समाचार

नेपाली सेनाद्धारा विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रदान

विद्यार्थीलाई ‘एनसिसी’ तालिम
काभ्रेपलाञ्चोक, १६ मङ्सिर : काभ्रेपलाञ्चोकमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रदान गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो ।

गणले जुनियर डिभिजन तालिम साउन १ गतेदेखि सञ्चालन गरेको थियो भने सिनियर डिभिजनको तालिम गत भदौ १ गतेबाट सुरु भएकोे थियो । जिल्लाका पाँच विद्यालयमा जुनियर र अन्य दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइरहेको गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार सिनियर तालिमका लागि विद्यालय तथा विद्यार्थी छनोट गरी तालिम सुरु गरिएको हो ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र बफादारीताबारे प्रशिक्षित गरिरहेको सिंहले बताउनुभयो । “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमासमेत जानकारी गराइनेछ ।

गणका अनुसार काभ्रेपलाञ्चोकमा वार्षिक दुई सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइन्छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्राप्रति डिभिजनमा सहभागी हुन्छन् । गणले हाल पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल र पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जीवनी मावि, बनेपाको आर्दश विद्या मन्दिर र बेलर स्कुल तथा सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको हो भने आर्दश विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिम भइरहेको छ ।

तालिम पश्चात विद्यार्थीमा अनुशासन, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने अपेक्षा गरिएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिँदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउने छन् । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाको बेलर स्कुका विद्यार्थीलाई श्रीलङ्कामा यस्तै कार्यक्रममा सहभागी गराइएको थियो ।

नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरेपनि केही वर्ष सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०७२÷७३ बाट पुनः सुरु गरेको तालिमअन्तर्गत काभ्रेपलाञ्चोकमा आव २०७१÷७२ बाट सुरु गरिएको हो ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button