यु–ट्युवले संगीतकर्मीलाई राहत

काठमाडौ । प्रविधिको विकाससँगै गीत संगीतका क्षेत्रमा त्यसको प्रभाव परेको छ । पछिल्लो समय डिजिटल मिडिया यु–ट्युबको लोकप्रियतासँगै संगीतकर्मीहरु मालामाल हुन थालेका छन् ।

अडियो तथा भिसिडी बिक्री नभएपनि संगीतकर्मी एवं व्यवसायिले यु–टुयुबलाई प्रयोग गर्न थालेका छन् । जसबाट संगीतकर्ममा लागेका स्रष्टाहरुले जीवनयापनमा सहजता ल्याएको छ । यसैका एक उदाहरण हुन् गायक तथा संगीतकार राजशुक्र लिम्बू ।

पेसाले राजशुक्र गायक तथा संगीतकार हुन् । तर, पछिल्लो समय उनी गायन र संगीतमा भन्दा बढी संगीत व्यवसायिका रुपमा सक्रिय छन् ।

गायक/गायिकामा यु–ट्युबको लोकप्रियतासँगै राजशुक्रले ‘मनोरञ्जन नेपाल’ नामक यु–ट्युब च्यानल सञ्चालन गर्दै आएका छन् । जुन च्यानलमार्फत विभिन्न संगीतकर्मीहरुको सिर्जना प्रसारण तथा प्रमोसन गर्दै आएका छन् । यसबाट उनले मात्र कमाएका छैनन्, स्रष्टालाई रोयल्टी समेत प्रदान गर्दै आएका छन् ।

आफै पनि संगीत सिर्जना र गायनमा व्यस्त रहँदै आएका राजशुक्र भन्छन्, ‘सुरुमा गायन र संगीत मात्र पेसा थियो । अहिले कम्पनीमार्फत संगीतलाई व्यवसायिक बनाएको छु ।’ राजशुक्रले संगीतलाई अँगाल्दाका दिनहरुमा प्रचारप्रसारलाई खासै महत्व दिँदैन थिए । तर, अहिले आएर उनले प्रचार–प्रसारको पनि ठूलो महत्व हुने बताउँदै उनले भने, ‘यु–ट्युब तथा फेसबुक आफैमा सामाजिक सञ्जाल (मिडिया) भएकाले प्रचार–प्रसारमा ठूलो सहयोग पुगेको छ ।’

राजशुक्रले आफ्नै एल्बमको प्रवद्र्धन गर्ने ध्येयले कम्पनीको सुरुवात् गरेका हुन् । नेपाली गीत संगीतप्रति सुरुबाटै सकारात्मक रहेका राजशुक्र संगीतप्रतिको लगाव र मिहिनेत बुझेकाले अरुको सिर्जनालाई पनि मर्न दिँदैनन् ।

एक दशकभन्दा अघिबाट भिक्टोरिया म्यूजिक कम्पनी सञ्चालन गरेर आफूलाई संगीत व्यवसायिमा क्रियाशील गराएका राजशुक्र पछिल्लो समय संगीत उत्पादक समाजको कोषाध्यक्ष रहेका छन् । उक्त संस्थामा रहेर उनले समग्र संगीतकर्मीका उत्थान तथा हकहितका लागि काम गर्दै आएका छन् ।

राजशुक्र भन्छन्, ‘पछिल्लो समय यु–ट्युब व्यवसायिक रुपमा राम्रो रहेको छ । चलेका गीतहरुको भ्युअर्स पनि राम्रै छ ।’ उनका अनुसार स्तरीय गीत संगीतका श्रोता तथा दर्शक अहिले पनि प्रसस्त छन् ।

राजशुक्र थप्छन्, ‘यहाँ राम्रो गीत संगीत भए चल्छ भन्ने केही गीतले उदाहरण दिएका छन् । त्यसैले संगीतको व्यवसायिकता खस्केको भन्न मिल्दैन ।’ आफ्नो यु–ट्युब च्यानल ‘मनोरञ्जन नेपाल’ मा सबै किसिमका गीत तथा भिडियो अपलोड गर्ने गरेको उनले बताए ।