आदिवासी

फाेनिज यूके पत्रकारिता सम्मान लामा र श्रेष्ठलाई

२४ फेब्रुअरी, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

तमु बौद्ध सेवा समिति, अनामनगर काठमाडौंमा शुक्रबार फोनिज संघीय समितिद्वारा आयोजित कार्यक्रममा फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण गरिएको हो । फोनिज युके पत्रकारिता सम्मान–२०२२ बाट रमिता लामा र फोनिज युके पत्रकारिता पुरस्कार–२०२२ बाट नृपेन्द्रलाल श्रेष्ठले पाएका छन् । उनीहरुलाई नेपाल सरकारका संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद तथा प्रमाण पत्रसहित सम्मान र पुरस्कार हस्तान्तरण गरे । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा सम्पन्न भएको समारोहमा सामान्य प्रशासनमन्त्री मोदी प्रमुख अतिथि, फोनिज युकेका अध्यक्ष गोमा राना विशेष अथिति थिए । कार्यक्रममा फोनिजका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पूर्वपदाधिकारी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

सम्मानित हुने रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लागेकी हुन् । उनी रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक छिन् । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता सुरु गरेकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गरेकी छन् । उनी नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुन् ।

खुसिबुँ काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध छन् । उनी म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहना डटकममा आवद्ध छन् । साथै उनले टेलिभिजनमा पनि नेवा भाषाको कार्यक्रम सञ्चालन गरेका छन् । श्रेष्ठ नेवा राष्ट्रिय पत्रकार दबूको केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् भने विभिन्न भाषिक, साँस्कृतिक र सामाजिक संस्थामा पनि आवद्ध छन् ।

फोनिज युकेले हरेक वर्ष नेपालमा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ ।

पुरस्कार छनौट समितिमा संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, सल्लाहकार दुत पुन, फोनिज युकेका पूर्वअध्यक्ष प्रमिला लाबुङ राई, वर्तमान अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबो सदस्य रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button