धरानमा पहिचान पक्षधर मञ्चले अमर लिम्बुलाई बनाए उम्मेदवार

सुनसरी । उपनिर्वाचन मिति नजिकै गर्दा विभिन्न राजनीति दलहरूलाई उम्मेदवार टुङ्गो लगाउन हम्मेहम्मे पर्ने गरेपनि पहिचान पक्षधर दलमा भने सजिलै टुङ्गो लाग्दै आएको छ ।

यसै क्रममा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले धरान उपमहानगरपालिकाका मेएर पदमा अमर इजम लिम्बुलाई उम्मेदवार बनाएको छ । मञ्चका सुनसरी अध्यक्ष समेत रहेका इजमले मुख्य चार वटा मुद्दा उठाएर चुनावी अभियान प्रारम्भ गरेको स्रोतले बताएको छ ।

पहिचानमा आधारित लिम्बुवानसहित ११ प्रदेशको माग गर्दै आएको मञ्चका तर्फबाट उम्मेदवारी दिएका इजमले मेयरमा विजयी भएमा ऐतिहासिक विजयपुर धरानलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने बताए ।

इजमले थपे- भूतपूर्व सैनिकका खर्बौं मूल्यका घरहरू सदुपयोग हुनेगरी धरानलाई जिउँदो शहरको रुपमा विकसित गर्न आफूले उम्मेदवारी दिएको हो । ‘स्थानीय तहमा समानुपातिक चुनाव प्रणाली लागू गर्न र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र नर्सिङ अध्ययनमा स्थानीय कोटा सुनिश्चित गर्ने छु,’ इजमले भने।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले काङ्ग्रेस, नेकपा लगायतका दलहरू ‘टेस्टेड’ भइसकेकाले यस पटक पहिचान पक्षधरको जित्नेमा ढुक्क रहेको बताए ।

मञ्चको चुनाव चिन्ह दापसहितको खुकुरी छ, दायाँबायाँ नहेरी एकछापे भोट हाल्नुस पार्टीले गरेका प्रतिबद्धता पुरा गर्छौं, अध्यक्ष लिङ्देनले । उनले थपे- मतदाताहरुमा ठुलो बदलाव आएको छ, चेतना आएको छ, धरानमा यसपटक पहिचान पक्षधर मञ्चले जनमत प्राप्त गर्छ ।