजाराँै व्यवसायीसँग जोडिएका लाखौँ मानिसहरूको जीवन यापनलाई ध्वस्त गरेर एक दुई जना दलाल नोकरशाही पूँजीपतिहरूलाई सुरक्षा दिने र प्राथमिकता दिने सरकारी निर्णय तथा नीति के ठिक हुन्छ र ? यसले के कुरा सावित गर्छ भने दलाल नोकरशाही पूँजीपतिहरूले दल र दलका नेताहरूलाई निर्वाचनमा पर्याप्त रकम सहयोग दिएका छन्, सरकार र सरकारका मन्त्रि तथा नोकरशाही कर्मचारीहरूलाई खर्चले धानेका छन् भन्ने स्पष्ट बुझिन्छ ।

विकासका विभिन्न मोडलहरू
विकासबारे मानिसहरूले धेरै बुझेका छैनन् । दलाल पूँजीपति, दलाल नोकरशाशी पूँजीपति र तिनका दलीय तथा सरकारी हिस्सेदारहरूले विकासलाई चलाख श्याल झैँ चिल आयो भनेर मानिसहरूलाई आकासतिर हेर्न लगाई भुइमा भएको कुखुरा समातेर लैजाने कार्यलाई विकास हो भनि चोर लुटेरा मोडललाई विकास हो भनेर जनतालाई भ्रम दिइरहेका छन् । त्यसैले हामीहरूले विश्वमा भइरहेका विकासका विभिन्न मोडलहरूबारे बुझ्न जरुरी छ । ती विकासका विभिन्न मोडलहरूलाई बुझेपछि मात्र कुन विकास हो कुन होइन र कुन विकास मोडल समुदायको लागि उचित हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

औपनिवेशिक विकास मोडल
औपनिवेशिक विकास मोडल उपनिवेशवादको ३ वटा चरित्र र विशेषता (१) राज्य शासनमाथि नियन्त्रण, (२) देशको स्रोत साधन र अर्थतन्त्रमाथि नियन्त्रण, र (३) उक्त देशका जनसमुदायमाथि उपनिवशेकारीका मूल्य मान्यता, संस्कृति, भाषा तथा जीवन पद्धति अरुमाथि लाद्ने चरित्र र विशेषताबाट निर्देशित हुन्छ । यसले आफ्नो वर्चस्व स्थापित गर्न अरुलाई दास र परनिर्भर बनाएर आफ्नो कुरा अरुलाई मान्न बाध्य गराउने नीति अबलम्बन गर्दछ । यस विचारमा आधारित विकास मोडलले कुनै पनि देशले, समुदायले र कुनै पनि राष्ट्रले स्वतन्त्र ढङ्गले निर्णय गरि आफ्नो अनुकूलता अनुसारको विकास कार्य कार्यान्वयन गर्न दिँदैन । यो आफ्नो मूल्य र मान्यतालाई स्थापित गर्न अरुको भूमि, संस्कृति, आस्था र जीवन यापनसँग जोडिएका सम्बन्धहरू माथि अतिक्रमण गर्दछ । मुक्कुमलुङको सन्दर्भमा राज्य आफै उपनिवेशकारी भएको छ भने दलाल नोकरशाही पूँजीपतिलाई भित्राएर स्थानीय अर्थतन्त्रलाई कब्जामा लिई पूँजीको केन्द्रिकरण गर्न लगाइएको छ । यसैले, यो औपनिवेशिक विकास मोडलबाट निर्देशित विकास मोडल हो । यसले स्थानीय समुदायमाथि नश्लीय ब्राह्मणवादको उपनिवेशलाई सुदृढ गर्दछ ।

विकासका अन्य मोडलहरू
औपनिवेशिक विकास मोडलको अलावा विश्वमा पूँजीवादी विकास मोडल, समाजवादी विकास मोडल, बजारमुखी विकास मोडल, कल्याणकारी विकास मोडल रहेका छन् । यी सबै विकासका मोडलहरूले यो या त्यो तरिकाले समुदायलाई थोरै भरथेग गर्ने तर धेरै धरासायी बनाउने काम गर्दछन् । तिनीहरूले समुदायको सामूहिक सामुदायिक जीवन पद्धति, सामुदायिक अर्थ व्यवस्था, आर्थिक सम्बन्ध, परम्परागत जीवन प्रणाली र सामाजिक–सांस्कृतिक सम्बन्धहरूलाई अतिक्रमण गर्दछन् र धरासायी बनाउँछन् । यसैले, विकासको सन्दर्भमा बहुलराष्ट्रिय सामुदायिक विकास मोडल हाम्रो लागि उपयुक्त र प्रभावकारी हुने भएकोले त्यसबारे यहाँ थोरै चर्चा गरिन्छ ।

बहुलराष्ट्रिय सामुदायिक विकास मोडल
यस विकास मोडलमा उत्पादनका साधनहरू बहुलराष्ट्रिय समुदायको स्वामित्व र नियन्त्रणमा रहन्छ । यसले उत्पादनका साधनहरू जल, जमिन, जङ्गल, उद्योग कलकारखान, औजार, पूँजी आदिहरू राज्य या खास वर्गको स्वामित्व र नियन्त्रणमा नरहेर बहुलराष्ट्रिय समुदायको स्वामित्व र नियन्त्रणमा रहने कुरालाई सुनिश्चित गर्दछ । उत्पादनका साधनहरूलाई राष्ट्रियकरण गर्ने, राज्यको स्वामित्व र नियन्त्रणमा लैजाने र सर्वहारा वर्ग या निश्चित वर्गको स्वमित्व र नियन्त्रणमा लैजाने कुराको यसले विरोध गर्दछ । उत्पदनका साधनहरू व्यक्ति तथा परिवारले के र कसरी उपभोग गर्दछन्् भन्ने कुरा सम्बन्धित बहुलराष्ट्रिय समुदायले निर्णय र निर्धारण गर्दछ । सरकारहरू यस्तो कामको लागि सहजकर्ता मात्र रहन्छन् ।

यस मोडलको विचारले बहुलराष्ट्रिय अस्तित्व भित्र रहेका धनी र गरिव भन्ने वर्गहरूलाई नीतिगत र कार्यक्रमको माध्यमबाट समान बनाउन बहुलराष्ट्रिय समुदाय र तिनका सरकारले वर्गीय भिन्नतालाई हटाउँछ र समानता कायम गर्दछ । यसले वर्गलाई अस्थायी अस्तित्वको रूपमा लिन्छ । धनी र गरिव बीचको असमानता, अन्याय र विभेदलाई अवसर, वितरण र आर्थिक आर्जनलाई न्यायीक र समतामुखी बनाएर निर्मूल गर्न सोही अनुरूपका नीति तथा कार्यक्रमको तर्जुमा गर्दछ । यो विकास मोडलमा बहुलराष्ट्रिय सामुदायिक उत्पादन प्रणाली रहन्छ । उत्पादन प्रणाली भनेको उत्पादनका साधन, श्रम तथा पूँजी (लगानी) बीचको अन्तरसम्बन्ध हो । यी ३ तत्वहरू कसको स्वामित्व, नियन्त्रण र कसले कसरी परिचालन गर्दछ भन्ने कुरा हो – उत्पादन प्रणाली भनेको । यस बहुलराष्ट्रिय सामुदायिक उत्पादन व्यवस्थामा समुदायको अग्रणी भूमिका रहन्छ । उत्पादनका साधनहरू राष्ट्र समुदायको स्वामित्व र नियन्त्रणमा रहन्छ । उत्पादन आत्मनिर्भर, अन्तरनिर्भर र समुन्नत तथा समृद्धिमुखी रहनेछ । समाजलाई समुन्नत र समृद्ध बनाउन छिमेकका साथै क्षेत्रीय र विश्व आर्थिक व्यवस्था तथा भूमण्डलीकरणका कतिपय अवसर र विशेषताहरूलाई भरपुर उपयोग र उपभोग गर्ने नीति रहन्छ । बहुलराष्ट्रिय सामुदायिक उत्पादन प्रणाली र उत्पादन सम्बन्ध सामन्तवादी, पूँजीवादी तथा साम्यवादी—समाजवादी उत्पादन प्रणाली र उत्पादन सम्बन्धभन्दा भिन्न हुन्छ ।

मुक्कुमलुङमा विकासको मोडल कस्तो हुनु पर्छ ?
एक शब्दमा भन्नु पर्दा मुक्कुमलुङमा सामुदायिक विकास मोडल अपनाइनु पर्दछ । त्यसको मतलब त्यहाँको भूमि, आध्यात्मिक अभ्यास, आर्थिक कारोबार, अर्थ सम्बन्ध, वातावरण र पर्यावरण त्यहीका समुदायको नियन्त्रण र व्यवस्थापनमा रहनु पर्ने हुन्छ । कस्तो भौतिक, आर्थिक तथा आध्यात्मिक विकास भन्ने कुरा त्यहीको समुदायले निर्धारण गर्न पाउनु पर्ने हुन्छ । समुदायको नियन्त्रण र व्यवस्थापन भएपछि स्थानीयलाई रोजगारी, आय दिने उत्पादनमूलक कार्य योजना लगायतका कुराहरू त्यहीको समुदायले निर्णय र निर्धारण गर्न पाउनु पर्ने हुन्छ ।

समुदायले केबलकार जस्ता ठुला र २÷४ जनाले अकुत सम्पति कमाउने योजनाको सट्टा हाल भइरहेको स्थानीयको रोजगारी, व्यवसाय तथा आय आर्जनलाई बढाउने योजना गर्न सक्छन् । सहज बाटो निर्माण गरि असक्त तथा बृद्ध बृद्धाहरूले मुक्कुमलुङको दर्शन गर्न मानिसहरूले ठेलेर चलाउने हाते ट्रलीहरू सञ्चालन गर्न सक्ने हुन सक्छ जसले तीर्थयात्रीहरूलाई सहयोग गर्ने सहयोगीहरूको रोजगारीलाई बरकरार राख्ने काम गर्दछ भने अशक्तहरूलाई मुक्कुमलुङको दर्शन गराउन सहज बनाउँछ । यसैगरी, समुदायको नियन्त्रण र व्यवस्थापनमा त्यस क्षेत्रको कृषि उत्पादनलाई बढाउने खालका कृषि उत्पादित वस्तुहरूलाई होटल व्यवसायमा प्राथमिकता दिन सक्ने योजना गर्न सक्छन् । मुक्कुमलुङमा पूजा गर्ने सरसामानको उत्पादनलाई स्थानीय समुदायले उत्पादन गर्ने गरि योजना बनाउन सक्छ । मुक्कुमलुङको सहयोग रकमहरूलाई कुनै पनि तहको सरकारमा जानबाट रोकेर समुदायको नियनत्रण र व्यवस्थापनमा सो क्षेत्र खास गरि मुक्कुमलुुङ वरिपरिको क्षेत्र तथा समुदायको हित र उनीहरूको आर्थिक अवस्थाका साथै विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाउन सक्छ । यसले मुक्कुमलुङको पवित्रता, मुन्धुमी तथा सांस्कृतिक मूल्य र मान्यतालाई बचाएर त्यहाँ विभिन्न सिर्जनात्मक विकासका कार्य गर्न सक्ने ढोका खोल्दछ ।

२१ माघ २०८०

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button