माल्दिभ्सको संसद सेनाको नियन्त्रणमा !

काठमाडौं,६ भदौ । टापुको देशले परिचित माल्दिभ्सको संसद भवनलाई सेनाले नियन्त्रणमा लिएको छ । विपक्षी सांसदहरुले सभामुखविरुद्धको अविश्वासको प्रस्ताव रोक्नको लागि सरकारले सेना प्रयोग गरेको आरोप लगाएका छन् ।

माल्दिभ्सको विपक्षी पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीका सांसद इम्तियास फायमीले ट्वीटरमा भिडियो पोष्ट गर्दै सादा पोशाकमा आएका सेनाले सांसदहरुलाई संसदमा प्रवेश नदिएको लेखेका छन् ।

सोही पार्टीकी अर्की सांसद इभा अब्दुल्लाहले भने सेनाले सांसदहरुलाई प्रवेश दिएको तर सभामुख अब्दुल्लाह मसिइ मोहमेदलाई भने सेनाले आफ्नो घेराभित्र पहरा दिइराखेको बताएकी छिन् ।

राष्ट्रपति अब्दुल्लाह यामीनको नजिकको पात्र मानिएका मोहमेदले संसदको कारबाही सुरु भएको घोषणा लगत्तै विपक्षी सांसदले केही बोल्नु अघि नै अन्त्य भएको घोषणा गरेको उनले बताइन् ।

आजको संसदको कारबाही पाँच मिनेट मै सकियो, उनले फोनबाटै बेलायती पत्रिका द गार्जियनलाई भनिन् । विपक्षी सांसदहरुले सभामुख मोहमेद विरुद्ध अविश्वासको प्रस्ताव उनले सरकारका गलत कार्य उपर छानवीन गर्न आदेश नदिएपछि ल्याउने प्रयास गरेका थिए ।

माल्दिभ्सका राष्ट्रपति यामिनलाई प्रजातान्त्रिक अभ्यासलाई लत्याएको आरोप लाग्दै आएको छ । दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्स सन् २००८ मा मात्रै बहुपार्टी प्रजातान्त्रिक पद्धतिमा प्रवेश गरेको थियो ।-बाह्रखरीबाट