समाचारसाहित्य सिर्जना

कवि थुलुङकाे पुस्तकमाथि चतरामा चर्चा

२ डिसेम्बर, चतरा । कवि सयपत्री थुलुङकाे कविता सङ्ग्रह ‘गाउँ फर्किरहेकाे परदेशी’ माथि सुनसरीकाे चतरामा परिचर्चा भएको छ । जापानबाट केही साताअघि नेपाल आएकी कवि थुलुङकाे दाेस्राे कृतिउपर बराहक्षेत्र नगरपालिकाकाे चतरामा परिचर्चा भएको हाे ।

चतरा साहित्यिक मञ्चकाे आयोजना र स्वर्णिम साहित्य समाजकाे सहकार्यमा भएको कार्यक्रममा सङ्खुवासभा मूल घर भएकी कवि थुलुङकाे कृतिउपर बाेल्दै वक्ताहरूले सङ्ग्रमा राष्ट्रप्रेम, माटाेकाे माया, पहिचान र सँस्कृति झल्किएकाे बताए ।

विमर्श कार्यक्रमा बाेल्दै कवि एवम् प्राध्यापक टीका आत्रेयले कृतिले पचास प्रतिशत महिलाहरूकाे मुद्दा बाेकेकाे बताइन् । उनले कविताहरू परिपक्व र उत्कृष्ट भएको बताउँदै उनले कविसँग कहिले साक्षात्कार नभए पनि कवि थुलुङकाे सिर्जनात्मकताबाट प्रभावित भएको धारणा दिइन् । तथ्यांक यस्तै, सप्तकोसी बहुमुखी क्याम्पसका प्राध्यापक एवम् कवि राजन इशारा राईले कवितामा देशप्रेम, राष्ट्रप्रेम, पहिचान र स्थानीय विम्बहरू झल्किएकाे बताए । उनले मातृभाषाका शब्द र प्रसङ्ग प्रयाेग गरेर साहित्यलाई फराकिलो बनाएको जनाए ।

एक सातादेखि मात्रै सार्वजनिक भएको ३५ वटा कविताहरू समेटिएको कृतिलाई विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले प्रकाशन गरेको हाे । कवि थुलुङकाे दश वर्षअघि ‘शान्तिकाे फूल’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ । उनी विश्व नेपाली साहित्य महासङ्घ जापानकी सहसचिव हुन् । कवि प्रकाश दिप्साली राईले विमर्शलाई सहजीकरण गरेका थिए ।

‘उधाराे सपना’ कविता वाचन गर्दै कवि थुलुङले परदेश दु:खकाे ठाउँ भएको बताउँदै पाठकहरूले परदेश र घरदेशलाई जाेड्ने सेतुकाे कार्यक्रम भएको जनाइन् । ‘अब केही दिनपछि पुनः कर्मभूमि फिर्दैछु । यसकारण, साहित्य सिर्जना र लेखनमा अझै प्रतिबद्ध भएर लाग्ने प्रेरणा मिलेको छ,’ कवि थुलुङले भनिन्, ‘कविताप्रतिकाे प्रेम सधैंका रहिरहनेछ ।’ उनले ‘साेल्टी कान्छा’ र ‘मृत्यु’ कविता सुनाइन् । कवि थुलुङकाे कविताहरू कवि सविता फागाे चाेङवाङ र आर्यन निराैलाहरूले समेत वाचन गरे ।

विमाेचित कृति ।

बराहक्षेत्र नपाकाे वडा नम्बर २ काे सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माले कविता आत्माको भाषा भएको भन्दै पछिल्लो समय चलिरहेको बहसले कवि र कविताको महत्त्वलाई पुनः प्रकाश पारेको बताए । ‘एक चर्चित लेखकले भर्खरै कविता लेख्नेहरूमाथि प्रश्न गरेर लेखे । यसबाट निरुत्साहित हुनुपर्दैन । झनै, जिम्मेवारपूर्वक लेख्नुपर्छ,’ उनले भने । समीक्षक एवम् कवि समेत रहेका शेर्माले पहिचानको विषयवस्तु विश्वभर पुग्नुपर्ने र विभिन्न भाषाहरूमा अनुवादमार्फत् भाषा, साहित्य र।सँस्कृतिकाे कुरा जानुपर्नेमा जाेड दिए । ‘हामी उग्र राष्ट्रवादले प्रभावित भएर मात्रै हुँदैन । विश्वभर हाम्रा रैथाने भाषा, सँस्कृति, खानपिन, पहिरन, मूल्यमान्यता पुग्नुपर्छ । यसमा भाषाशास्त्री र साहित्यकारहरूले काम गर्नुपर्छ । याे सफ्टलाइन हाे,’ उनले थपे । प्राज्ञ शर्माले प्रतिष्ठानले विकेन्द्रीकृत कार्यक्रमहरूमा जाेड दिँदैन जाने बताए ।

कार्यक्रममा, कवि चन्द्र गुरुङ, अमित थेवे, प्रल्हाद पहरेदारले समेत बाेल्का थिए । त्यस्तै, कविहरू पराजित पाेमु, विशाल नाल्वाे, जीवन राई, राज आशातीत, वडा नम्बर २ अध्यक्ष हाेमप्रसाद गाैतम लगायतको उपस्थिति रहेको थियोे । उक्त अवसरमा बाल गायक राजेश परियारले गीत प्रस्तुत गरेका थिए । मञ्चका सचिव वर्षा भण्डारीले सञ्चालन गरेको कार्यक्रमकाे अध्यक्षता दीपा मंग्रातिले गरेकी थिइन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button