आदिवासीसमाचार

सिरिजङ्गा लिपि लेखनबारे धरानमा कार्यशाला हुँदै

८ डिसेम्बर, विजयपुर । सिरिजङ्गा लिपिको लेखन पद्धतिबारे धरानमा कार्यशाला आयोजना हुने भएको छ । लिपि लेखनमा एकरुपता ल्याउन तथा समान बुझाइ निर्माण गर्न अर्को साता कार्यशाला हुने भएको हो ।

मुन्धुम अध्ययन केन्द्रको आयोजनामा यहीँ मङसिर २५ गते मंगलबारका दिन एक दिने कार्यशाला हुने भएको केन्द्रका सचिव भीमसेन लिङ्देनले बताए । भाषाशास्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्वाङको मुख्य प्रशिक्षणमा हुने कार्यशालामा सुनसरी, मोरङ, झापा, इलामबाट समेत दुई दर्जन बढीको सहभागिता रहने केन्द्रले जनाएको छ । हङकङनिवासी महेन्द्र लुम्फुङ्वाको प्रायोजनमा हुने कार्यशाला बिहान साढे ११ बजेदेखि दिउँसो साढे तीनसम्म कार्यालयमा आयोजना हुनेछ । कार्यशालामा सिरिजङ्गा लिपिका प्रयोगकर्ता, लेखक, साहित्यकार, पत्रकार एवम् अभियन्ताहरू सामेल हुन्छन् ।

याङ्वरककाे सिनाम तेल्लाेकमा जन्मिएका सिरिजङ्गा लिपिका प्रचारक सिरिजङ्गा थेबे ।

सन् १७०४ मा ताप्लेजुङको सिनाम तेल्लोकमा याक्थुङ कुलमा जन्मिएका सिरिजङ्गा सिं थेबेलाई सिरिजङ्गा लिपिको प्रचारक र निर्माता मानिँदै आएको छ । याक्थुङ भाषा र सिरिजङ्गा लिपिमा अहिले २४(सिक्किममा २५) व्यञ्जन वर्ण, ९ स्वरवर्ण, आठ आधा अक्षर, तीन संयुक्ताक्षर र तीन ध्वनिक चिन्हहरू प्रचलनमा रहेका छन् । पछिल्लो तीन दशकयता स्वर उच्चारणका आधारमा लेखिने प्रस्तावित र प्रचलित लेखन भनेर लिपि आलेखनमा दुई मतहरू देखा परेका छन् । यस्तै, याक्थुङ लिम्बु, राई, याक्खा र सुनुवार लगायतका चार जातीय संस्थाका प्रतिनिधिहरू सम्मिलित किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलले दुई वर्षअघि ४८ वटा व्यञ्जन वर्ण र १२ स्वर वर्णसहितको वर्णमाला सार्वजनिक गरेपछि लिपि प्रयोगकर्ताहरूबीच विवाद चर्किएर गएको थियो । नयाँ वर्णमालामा असहमति जनाउनेहरूले सिरिजङ्गा लिपि संरक्षण सङ्घर्ष समिति समेत गठन गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button